घन्टीलाई जिताउन सूर्यको ‘योगदान’

2.91k
Shares

सामन्ती राजाहरु कस्ता हुन्छन्, उनीहरुको चरित्र कस्तो हुन्छ ? यस प्रश्नको जबाफ सोच्दा हाम्रो मनमा सिंहासनमा बसेको क्रूर अनुहार प्रकट हुन्छ– कसैको कुरा नसुन्ने, आफूखुशी निर्णय लिने, सनकका भरमा फैसला गर्ने, सिद्धान्त र अनुशासन नबुझ्ने, आचरणको कुरा सिकाउन आउने कुनै पनि व्यक्तिलाई कठोर सजाय दिने । अधिनायकवादी चरित्र नै सामन्ती राजाको मूल पहिचान हो । दुर्भाग्य, यही चरित्रमा देखिए फाल्गुण २१ को निर्वाचनमा मिल्काइएका राजाहरु ।

राजाको स्वरुप ग्रहण गरेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि । पहिलाका राजाले जस्तै यिनले पनि ‘हुकुमप्रमाङ्गी’ गरेर न्यायाधीशदेखि राजदूतसम्म नियुक्त गर्थे । राजतन्त्रमा राजाले चाहेको कुरा पूरा हुन्थ्यो भने संघीय लोकतान्त्रिक गणतन्त्रमा दलका अध्यक्षको इशारामा राज्य चल्थ्यो । फरक यत्ति भयो, राजतन्त्रमा राजा हटाउन सशस्त्र विद्रोह गर्नुप¥यो गणतन्त्रमा भोट हालेरै राजाहरुलाई फालियो ।

राजाको स्वरुप ग्रहण गरेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि । पहिलाका राजाले जस्तै यिनले पनि ‘हुकुमप्रमाङ्गी’ गरेर न्यायाधीशदेखि राजदूतसम्म नियुक्त गर्थे । राजतन्त्रमा राजाले चाहेको कुरा पूरा हुन्थ्यो भने संघीय लोकतान्त्रिक गणतन्त्रमा दलका अध्यक्षको इशारामा राज्य चल्थ्यो । फरक यत्ति भयो, राजतन्त्रमा राजा हटाउन सशस्त्र विद्रोह गर्नुप¥यो गणतन्त्रमा भोट हालेरै राजाहरुलाई फालियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणतन्त्रका अधिनायकवादी राजाहरुको सिंहासनको खुट्टा भाँचिदियो । रास्वपाले यसपटकको निर्वाचनमा एक सिट पनि जित्दैन भन्ने राजा केपी ओलीलाई पराजित गरिदियो । अर्का राजा पुष्पकमल दाहाल प्रचण्डलाई महाभारतको युद्ध हेर्नका लागि धड फालिएर पनि शिर जीवित राखिएका पात्र बारबरिक बनाइदिएको छ । निर्वाचनको युद्ध मैदानमै नआएका राजा शेरबहादुर देउवाको दरबार आन्तरिक कलहले पहिला नै धराशयी थियो, त्यसबाट सुधारिएका पात्र गगन थापा लार्भाबाट पुतली बनेर भुरुर्र उडेका पनि थिए, सम्भावनाको किरण छरेका पनि थिए, तर घन्टी यति चर्को आवाजले बज्यो कि महाभारतको युद्धमा हनुमानको गर्जनजस्तै साबित भयो । गणतन्त्रका राजा र त्यसका झोलेहरु सब धराशयी भए ।

