अर्थतन्त्रमा मिश्रित संकेत


अर्थतन्त्रका पछिल्ला तथ्यांकले मिश्रित संकेत देखाएको छ । बाह्य क्षेत्र अत्यन्तै बलियो देखिए पनि आन्तरिक आर्थिक गतिविधि अझै पूर्णरूपमा गतिशील हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको प्रतिवेदनले चालू आर्थिक वर्षको सात महिनासम्म अर्थतन्त्रका प्रमुख सूचकहरू सकारात्मक देखिएको छ । यस अवधिमा मुद्रास्फीति ३.२५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य बढी हो ।

मूल्यवृद्धि बढ्नु बजारमा माग र आर्थिक गतिविधि विस्तार भएको संकेत मानिन्छ । तर वर्तमान तथ्यांकले भने यस्तो निष्कर्षलाई पुष्टि गर्दैन । विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपियाँ पुगेको छ, जुन करिब १८ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त मानिन्छ ।

सामान्यतया सात महिनाको आयात धान्न सक्ने सञ्चिति पर्याप्त मानिन्छ, त्यसको तुलनामा मुद्रा सञ्चिति निकै उच्च अवस्थामा छ । यसको मुख्य आधार विप्रेषण हो । सात महिनामा विप्रेषण ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब रुपियाँ पुगेको छ । यसकै कारण चालू खाता ४ खर्ब ९३ अर्ब रुपियाँ र शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब रुपियाँ बचतमा पुगेको छ । यो तथ्यले नेपालको बाह्य क्षेत्र हालसम्मकै मजबुतमा पु¥याउन सहयोग गरेको छ ।

त्यस्तै निर्यात ३२.२ प्रतिशतले बढेको छ भने आयात १३.६ प्रतिशतले मात्र वृद्धि भएको छ । निर्यातको वृद्धिदर आयातभन्दा उच्च रहनुले व्यापार सन्तुलनमा केही सकारात्मक संकेत देखाएको छ । निर्यात–आयात अनुपात पनि १५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १२.९ प्रतिशतभन्दा सुधारिएको हो । तर यथार्थमा नेपालको व्यापार घाटा अझै ठूलो छ । सात महिनामैै ९ खर्ब ५५ अर्ब रुपियाँको व्यापार घाटा देखिएको छ ।

यसले अर्थतन्त्रको संरचनात्मक कमजोरी अझै कायम रहेको स्पष्ट पार्छ । उता बैंक तथा वित्तीय संस्थामा निक्षेप ६ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले मात्र बढेको छ । निक्षेपको वृद्धिदर कर्जा विस्तारको तुलनामा दोब्बरभन्दा बढी छ । यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिए पनि उद्योग व्यवसायले नयाँ लगानी गर्न हिच्किचाइरहेको देखाउँछ ।

ब्याजदरसमेत न्यून अवस्थामा रहे पनि निजी क्षेत्रको उत्साह कम देखिनु अर्थतन्त्रको मनोवैज्ञानिक र संरचनात्मक समस्यासँग जोडिएको संकेत हो । बैंकिङ क्षेत्रमा उच्च तरलता भए पनि लगानी विस्तार नहुनु तथा निजी क्षेत्रको कर्जा माग कमजोर देखिनुले अर्थतन्त्र अझै पूर्ण गतिमा फर्किन नसकेको संकेत गर्छ ।

त्यस्तै सरकारको कुल खर्च ८ खर्ब १ अर्ब रुपियाँ पुगेको छ भने राजस्व संकलन ६ खर्ब ६५ अर्ब रुपियाँ रहेको छ । खर्च र आम्दानीबीचको अन्तरले बजेट व्यवस्थापनमा दबाब रहेको देखाउँछ । यद्यपि, सरकारसँग नगद मौज्दात ३ खर्ब ७३ अर्ब रुपियाँ पुगेको छ, जसले अल्पकालीन वित्तीय व्यवस्थापन सहज बनाएको छ । यस्तो अवस्थामा आगामी सरकारका लागि अहिलेको आर्थिक अवस्थाले केही गम्भीर चुनौतीहरू देखाउँछ ।

जस्तै ः अर्थतन्त्रलाई विप्रेषण निर्भरताबाट बाहिर निकाल्ने– रेमिट्यान्सले बाह्य क्षेत्रलाई बलियो बनाएको भए पनि यसले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न सकेको छैन । निजी क्षेत्रको लगानी वातावरण सुधार गर्ने– बैंकिङ प्रणालीमा तरलता भए पनि उद्योग व्यवसायले कर्जा लिन इच्छुक नहुनु नीतिगत अनिश्चितता, कमजोर माग र प्रशासनिक जटिलतासँग सम्बन्धित देखिन्छ ।

व्यापार घाटा घटाउने संरचनात्मक सुधार– निर्यातमा सुधार देखिए पनि अर्थतन्त्र अझै आयातमा अत्यधिक निर्भर छ । सार्वजनिक खर्चको प्रभावकारिता– बजेट कार्यान्वयन कमजोर हुँदा विकास खर्चले अर्थतन्त्रलाई गति दिन सकेको छैन ।

यस्ता चुनौतीका बीच अर्थतन्त्रमा उल्लेखनीय सम्भावनाहरू पनि छन् । विदेशी विनिमय सञ्चिति अत्यन्त बलियो हुनु सरकारका लागि आर्थिक स्थिरताको ठूलो आधार हो । विप्रेषणको ठूलो प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लगानीमा रूपान्तरण गर्न सके अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्छ । निर्यात वृद्धिको पछिल्लो प्रवृत्तिले औद्योगिक तथा कृषि उत्पादन विस्तारको सम्भावना देखाएको छ ।

ब्याजदर न्यून भएको वर्तमान अवस्था दीर्घकालीन लगानी विस्तारका लागि उपयुक्त अवसर बन्न सक्छ । समग्रमा नेपालको अर्थतन्त्र अहिले एक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको भए पनि विप्रेषण, विदेशी विनिमय सञ्चिति र वित्तीय स्थिरतालाई उद्योग, पूर्वाधार र निर्यातमुखी अर्थतन्त्र निर्माणतर्फ मोड्न सके आर्थिक रूपान्तरणको आधार बन्न सक्छ ।