हिन्दू धर्मावलम्बीहरुका लागि शिवलिङ्गको विशेष महत्व छ । शिवलिङ्ग भनेको भगवान् शंकरको प्रतीक मानिन्छ । धर्मशास्त्रका अनुसार लिङ्ग भनेको शक्ति हो । त्यसैले उत्पादक शक्तिको चिह्नको रुपमा लिङ्गको पूजा गर्ने गरिन्छ । लिङ्गको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास गरिन्छ । शिवलिङ्गमा योनिलाई मातृशक्तिको प्रतीक मानिन्छ ।
लिङ्गपूजा गर्नुका केही कारण छन् । मान्यताअनुसार शिवलिङ्ग एउटा विशाल लौकिक अण्डाशय हो, जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो । त्यस्तै शिवलिङ्ग त्रिमूर्तिसँग सम्बन्धित छ । त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश । यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।
शिवलिङ्गको बारेमा एकपटक ब्रह्मा र विष्णुबीच विवाद उत्पन्न भयो । ब्रह्माले आफू सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दाबी गरे । विष्णुले पनि सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दाबी गरे । त्यसपछि त्यहाँ एक विशाल शिवलिङ्ग देखा प¥यो । दुवै देवताले यो सहमति गरे कि जसले यो शिवलिङ्गको शुरुवात र समाप्ति अर्थात् फेद र टुप्पो पत्ता लगाउँछ, त्यो नै श्रेष्ठ हुनेछ । दुवैजना विपरीत दिशामा शुरुवात र समाप्ति खोज्न निक्लिए तर उनीहरुले पत्तै पाउन सकेनन् । त्यसैले उनीहरुमा यो ज्ञात भयो कि शिवलिङ्ग नै अनन्तकाल हुन् ।
शिवलिङ्गको कुनै रङ्ग हुँदैन । यो जुन रङ्गको सम्पर्कमा आउँछ, त्यही रङ्गको हुन्छ । शिवलिङ्ग पूजा ध्यानको लागि हो । यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ । अर्को कुरा, भगवान् शिवलाई दिगम्बर भनिन्छ अर्थात् शिव निर्वस्त्र हुन्छन् । शिवको कुनै आकार नै छैन, निराकार छन् । न त शिवको कुनै स्वरुप नै छ । शिव तत्व कुनै बाहिरी आवरण र रङ्गले भरिएको तत्व होइन । पूर्ण निराकार, पूर्ण चेतन र परम तत्व नै शिव तत्व हो । शिव एक ज्योतिस्वरुप मात्रै हुन् ।
भन्न त शिवलाई दिगम्बर भनिन्छ तर पनि शिवपुराणमा बाघको छाला धारण गरेको कुरा उल्लेख छ । त्यसैले शिवलाई बाघाम्बर पनि भनिन्छ । कतै हात्तीको छालाको पनि उल्लेख गरिएको पाइन्छ । हातमा त्रिशूल, रुद्राक्षको माला, मानिसको खोपडी, काठको चप्पल, नाग, सर्प, डमरु यी नै भगवान् शिवका पहिरन हुन् । बाघको छाला नै शिवको वस्त्र होइन, यो त स्थान विशेष र कुनै समयका लागि मात्र हो । शिव भनेको कुनै आवरणले युक्त भएको होइन, त्यसैले पनि शिवलाई शिवलिङ्गको रुपमा अर्थात् निर्वस्त्रको रुपमा आराधना गरिन्छ ।
शिवलाई आशुतोष पनि भनिन्छ अर्थात् सबैभन्दा शक्तिशाली देवताको रुपमा लिइन्छ । तर शिव शक्तिशाली देवता भईकन पनि उनलाई यसमा कुनै आशक्ति नरहेको देवताको रुपमा लिइन्छ । शास्त्रीय मान्यताअनुसार अन्य देवतालाई राजसी किसिमले पूजा गरिन्छ तर शिवलाई भने साधारण किसिमले पूजा गर्दा पनि प्रसन्न हुने देवताको रुपमा लिइन्छ । शिवलाई केही पनि निषेध छैन । शिव यज्ञभन्दा पनि माथि छन् भने मसानका देवता भएकाले भष्म शरीरमा धारण गरेका हुन् ।












प्रतिक्रिया