घन्टीको यस परिमाणको जित रास्वपाका नेताकै परिकल्पनामा पनि थिएन कि ! रास्वपाका कतिपय उम्मेदवारले उम्मेदवार दिइराखौं, जितिए ठिक्कै छ भन्ने मानसिकताका साथ प्रतिस्पर्धामा भाग लिएको देखिन्छ । तर जनताले मतदानको आँधी नै ल्याइदिए । यसरी भोट आउनुको पहिलो कारण हो पुराना दलप्रतिको वितृष्णा । ठूला–ठूला भाषण गर्ने तर व्यवहारमा जनतालाई सुविधा नदिने जो त्रुटि पुराना दलबाट भयो, विगत तीन दशकमा पनि नचेत्ने उनीहरुको जो प्रवृत्ति रह्यो, त्यसले मतदातालाई दिक्क बनाएको थियो । विगत पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको सदस्य बनाएर काठमाडौंका जनताले नानीमैया दाहाललाई पठाएका थिए । जोसँग पनि चरचरी बाझ्ने, बोली नै पिच्छे अश्लील शब्द प्रयोग गर्ने, सभ्य व्यवहारलाई वास्ता नगर्ने तर खूब बोल्नुपर्ने स्वभावकी दाहाललाई पञ्चायती व्यवस्थाका विरोधीहरुले ‘पञ्चायती व्यवस्था यस्तै व्यक्ति सुहाउने खालको हो’ भन्ने सन्देश दिन उठाएका थिए । आक्रोशको मत कति मजबुत हुँदो रहेछ, दाहालको उदाहरण पर्याप्त छ । तर रास्वपाका उम्मेदवारहरु शिष्ट, सभ्य, विद्वान् र कर्तव्यपरायण पनि देखिन्छन् । न त संघीय लोकतान्त्रिक व्यवस्थाको प्रतिनिधिसभा नै राष्ट्रिय पञ्चायत हो । त्यसैले प्रतिशोधको मत अझ घनीभूत भएर बर्सियो ।

प्रतिशोधको ज्वाला दन्काउन सर्वाधिक योगदान दिने पात्र हुन् केपी ओली । नागरिकका कलिला छोराछोरी मारिएका छन्, तर उनी संसद् भवनको पर्खाल भत्काउन आउनेलाई गोली नहानेर पूजा गरी राख्नु त ? भन्छन् । विदेश पलायन हुने युवाप्रति उनी कत्ति हीनताबोध गर्दैनन्, नेपालमा काम नभएको हो र ? आफ्नै रहरले गएका विदेश, भन्छन् र संवेदनाहीन यी पात्रले आम मतदातामा यति बढी आक्रोश सिर्जना गरे कि वैकल्पिक शक्ति खोज्न बाध्य बनाए । साथमा राजनीतिक उम्मेदवारीका ‘गुडलक’ पात्र बालेन नै रास्वपामा आए । उनी नआएका भए रास्वपामा यो जनलहर देखिने थिएन । भ्रष्टाचार नगर्ने साधु बालेन सबैका प्रिय थिए । तराई मूलका व्यक्ति काठमाडौंको नेवार वस्तीका बीच जन्मी–हुर्की गरेका उनी साँच्चिकै नेपालका साझा उम्मेदवार साबित भए । बालेनको उमेरभन्दा लामो अवधि राजनीतिमा लागेका चतुर खेलाडी ओलीलाई करिब ५० हजार मतको फरकले हराउन सफल भए ।

