मुगु । मुगुको सदरमुकाम गमगढीलाई चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो गमगढी–नाक्चेलाग्ना सडक कर्णाली प्रदेशको समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छ । यो सडक सञ्चालनमा आए नेपाल–भारत–चीन त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । तर योजना बनेको दुई दशक र औपचारिक निर्माण शुरु भएको झन्डै एक दशकभन्दा बढी समय बितिसक्दा पनि प्रगति कछुवाको गतिमा सीमित छ ।
यस सडकको विस्तृत सर्वेक्षण आर्थिक वर्ष २०६२÷६३ मै सम्पन्न भएको थियो । सर्वेक्षणपछि करिब १० वर्षको अन्तरालमा आर्थिक वर्ष २०७२÷७३ बाट निर्माण कार्य औपचारिक रूपमा शुरु गरियो । हालसम्म ९३ किलोमिटरमध्ये करिब १८ किलोमिटर मात्र ट्रयाक खोलिएको तथ्यांक सार्वजनिक भएको छ ।
प्राविधकि इस्टमेट र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक बनावटको हिसाबले हेर्ने हो भने प्रतिकिलोमिटर ६ करोड रुपियाँ खर्च हुन आउँछ । मुगुम कार्मारोङको भौगोलिक बनावट कडा चट्टानले गर्दा विस्फोटक पदार्थमार्फत निर्माण अगाडि बढाउनुपर्ने बाध्यता छ । विस्फोटक पदार्थ निर्माण स्थलसम्म पु¥याउन कानुनी प्रक्रिया धेरै छन् ।
माग गरिएअनुसारको बजेट संघीय सरकारले प्रथामिकतामा नराख्नाले पनि निर्माण कार्यमा ढिलाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंह बताउँछन् ।
निर्माण शुरुवात भएबाट गममगढीदेखि मुगुम कार्मारोङ–७ को माग्री डाँडासम्म १८ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । प्राविधिक अनुमानअनुसार बाँकी ७५ किलोमिटर सडक ट्रयाक खोल्न मात्र ४ अर्ब ५० करोड रुपियाँ आवश्यक पर्ने प्राविधिक अनुमान छ ।
परियोजनालाई गति दिन छायानाथ रारा नगरपालिका–४ ताल्चामा कार्यालय स्थापना गरिएको छ । पर्याप्त बजेट, जनशक्ति र स्पष्ट कार्ययोजनाको अभावका साथै संघीय सरकारको प्राथमिकतामा न्यून बजेट विनियोजन भएकै कारणले कर्णाली प्रदेशको समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको यो सडक ओझेलमा परेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताउँछन् ।
यो सडक पूर्णरूपमा सञ्चालनमा आएपछि रारा ताल र रारा राष्ट्रिय निकुञ्जसँगै उत्तरी हिमाली क्षेत्रका धार्मिक तथा प्राकृतिक गन्तव्यहरू जोडिने अपेक्षा छ । तिब्बतस्थित मानसरोवर र कैलाश पर्वत यात्राका लागि छोटो तथा वैकल्पिक मार्ग बन्ने विश्वास स्थानीयको छ ।
मुगुम कार्मारोङ–१ मा रहेको छायानाथ धाम, लामा समुदायमा रहेको वर्षौं पुराना गुम्बा चिटिम, परम्परागत मौलिक धार्मिक एवं सांस्कृतिक रहनसहन र भेषभूषाले भरिपूर्ण यो गाउँपालिका पर्यापर्यटनदेखि धार्मिक तथा अन्य प्रकारले पर्यटनको ठूलो सम्भावना भएको स्थान भए पनि सडक सञ्जालकै कारण सबै ओझेलमा परेका छन् । मुगुमा पाइने यार्सागुम्बा, गुच्ची च्याउ, पाँचऔंले र सतुवाजस्ता बहुमूल्य जडीबुटीको निकासी र ढुवानीमा स्थानीय संकलनकर्ता र व्यापारीहरूले सकस खेप्नुपरेको छ ।
सडक पुगेको भए दैनिक उपभोग्य वस्तुको ढुवानी लागत घट्ने र यहाँका प्रसिद्ध रैथाने बाली सिमी, कोदो, चिनो, कागुनो, स्याउ, घिउ, छुर्पीजस्ता उत्पादन बाह्य बजारसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको भए पनि संघीय सरकारले यो सडकलाई प्राथमिकतामा नराख्दा पर्यटन र व्यापारको ठूलो सम्भावना भएको मुगुम कार्मारोङ गाउँपालिका ओझेलमा परेको मुगुम कार्मारोङ–१ का कार्मा तामाङको भनाइ छ ।
कुल २,१०७ वर्गकिलोमिटर क्षेत्रफल र करिब ६,२२२ जनसंख्या रहेको मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा यस सडकलाई आफ्नो भविष्यसँग प्रत्यक्ष जोडिएको परियोजनाका रूपमा हेर्छन् । स्थानीय अगुवा सोनाम तामाङ भन्छन्, ‘हरेक चुनावमा उम्मेदवारहरू यही सडक बनाउने प्रतिबद्धता जनाउँछन् तर चुनाव सकिएपछि कसैले पनि चासो दिएको देखिँदैन । हामीले धेरै वर्षदेखि आशा मात्रै गरिरहेका छौं ।’
