इनिसाका हत्यारालाई कारबाही माग गर्दै विद्यार्थी आन्दोलित


हेटौंडा ।

सुर्खेतकी १६ वर्षीया इनिसा बिकका हत्यारालाई कारबाहीको माग गर्दै हेटौंडाका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ माविलगायतका विद्यार्थीहरुले हेटौंडामा नाराजुलुस गर्दै इनिसालाई न्याय माग गरेका हुन् ।

आन्दोलित विद्यार्थीहरुले हत्यारालाई कारबाही गर, नारी अस्मिताको रक्षा गर, बलात्कारीलाई फाँसी दे, बलात्कार गर्न पाइँदैन, इनिसालाई न्याय दे, वी वान्ट जस्टिस भन्दै नारा लगाएका थिए । हेटौंडा क्याम्पसको अनेरास्ववियु, मकवानपुर बहुमुखी क्याम्पसको नेवि संघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरुको नेतृत्वमा भएको प्रदर्शनमा करिब ५ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको हेटौंडा क्याम्पस अनेरास्ववियु अध्यक्ष नितेश भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थी संगठनहरुले आयोजना गरेको ¥यालीपछिको कोणसभामा अनेरास्ववियु हेटौंडा नगर संयोजक रिजन जीसीले नारी अस्मिताको सम्मान हुनुपर्ने बताए । ‘इनिसालगायत धेरै किशोरीले बलात्कारपछि अकालमा निर्ममतापूर्वक ज्यान गुमाएका छन् । यस्ता कुरीतिहरु जरैदेखि अन्त्य नभएसम्म हामी चुप लाग्ने छैनौं,’ जीसीले आक्रोश पोखे ।

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता छोइसाङ तामाङले सामाजिकसञ्जालमार्फत इनिसाको न्यायको विषयमा बोलेका छन् । छोइसाङले स्टाटसमा भनेका छन् –बलात्कार, बलात्कार हुन्छ । यसमा जातको कुरै छैन, अपराध, अपराध हुन्छ यसमा बालकबृद्ध भन्ने हुँदैन । अपराधीलाई कडाभन्दा कडा कारबाही होस् । तामाङले इनिसाको फोटो पोष्ट गर्दै जस्टिस फर इनिसा लेखेका छन् ।

शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीहरुले नगर परिक्रमा गरी हेटौंडाको सीमाचोक र बुद्धचोकमा कोणसभा गरेका थिए । इनिसा बिकको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेपछि देशभर हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन जारी छ ।