के जीवनमा शान्ति नहोस् भन्ने चाहना भएको मानिस यो संसारमा होला त ? सबै चाहन्छन्, शान्ति होस् । अधिकांशले के सोच्छन् भने लडाइँ रोकिएपछि शान्ति हुनेछ । तर शान्ति त यस्तो हुनुपर्छ जसलाई लडाइँको मैदानमा रहँदा पनि अनुभव गर्न सकियोस् । त्यो वास्तविक शान्ति बाहिर होइन, सबैभित्र छ । प्रत्येक मानिसभित्र ! मानिसले आपूmभित्रको शान्तिलाई अनुभव गरेपछि बाहिर आफै शान्ति हुनेछ ।
यद्यपि मानिस सृष्टिकर्तासँग धेरै कुरा मागिरहन्छ । सबै सुख, धन–सम्पत्ति, परिवार…तर शान्ति माग्न भने बिर्सन्छ । यसै विषयसँग सम्बन्धित एउटा कथा छ । एकजना गरिब मानिस थिए । उनी सृष्टिकर्तासँग केही न केही मागिरहन्थे । एकदिन सृष्टिकर्ताले उनीसामु आएर ‘तिम्रो इच्छा के छ’ भनेर सोधे । पहिला उनले एकदमै धेरै धन मागे । त्यसबाट उनको जीवन राम्रैसँग चल्न थाल्यो । केही समयपछि उनलाई लाग्यो– घर पनि त राम्रो हुनुपर्छ ।
उनले फेरि प्रार्थना गरे अनि उनको घर एकदमै राम्रो भयो । अब उनी सोच्न थाले– विवाह गर्नुप¥यो । उनले फेरि प्रार्थना गरे । केही दिनपछि एकजना राम्री र सुशील नारीसँग उनको विवाह भयो । केही वर्षपछि उनको परिवार पनि ठूलो हुँदै गयो । त्यसै गरी उनको जीवन चलिरहेको थियो । यति हुँदाहुँदै पनि कतै न कतै उनलाई कुनै चीजको खोजी भइरहेकै हुन्थ्यो । सबै कुरा हुँदाहुँदै पनि उनी अशान्त रहन्थे ।
यही क्रममा उनको वृद्धावस्था आयो, त्यस बेलामा उनी सृष्टिकर्तासँग भन्छन्– ‘कृपया मलाई शान्ति दिनुस् ।’ अनि सृष्टिकर्ता भन्छन्, ‘तिमीले त पहिलो दिनदेखि नै शान्ति माग्न चाहिरहेका थियौ, त्यतिखेरै मागेका भए हुन्थ्यो । तर, तिमीलाई अरू–अरू चीजहरुबाट शान्ति प्राप्त होला भन्ने लागेको थियो ।’
जे–जति काम हामी गर्दछौँ, ती सबै शान्तिसँग जीवन बिताउनका लागि नै गरिरहेका हुन्छौँ । यदि हामी संसारमा शान्ति होओस् भन्ने चाहन्छौँ भने पहिला हामीले आफ्नै सानो संसारमा शान्तिलाई स्थापना गर्नुपर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्ति त्यो हो, जसलाई मानिसले आफूभित्र अनुभव गर्न सक्छ । यदि मानिसभित्र नै शान्ति छैन भने बाहिरको शान्ति असम्भव छ । मानिसलाई ‘मभित्रै शान्ति छ’ भन्ने कुरा महसुस हुनुपर्दछ– ‘म पनि यो शान्तिको अंशियार हुँ र यो ममाथि निर्भर छ, यदि मैले प्रयास गरेँ भनेँ साँच्चै नै शान्ति सम्भव छ ।’
जीवनमा प्रत्येक मानिसले शान्ति प्राप्त गर्ने चाहना राखेको हुन्छ । मानिस शान्तिको प्राप्तिका लागि खोजी गरिरहन्छ । हामी आफ्नो आँखाले सारा संसारलाई हेर्न सक्छौँ तर यदि आफ्नै आँखालाई हेर्न चाह्यौँ भने ऐनाको आवश्यकता पर्दछ । अनि त्यो ऐना हो– बुझाइको ऐना । जसद्वारा हामी आफुले आफुलाई देख्न सक्छौँ ।