तर, नेपाली जनताका लागि नयाँ दल रास्वपाको यस परिमाणको विजय पूर्ण खुशीको कुरा भने होइन । आंशिक खुशीको कुरा मात्र हो । किनभने आज खलनायकसरह ढलेका राजाहरु सबै नै कुनै बेला सशक्त नायक थिए, आजका बालेन शाह र रवि लामिछानेजस्तै । अरुलाई हे¥यौं पटक–पटक, माओवादीलाई हेरौं यसपटक भन्दै जनताले प्रचण्डको दल तत्कालीन नेकपा माओवादीलाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टी बनाए । प्रचण्डको सरकार पनि देखियो । प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी) ले सशस्त्र युद्धमार्फत दलित, महिला, आदिवासी–जनजाति, मधेसीलगायतका समुदायका मुद्दाहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको पनि हो । १० बर्से सशस्त्र द्वन्द्वपछि उनले २०६३ मा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेर संसदीय लोकतन्त्रलाई स्वीकार गरेकोमा जनताबाट स्याबासी पनि पाएका हुन् । संविधानसभाबाट संविधान निर्माण गर्न, राजतन्त्र अन्त्य गर्न, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उनको नेतृत्वदायी भूमिका रह्यो । यी ऐतिहासिक सफलताहरूले उनलाई नेपाली राजनीतिमा एक ‘परिवर्तनकारी नेता’ को रूपमा स्थापित ग¥यो । तर, सिद्धान्त नमिल्ने नेपाली कांग्रेससँग मिलेर पनि सरकार बनाउने उनको व्यवहारले उनलाई समेत सत्ताकै लागि राजनीति गर्ने पात्रका रुपमा ओराल्यो । १० बर्से सशस्त्र द्वन्द्वकालमा उनले बाँडेका सुन्दर सपनाहरु साकार भएको जनताले देखेनन् । उनी र उनको दलमाथि रहेको जनताको विश्वास स्खलित भयो ।
पुष्पकमल दाहाल प्रचण्डभन्दा अघि नेपाली कांग्रेसलाई नेपाली जनताले एकमना सरकार बनाउने बहुमत २०४८ र २०५६ सालमा दिएका थिए । पञ्चायती व्यवस्था ढलेपछि आएको संसदीय व्यवस्थाको पहिलो सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तर जनताको इच्छाविपरीत कोइरालाले आफ्नो र आफ्ना ३६से र ७४रे नेताहरुको कमजोरीको बोझ जनताको टाउकोमा बजारे, संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराए । त्यसपछि पार्टी नै फुट्यो । जनताले पहिलाजस्तो विश्वास गर्न सकेनन् । आजसम्म गर्न सकेका छैनन् । गिरिजापछि गिरिजाकै कार्यकालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बनाउने भनेर २०५६ सालको आम निर्वाचनमा जनताले पुनः सुविधाजनक बहुमत दिएका थिए तर माओवादी जनयुद्धको राप र तापमा त्यो सरकारलाई हटाएर बनेको सरकारले पनि स्थिरता दिन सकेन र राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद् विघटन गर्न लगाएर संसद्विहीन सरकार बनाए ।

त्यसपछि भने नेकालाई सुविधाजनक बहुमत कहिल्यै मिलेन । त्यसपछि नेपाली कांग्रेस र नेकपा माले÷एमाले, पूर्वपञ्चहरु– सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई शिरमा राख्दै सरकार चलाउँदै गर्न थाले । नेपाली राजनीतिलाई सिद्धान्तबाट च्यूत गर्ने कार्यको शुरुवात गिरिजाप्रसादबाट भएको थियो, त्यसमा प्रतिस्पर्धा ग¥यो नेकपा माले÷एमालेले । पछिल्लोपटक राजनीतिक दललाई सिद्धान्त, धर्म, संस्कार र मूल्य–मान्यताबाट पतन गराउने काममा सबैलाई उछिने एमाले अध्यक्ष केपी शर्मा ओलीले । आफू प्रधानमन्त्री बनिरहन पाइन्छ कि भनेर उनले असंवैधानिक कदम चाल्दै दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरे । सरकार जोगाउन पूर्वपञ्च र कुख्यात गुण्डालाई पनि सूर्य चिह्नबाट चुनाव लडाए । यसै वर्ष गतभदौमा भएको जेनजी आन्दोलनमा निर्दोष बालबालिकाको हत्या गर्दा उनी प्रधानमन्त्री थिए । तर त्यस बरबर हत्याको जिम्मेवारी लिनु त परको कुरा, सहानूभूतिसम्म प्रकट गरेनन् । आफूलाई लोकतन्त्रको बाहक बताउने उनको व्यवहार पार्टीभित्र एक अधिनायकवादी शासकको जस्तो देखिन्थ्यो । पार्टीलाई जतिसुकै योगदान दिएको नेता कार्यकर्ता किन नहोस्, उनको कामको सानो विरोध गरेपछि त्यसको करियर सकिन्थ्यो । यस्ता पनि संघीय लोकतान्त्रिक गणतन्त्रका सरकार प्रमुख ! देशको दुर्भाग्य !

