
कथाकार भागीरथी श्रेष्ठको क्रमशः नामक कथासङ्ग्रह २०४३ सालमा प्रकाशित भएको छ। यस कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका भुइँचालो, उदारता, अविश्वासको आकाश, समर्पणलगायत विभिन्न शीर्षकका १५ वटा कथा राखिएका छन् । यस कथासङ्ग्रहभित्रको भुुइँचालो शीर्षकको पहिलो कथामा मनमा निराशाले यति धेरै आकार दिँदै गयो कि म सिंगै निराशाको एउटै आकार हुुन गएँ । लाग्यो, यसरी जिउन निकै कठिन पो हुँदो रहेछ भनेर कथाकारले भनेकी छिन्।
यस सङ्ग्रहभित्र रहेका कथाहरु नारीपक्षका विविध भावलाई उद्घाटन गरी लेखिएका छन् । जे–जस्तो भए पनि कथामा रहेका चरित्रहरु हाम्रै समाजका भएकाले कथाहरु पठनीय बनेका छन् । उदारता शीर्षकको कथाभित्र कठै आज कसले त्यसरी फूलबारीको स्याहारसम्भार गरोस् ? बुहारीलाई के भन्ने ? एकदिन सुन्तलाको बोटमुनि रोइरहेकी देखेको थिएँ, त्यो देख्दा मेरो मन आकुलव्याकुल भएको थियो । आज फूलबारी आमा मरेको टुहुरो बच्चाजस्तै देखिन्छ, बुहारीको उदास चेहराझैँ, शोकमग्न जुलुसझैँ देखिन्छ भनिएको छ ।
अविश्वासको आकाश शीर्षकको कथामा अचानक आज मेरो विश्वासको फाँटमा खडेरी पर्न शुरु गर्छ, पक्कै पनि यो एउटा अशुुभ सङ्केत हो मेरा लागि । मेरो खुशीको ढोका बन्द भएर दुखैको ढोका खोलिएको जस्तो लाग्छ । सोच्छु, मैले सधैँ सत्य र अखण्ड ठानेको खुशीमाथि किन आँसुको झोल बर्सन्छ ? निश्चय नै मेरा आँखाहरुले धोका खाएका छैनन् भनेर कथाकार भागीरथीले लेखेकी छिन् । यस कथासङ्ग्रहको नामसँग जुधेको क्रमशः शीर्षकको कथामा अचानक मेरो घरमा एउटी विधवा बाहुनी पाँच वर्षको छोरो लिएर आइन् । भान्से बुहारीको आवश्यकता थियो । उसलाई घरैमा राखेँ । बाहुनीको नाम राधा रहेछ । करिब तीस–बत्तीसकी हुँदी हुन् तर निकै छिप्पिएकी देखिन्थिन् । धेरै नबोल्ने गम्भीर स्वभाव, काम छिटोछरितो र सफा भएकाले राधा मलाई मन परिन् । मलाई लाग्यो, राधा निकै अनुभवी रहिछिन् भनेर कथाकार भागीरथीले भनेकी छिन् ।
उनका कथाहरुमा नेपाली समाज, अझ नारीको तन र मन, विकृति र विसङ्गति, सम्बन्धहीन सम्बन्ध, भाव–मनोभावहरु सरल र श्लील भाषा शैलीमा प्रस्तुत भएका छन् । उनले हाम्रो समाजमा भएका सामाजिक विकृति, विसंगति र रुढिवादी परम्परालाई बडो राम्रोसँग उन्ने काम गरेकी छिन् । उनले लेखेका कथाहरुले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ । यो कथासङ्ग्रहभित्र लेखिएका कथा पढेपछि कथाका पात्रहरु आँखाअगाडि हुँदै मनभित्र बस्छन् । समाजको दैनिकीभित्रको प्रेम र पीडा अनि मानवीय सम्बन्धका विविध आयाम नै भागीरथीको कथालेखनको केन्द्र हो । वर्तमान समयमा कथा लेखनमा अत्याधुनिक सोच र नवीनशैली प्रस्तुत हुने गरेका छन् । यस दृष्टिले हेर्दा भागीरथीद्वारा लेखिएका कथाहरु अध्ययन गर्दा शीर्षक, संरचना, विषयवस्तु र प्रस्तुतिमा पनि त्यसको आभाससम्म पाइँदैन । कुनै कथाको खाका बनाइसकेपछि शब्दमा नउतारुन्जेलसम्म कथाकार भागीरथीलाई एकप्रकारको छटपटी भइरहन्छ । विशेष गरी तिनका पात्रहरुले उनका आँखावरिपरि ओहोरदोहोर गरेर र अनेक उतारचढावबाट परिस्थितिहरु गुज्रिएर मनलाई पीडादायी बनाइदिन्छन् ।
उनले उनका कथाका पात्रहरुसँग धेरैपटक खुशी साटेकी छिन् र कहिलेकाहीँ आँखाभरि आँसु पारेर साँझहरुमा उदास पनि बनेकी छिन् । उनलाई लाग्दो रहेछ– कथा लेख्नु एउटा पीडादायी अनुभूति पनि हो । कहिलेकाहीँ उनी सोच्छिन् जीवन आफूले सोचे–भोगेजस्तो र अरुले देखेजस्तो हुँदैन शायद । मानिसको प्रवृत्तिलाई एउटै परिभाषामा समेट्न नसकिए पनि जीवनका कतिपय उतारचढावहरु कहीँ न कहीँ मेल खाइरहेका हुन्छन् । तिनै परिभाषित, अपरिभाषित सम्बन्धहरुलाई उनी कतिपय कथाहरुमा केलाउने कोशिश गर्दछिन् ।
