मध्यपूर्व क्षेत्र अहिले फेरि जटिल र संवेदनशील मोडमा पुगेको छ । फेब्रुअरी अन्त्यदेखि अमेरिका र इजरायलले इरानलाई लक्षित गर्दै सैन्य गतिविधि तीव्र बनाएको तथा त्यसको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण थालेको खबरहरूले विश्व राजनीतिलाई गम्भीररूपमा तरंगित बनाएको छ । यसले क्षेत्रीय द्वन्द्व मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई समेत नयाँ संकटतर्फ धकेल्ने संकेत गरेको छ । यस्तो परिस्थितिले विश्व फेरि दुई ध्रुवमा विभाजित हुने जोखिम बढाउँदै लगेको छ, जसले आगामी दिनमा ठूलो युद्धको सम्भावनाप्रति चिन्ता पैदा गरेको छ । मध्यपूर्वको राजनीतिक अस्थिरता, धार्मिक विभाजन, ऊर्जास्रोतको रणनीतिक महत्व र बाह्यशक्तिहरूको हस्तक्षेपले गर्दा साना द्वन्द्वहरूसमेत ठूलो संघर्षमा रूपान्तरण हुने जोखिम रहँदै आएको छ । यदि अहिलेको द्वन्द्व विस्तार हुँदै गयो भने त्यसको प्रभाव केवल मध्यपूर्वमा सीमित रहनेछैन, यसले विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा समेत गहिरो असर पर्ने निश्चित छ ।
विशेष गरी एसियाली मुलुकहरू यस अवस्थाबाट सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ । युद्धको आशंका बढ्दै जाँदा तेलको मूल्य वृद्धि, ढुवानी लागतमा बढोत्तरी र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न हुने खतरा बढ्छ । यसको सीधा असर विश्वबजारमा मूल्यवृद्धिका रूपमा देखिन्छ । अहिले नै विश्वबजारमा देखिएको मूल्यवृद्धिले गरिब तथा विकासोन्मुख मुलुकका नागरिकहरूलाई थप कठिनाइमा पारेको छ । महँगीले आम जनताको दैनिक जीवन झनै कष्टकर बनाउँदै गएको छ । युद्धको अर्को गम्भीर पक्ष मानवीय संकट हो । कुनै पनि युद्धको वास्तविक पीडा सामान्य नागरिकले भोग्नुपर्छ । सैन्यशक्तिको प्रदर्शन, प्रतिशोधात्मक आक्रमण र प्रभुत्वको प्रतिस्पर्धाबीच निर्दोष मानिसहरूको जीवन असुरक्षित बन्ने खतरा बढ्छ । मानिसको बाँच्न पाउने आधारभूत अधिकार युद्धका कारण कुण्ठित हुने अवस्था सिर्जना हुन्छ । अहिले मध्यपूर्वमा देखिएको तनावले यही चिन्तालाई झन् गहिरो बनाएको छ । इतिहासले बारम्बार देखाएको छ कि युद्धले अन्ततः विनाश मात्र निम्त्याउँछ । त्यसैले आजको विश्व फेरि त्यही दिशातर्फ धकेलिनु मानवताका लागि ठूलो दुर्भाग्य हुनेछ ।
यस्तो संवेदनशील अवस्थामा विश्वका शक्तिशाली मुलुकहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले जिम्मेवार भूमिका खेल्नु जरुरी छ । संयुक्त राष्ट्रसंघ, क्षेत्रीय कूटनीतिक संयन्त्र तथा प्रभावशाली राष्ट्रहरूले तनाव कम गर्न सक्रिय पहल गर्नुपर्छ । संवाद, कूटनीति र सहमतिको माध्यमबाट समाधान खोज्नु नै दीर्घकालीन शान्तिको मार्ग हो । सैन्यबल प्रयोगले तात्कालिक प्रतिक्रिया त दिन सक्छ तर दीर्घकालीन स्थायित्व ल्याउन सक्दैन । अर्कोतर्फ, सम्बन्धित पक्षहरूले पनि संयमता अपनाउनु आवश्यक छ । अमेरिका, इजरायल र इरानजस्ता शक्तिशाली राष्ट्रहरूले आफ्नो रणनीतिक निर्णयको प्रभाव केवल आफ्ना सीमामा सीमित हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । ती निर्णयहरूले विश्वका करोडौं मानिसको जीवन र भविष्यलाई प्रभावित पार्न सक्छन् । त्यसैले जिम्मेवार कूटनीतिक पहल, वार्ता र विश्वास निर्माणका उपायहरूलाई प्राथमिकता दिनु आजको आवश्यकता हो ।
यदि यो तनाव नियन्त्रणबाहिर गयो भने त्यसले विश्वलाई ठूलो युद्धतर्फ धकेल्ने जोखिम पनि बढाउन सक्छ । आधुनिक युगमा युद्धको स्वरूप अझ विनाशकारी हुन सक्छ । आजको सैन्य प्रविधि, क्षेप्यास्त्र प्रणाली र सम्भावित आणविक जोखिमले मानव सभ्यतालाई नै संकटमा पार्न सक्छ । त्यसैले विश्वयुद्धको सम्भावना मात्र पनि मानवताको लागि गम्भीर चेतावनी हो । अन्ततः शान्ति र सहअस्तित्व नै विश्वको साझा आवश्यकता हो । कुनै पनि राष्ट्रको प्रभुत्व स्थापनाको आकांक्षाले विश्वलाई अस्थिर बनाउने अधिकार कसैलाई छैन । आजको परिस्थितिले विश्व समुदायलाई समयमै सचेत गराएको छ कि युद्धको बाटो होइन, संवाद र सहकार्यको बाटो रोज्नु नै मानव सभ्यताको हितमा हुनेछ । यदि विश्व समुदायले समयमै पहल गर्न सकेन भने आजको क्षेत्रीय तनाव भोलिको विश्वव्यापी संकटमा रूपान्तरण हुन सक्छ । त्यसैले अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको संयमता, कूटनीतिक पहल र विश्वशान्तिप्रतिको साझा प्रतिबद्धता हो ।











प्रतिक्रिया