आपूmले आपैmँलाई चिन्न सक्छौँ ।संसारले त दुःखबाट टाढा रहनका लागि विभिन्न किसिमका उपायहरूको व्यवस्था गर्दछ । जब शान्तिका बारेमा कुरा आउँछ, तब उनीहरू सोच्न थाल्छन्– शान्ति पनि हाम्रो दुःखबाट छुटकारा दिने त्यस्तै कुनै चीज हुनुपर्छ । तर, शान्ति त्यस्तो कुरा होइन । हरेक मानिसले आफ्नै तरिकाबाट शान्तिका बारेमा फरक–फरक परिभाषा बनाएर राखेको छ । यदि कसैको केही हराएको छ र उसलाई सोधौँ– ‘शान्तिलाई के भनेर परिभाषित गर्नुहुन्छ ?’ अनि उसले यही भन्नेछ, ‘जुन मेरो हराएको चीज छ, त्यसलाई पाएँ भने मलाई शान्ति हुनेछ ।’
हामीले कुरालाई बुझ्न र विचार गर्न सक्षम हुन थालेपछि हामीमाझ एउटा लक्ष्य निर्धारण हुन्छ– मलाई यो प्राप्त गर्नु छ, मलाई यो बन्नु छ । त्यसपछि हाम्रो पूरै जीवन यसैमा समर्पित हुन थाल्छ । जसले गर्दा हामी स्वयं आपैmँबाट टाढिन थाल्छौँ । अनि कुनै पनि सफलता प्राप्त गर्ने लक्ष्य भए पनि त्यसमा हामी सफल हुन सक्दैनौँ ।
आफू आफैँसँग परिचित हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हामीभित्र भएको शक्तिले हामीलाई आपैmँसँग सम्बन्ध गाँस्नका लागि सहयोग पु¥याउँछ, जसका माध्यमबाट हामीले आफैँभित्र भएको त्यो चीजलाई अनुभव गर्न सक्छौँ । यदि हामीले पहिलादेखि नै हामीभित्र रहेको त्यो चीजलाई स्वीकार ग¥यौँ भने हाम्रो जीवनमा एउटा यस्तो राम्रो परिवर्तन आउन सक्छ । त्यसको हामीले कल्पना पनि गर्न सक्दैनौँ । त्यो कुरा सम्भव छ ।
तपाईंको हृदयलाई एउटा तिर्खा लागेको छ । त्यही तिर्खाले भन्छ– ‘मलाई त्यो चीजसम्म पु¥याऊ, जसबाट म शान्त हुन सकूँ । मलाई त्यो चीज प्राप्त भएपछि मेरो जीवनमा सन्तुष्टि प्राप्त हुनेछ ।’ यदि तपाईंलाई भोक लागेको छ भने त्यो भोकलाई मेट्नका लागि खानाको चित्र दिएर काम चल्दैन । खाना नै खानु आवश्यक हुन्छ । त्यसैै गरी, जीवनमा शान्ति–शान्ति भनेर मात्र हुँदैन । शान्तिलाई त अनुभव गर्नु आवश्यक छ । मानिसहरूको विचारमा त लडाइँ–झगडा रोकियो भने शान्ति हुन्छ । तर, लडाइँ बन्द भएपछि पनि शान्ति हुँदैन । किनभने, जुन मूल चीज छ, त्यो नै शान्त भएको हुँदैन ।
यदि तपाईं एउटा रेलमा यात्रा गरिरहँदा रेल हल्लिरहेको छ भने चाहे तपाईंले आपूmलाई म नहल्लिऊँ भनेर जतिसुकै कोशिश गर्नुभए पनि त्यो कुरा सम्भव हुँदैन । किनभने, पूरै रेल नै हल्लिरहेको हुन्छ । त्यसै गरी, यो जीवनमा हामी जुन गाडीमा बसेका छौँ, त्यो नै हल्लिरहेको छ । अनि हामी आराम मिलोस्, हाम्रो जीवनमा शान्ति होस् भन्ने चाहन्छौँ । तर पनि यो कुरा सम्भव छ किनभने हामीले खोजिरहेको शान्ति र सन्तुष्टि कतै अन्यत्र होइन, हामीभित्रै छ । हामी त्यसको अनुभव गर्न सक्छौँ ।
एउटा कथा छ । दुईवटा भ्यागुता थिए । एउटा समुद्रमा बस्थ्यो र अर्काे इनारमा बस्थ्यो । दुवै भ्यागुता साथी–साथी थिए । एकदिन समुद्रमा बस्ने भ्यागुतो इनारमा बस्ने भ्यागुताकोमा पाहुना लाग्न भनेर गयो । दुवैको कुराकानी चलिरहेको थियो । यत्तिकैमा इनारमा बस्ने भ्यागुताले सोध्यो, ‘तिम्रो समुद्र कत्तिको ठूलो छ ?’ समुद्रमा बस्ने भ्यागुताले भन्यो– ‘एकदमै ठूलो छ !’