मातृत्व शीर्षकको कथाभित्र सुबोध मकहाँ बराबर आउनुहुुन्थ्यो । आश्वासन दिनुहुन्थ्यो । माया दर्शाउनुहुन्थ्यो । तर पनि म अत्यन्त शून्यता र रिक्तता अनुभव गर्थे । लोग्नेको अभाव महसुस गर्थें । त्यो सिङ्गै घर मलाई सुरुङजस्तै लाग्थ्यो भनेर कथाकार भागीरथीले लेखेकी छिन् । चुुरीका टुक्राहरु शीर्षकको कथाभित्र एकरात मेरा लोग्ने रक्सीले टिल परेर आउनुभयोे, यो मेरो इच्छाविरुद्ध थियो, जसलाई कति रोक्न खोज्दा पनि म हारेकी थिएँ । उहाँको जित उहाँका लागि अहं र खुशीको कुरा थियो भने मेरो हार मेरो जीवनका लागि चुुनौती थियो भनेर लेखिएको छ ।
हाम्रो समाजमा भन्ने गरिन्छ– पुरुषहरु स्वार्थी र दुराचारी हुन्छन् । तर यस सङ्ग्रहभित्रका कथा सबै पुरुष पात्र दुराचारी र स्वार्थी मात्र छैनन् । कैयौं पुरुष पात्र निःस्वार्थी र सदाचारी पनि छन् । भागीरथीका कथाले वर्तमान नेपाली समाजको निम्नवर्गीय जीवनलाई राम्ररी व्यञ्जित गरेका छन् । कथाकार भागीरथीका फुटकर रचनाहरु विभिन्न पत्रिकाहरुमा बेला–बेलामा पढ्न पाइन्छ । कथाकार भागीरथीका कथाहरुले पाठकको संवेदनालाई जुर्मुराइदिएको पाइन्छ । कथाले पाठकको सोचाइमा श्रीपेच लगाएर स्पन्दनमा राज गर्न सकेको देखिन्छ । कथाकार भागीरथीको सामाजिक परिदृश्यभित्र यथार्थका धेरै आयामहरु अटाएका छन् । उनले मानिसका अन्तर्पीडालाई बुझ्ने प्रयासमा विश्वासको घोर सङ्कटमा दिशाहीन भएकोे मानिसको यथार्थलाई आफ्ना कथामा उतारेकी छिन् । धर्मपुत्र शीर्षकको कथामा आजकल विजयका लागि हरेक रात आघातपूर्ण र सन्त्रासहरुले भरिएको हुन्छ । उसले सुधाको अगाडि आँखा चिम्लेर सुतेकोे बहाना गरे पनि रातकोे अँधेरीमा विगतका काला क्षणहरुले उसलाई कोपर्न थालेका छन्, खर्लप्पै निल्न लागेका छन् । प्रत्येक दिन, प्रत्येक क्षण ऊ मर्माहत भएको छ, अतीतका आफ्नै अपराधपूर्ण कुकृत्यहरुले गर्दा भनिएको छ ।
कथाकार भागीरथीमा घटना टिपेर अनुकूल परिवेशले सिँगार्ने खूबी छ । त्यही प्रवृत्तिले गर्दा भागीरथी नेपाली साहित्यमा कथाकारका रुपमा चर्चामा आएकी छिन् । यिनको कलम तिखो छ र समाजका विकृति–विसङ्गतिप्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेकी छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरुको उपयुक्त संयोजनबाट राम्रा कथाहरु सिर्जना गर्न उनी सफल छन् । भागीरथी साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएकी नारी हस्ताक्षर हुन् । साहित्य लेखनमा डुब्ने लेखकहरु खाली बस्न सक्दैनन् । केही न केही लेखिरहेका हुन्छन् । यस कथासङ्ग्रहभित्र रहेको आकर्षण शीर्षकको अन्तिम कथामा म झुम्दै गएँ, सपनाहरु जोड्दै गएँ । म प्रेमको आँगनबाट विवाहको मण्डपमा झरेँ । साँच्चै ऊ मेरी आदर्श पत्नी, असल गृहिणी बन्न सक्छे, मेरोे सपनालाई तोड्ने छैन । ऊ आएपछि मेरो घरको रौनक नै बढ्नेछ । उसलाई पाउने एउटा न्यानोे विश्वासको ढुकढुकी चलिरह्यो भनिएको छ । साझा प्रकाशनद्वारा प्रकाशित पृष्ठसङ्ख्या १०८ को यो कथासङ्गहको मूल्य रु. १९०।– रहेको छ । कथाकार भागीरथीको कथालेखन अगाडि बढ्दै जाओस् । आउँदा दिनमा अरु कथासङ्ग्रह जन्मन सकोस् भन्न चाहन्छु ।











प्रतिक्रिया