सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते


सर्लाही ।

सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सीमातर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले ठक्कर दिँदा बरहथवा–९ का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार स्कारपियोले पहिले एक पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा रोक्न खोज्ने अन्य व्यक्तिलाई समेत ठक्कर दिँदा धेरै जना घाइते भएका हुन्।

प्रहरीले स्कारपियो र चालक बरहथवा–१२ का ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। घाइतेमध्ये केही जन्ती आएका व्यक्ति र स्थानीय गाउँले रहेको बताइएको छ। घाइतेहरूको बरहथवाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।