इनारमा बस्ने भ्यागुताले इनारको एउटा क्षेत्रमा घेरा लगाएर सोध्यो– ‘के यतिको ठूलो छ ?’ उसले भन्यो, ‘होइन, योभन्दा त निकै ठूलो छ ।’ फेरि उसले पहिलाको भन्दा ठूलो एउटा घेरो बनाएर सोध्यो– ‘के यतिको ठूलो छ त ?’
अब उसले भन्यो, ‘होइन, समुद्र त योभन्दा पनि निकै ठूलो हुन्छ ।’ अनि इनारमा बस्ने भ्यागुताले पूरै इनारलाई घुमेर घेरो लगाएपछि भन्यो– ‘तिम्रो समुद्र योभन्दा ठूलो त हुनै सक्दैन, किनभने मेरो इनार तिम्रो समुद्रभन्दा कैयौँ गुणा ठूलो छ ।’ उसले भन्यो, ‘होइन, समुद्र योभन्दा त निकै ठूलो हुन्छ ।’
त्यसपछि इनारमा बस्ने भ्यागुताले भन्यो, ‘मलाई विश्वासै लागेको छैन । त्यो त इनारभन्दा ठूलो हुनै सक्दैन ।’ फेरि समुद्रमा बस्ने भ्यागुताले सम्झाउँदै भन्यो– ‘मित्र, भोलि तिमी मसँगै जाऊँ । म तिमीलाई समुद्र कत्रो हुन्छ भनेर देखाउनेछु ।’ भोलिपल्ट दुवै भ्यागुता सँगै गए । पोखरीमा बस्ने भ्यागुतोले समुद्र देखेपछि आश्चर्यचकित भयो । समुद्र त एकदमै ठूलो थियो । त्यसको त सिमाना पनि आँखाले देखुन्जेलसम्मको थियो ।
त्यसपछि इनारमा बस्ने भ्यागुताले भन्छ, ‘हो मित्र, तिमीले ठिकै भनिरहेका थियौ । मैले समुद्र देखेकै थिइन । त्यसकारण म त यति मात्र भन्न सक्थेँ, ‘मेरो इनार तिम्रो समुद्रभन्दा ठूलो छ’ तर अब मलाई थाहा भयो कि मेरो इनार त समुद्रका अघि केही पनि होइन रहेछ ।
हामी पनि यस्तै विचारमा रुमल्लिएका हुन्छौँ । हामी आफ्नो धारणाको संसारमा एउटा सानो इनारमा रहेर के सोच्छौँ भने, यो मेरो संसारभन्दा राम्रो अरू केही पनि छैन । जब हामीलाई कसैले भनिदिन्छ– ‘तपाईंभित्र पनि एउटा अर्कै संसार छ । एउटा यस्तो चीज छ, जसद्वारा तपाईंलाई परम शान्ति प्राप्त हुन सक्छ ।’ तर, यो कुरामा विश्वास गर्न हामीलाई गाह्रो हुन्छ ।
हामीलाई प्राप्त भएको यो जीवन पनि एउटा इनारजस्तै छ ।
यस जीवनरूपी इनारमा यस्तो पानी छ, जसलाई पिउन थाल्नुभयो भने तपाईंको प्यास मेटिनेछ । तपाईं यो संसारमा जीवित रहुन्जेलसम्म तपाईं जहाँसुकै जानुहोस्, जेसुकै गर्नुहोस् तर यो चीज सदैव तपाईंभित्रै रहनेछ । यदि तपाईंले त्यो पानीलाई निकाल्न सिक्नुभयो भने यो संसारमा तपाईं साँच्चै खाली हात आउनुभएको थियो नै तर तपाईं खाली हात जानु आवश्यक हुँदैन ।
यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छ, जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।
हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईंको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।
हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, ‘विश्वमा शान्ति हुनुपर्छ ।’ म भन्छु, विश्वमा शान्ति होइन, तपाईंको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)












प्रतिक्रिया