सुर्खेतमा किसान अभिमुखीकरण सम्पन्न, भेरीगंगा र लेकबेशीमा नयाँ नेतृत्व


सुर्खेत ।

भेरीगंगा र लेकबेशी नगरपालिकाका कृषक समूह, जनप्रतिनिधि र कृषि शाखा प्रमुखहरूसहित १३० जनाको सहभागितामा सुर्खेतमा एक दिवसीय अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ। पालिका महासंघको आयोजनामा भएको उक्त कार्यक्रममा पर्यावरणीय खेतीपाती, किसान अभियान र खाद्य संप्रभुताको स्थानीयकरणका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा किसान प्रतिनिधि र पालिकाका प्रतिनिधिहरूबीच खाद्य अधिकारको अभ्यास र पालिकासँगको सहकार्यबारे सिकाई आदानप्रदान समेत गरियो।

कार्यशालाले कृषक समूहको गतिशीलता, संगठनात्मक अभ्यास र महासंघको भूमिकाबारे स्पष्ट पार्दै किसानका सवालहरूलाई नीतिगत रूपमा सम्बोधन गर्न दुवै पालिकाका लागि ठोस कार्ययोजना तयार पारेको छ। उक्त कार्ययोजनालाई कार्यान्वयन गराउन र किसानको पक्षमा पैरवी गर्न पालिका महासंघले नेतृत्वदायी भूमिका खेल्ने निर्णय भएको छ।

यसैबीच, पालिका अधिवेशनले दुवै नगरपालिकामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ। लेकबेशी नगरपालिकामा पूर्ण बहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति र भेरीगंगा नगरपालिकामा रेश्मा विष्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। नवनिर्वाचित समितिले स्थानीय स्तरमा किसानका मुद्दा र पर्यावरणीय कार्यदिशालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।