अर्का स्थानीय युवा दोर्जे तामाङ भन्छन्, ‘सडक बने रोजगारी आउँछ, व्यापार बढ्छ र विदेश जानुपर्ने बाध्यता कम हुन्छ । तर, अहिलेसम्मको गतिले हेर्दा छिटो बन्नेमा विश्वास गर्न गाह्रो छ ।’ यस्तै, व्यवसायी पेमा तामाङले भने, ‘नाक्चेलाग्ना नाकासम्म सडक जोडिएको भए हामीलाई चिनियाँ बजारसँग सीधा पहुँच मिल्छ । तर बजेट र प्राथमिकता नहुँदा योजना कागजमै सीमितजस्तो लाग्छ ।’
फागुन २१ गतेको निर्वाचनमा मुगुमा सात राजनीतिक दलले प्रतिस्पर्धा गरे । सबैले मुगुम कार्मारोङवासीमा मत माग्ने मुख्य एजेन्डा गमगढी–नाक्चेलाग्ना सडक बनाएका भए पनि यहाँका स्थानीयले विश्वास गर्न गाह्रो छ । विगतका अनुभवका आधारमा स्थानीय अझै सशंकित छन् । ‘भोट माग्दा सडकको कुरा आउँछ, जितेपछि प्राथमिकता बदलिन्छ’, एक स्थानीय मतदाताले गुनासो गरे ।
कर्णालीको आर्थिक रूपान्तरणको आधार मानिएको यो सडक संघीय सरकार र निर्वाचित जनप्रतिनिधिको ठोस प्रतिबद्धता, पर्याप्त बजेट र स्पष्ट कार्ययोजनाविना अघि बढ्न नसक्ने भएकाले यो परियोजनालाई निरन्तरताका लागि प्रदेश र स्थानीयतहको मातहतमा नपर्ने हुँदा संघीय सरकारले प्रथामिकतामा राख्नुपर्ने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउँछन् ।
हरेक निर्वाचनमा यो सडक निर्माणको मुख्य ऐजेन्डा बनाएर निर्वाचनमा भाग लिएका उम्मेदवारसहित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मुगुम कार्मारोङ गाउँपालिकाका मतदाताहरूसँग मत माग्ने गर्छन् । गाउँमा सडक पुग्ने आशाले उनीहरू आफूले चाहेको उम्मेदवारलाई मतदान पनि गर्दै आएका छन् । दुई दशकसम्म सडक निर्माणका विषयलाई प्राथमिकतामा नराख्दा निर्माणको विषय ओझेलमा परेको हो ।
मुगुम कार्मारोङ गाउँपालिकाका केही बस्तीमा पछिल्लो समय बसाइँ सराइको क्रम तीव्र बन्दै गएको छ । सडक सञ्जाल विस्तार नहुँदा उनीहरू आफ्नो पुख्र्यौली घरजग्गा छोडेर सदरमुकाम गमगढी, जुम्ला, काठमाडौं र भारतका विभिन्न स्थानमा बसाइँ सराइ गर्दा गाउँ नै खाली हुने खतरा बढेको छ ।
सामान्य बिरामी हुँदा दुईदेखि तीन दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । सडक पुगेपछि बजार, सदरमुकामबाट खाद्यान्न ढुवानी गर्न खच्चडमार्फत ५० रुपियाँ ढुवानी तिर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर छैन । सडक सञ्जाल जोडिएको भए यहाँको उत्पादन बाह्य बजारसम्म पु¥याउन सहयोग पुग्ने थियो । आम्दानी केही नहुने भएपछि स्वास्थ्य, शिक्षा र आम्दानीका लागि भए पनि अन्यत्र बसाइँ सराइ गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा उर्गिन नन्डुप तामाङले बताए ।
मुगुम कार्मारोङ गाउँपालिका–१ चिताइका ठूलो गाउँ र सानो गाउँ घरजग्गा छोडेर कोही सदरमुकाम गमगढी, जुम्ला, काठमाडौं, भारत पुगेका छन् भने कोही सानो संख्यामा चिताइकुना भन्ने स्थानमा बसाइँ सराइ गरेका छन् ।
स्थानीय धोर्वा तामाङ भन्छन्, ‘सडक पुग्ला, गाउँको विकास होला भन्ने सोचेका थियौं । सडककै पुग्न अझै ढिलो हुने देखेपछि हाम्रो गाउँ नै रित्तिन थालेको छ ।’ उनका अनुसार युवा जनशक्ति बाहिरिएपछि गाउँघर युवाविहीन हुन थालेकाले यहाँको उत्पादन, धार्मिक परम्परा र सामुदायिक एकतासमेत कमजोर हुने खतरा बढेको छ ।
शिक्षा तथा स्वास्थ्यसेवाका लागि पनि धेरै परिवार बालबालिकालाई लिएर बजार क्षेत्रतर्फ बसाइँ सरेका छन् । सडक सञ्जालकै कारण रोजगारी र आयआर्जनका स्थानीय अवसर नहुँदा गाउँमा टिक्न सक्ने आधार कमजोर हुँदा युवाहरू रोजगारीका लागि विदेशिनुपरेको गाउँमा रहेका युवाहरू बताउँछन् ।











प्रतिक्रिया