एमाले अध्यक्ष ओलीको पछिल्लो अधिनायकवादी चरित्र देखिनुअघि जनताले उनलाई ठूलो विश्वास गरेका थिए । नेपालको संविधान २०७२ पछि नेपाली जनताले एमालेलाई प्रत्यक्षतर्फ १२१ सिट दिए, नेकपा माओवादीको ५३ समेत र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालको समेत सिट मिलाएर दुई तिहाइ बहुमतको सरकार बनाउने अवसर पनि उनलाई जनताले नै दिलाएका थिए । एमाले र माओवादी पार्टी एकीकृत हुँदा देशभरका वामपन्थीहरु प्रसन्न भएका पनि हुन् । तर सहमतिअनुसार ओलीले प्रचण्डलाई सत्तामा साझेदारी नदिएका कारण, रामबहादुर बादलजस्ता प्रचण्डका विश्वास पात्रलाई अनेक दबाबमा पारेर आफूतिर तान्ने खेल खेल्दै उनी कुर्सीमा टाँसिइरहे । जनताको विश्वास गुमाइरहे । उनी राजा त बने तर नग्न भएको पत्तै पाएनन् । बयासीको निर्वाचनको मुखमा उनी भन्दै थिए, रास्वपाले एक सिट पनि जित्दैन । उनको विश्लेषण कति कमजोर थियो, उनी कुन दुनियामा थिए ? यसबाट प्रस्ट हुन्छ ।
तर, सामन्ती राजतन्त्र ढाल्न र दलविहीन पञ्चायती व्यवस्था फाल्न योगदान दिएका शक्तिहरुलाई यसरी मिल्काउनुपरेकोमा नेपाली जनता खुशी छैनन् । २०१५ सालमा नेपाली कांग्रेसलाई पहिलोपटक दुई तिहाइ बहुमत दिएर जनताले विश्वेश्वरप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए । तर उनको सरकारलाई राजा महेन्द्रले १८ महिना १८ दिनमा खारेज गरे । स्थिर सरकारको आधार प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पनि होइन÷रहेन, गिरिजाप्रसादको एकमना सरकार पनि होइन रहेछ, केपी ओलीको एकीकृत सरकार पनि होइन रहेछ । यो तथ्य प्रमाणित भइसकेको छ । त्यसैले बालेन र रविले अब हामी स्थायी सरकार दिन्छौं भनेर दाबी गरिरहँदा नेपालको इतिहास स्मरण गर्नु अनिवार्य हुन्छ ।

बीपीलाई बाहिरबाट हेर्दा राजा महन्द्रले अपदस्थ गरेको देखिए पनि भित्रभित्रै उनकै निकटवर्ती विश्वबन्धु थापा, तुल्सी गिरी, परशुनारायण चौधरी आदिले कमजोर बनाएका थिए । अहिले त ठेक्कापट्टा पाउन, राजदूत खान, प्रशासक बन्न, जनप्रतिनिधिको टिकट किन्न धोक्राभरि पैसा लिएर गल्लावालहरु सरकार सञ्चालककहाँ आउँछन् । यस्तो द्रव्यमा रवि, बालेन मात्र होइन, कुनै पनि रास्वपा सांसद, नेताहरु फस्नुहुन्न । विगत तीन दशकमा भएका राजनीतिक भ्रष्टाचार र अनियमितताका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । पछिल्लो जेनजी आन्दोलनमा सिंहदरबार, अदालत र संसद् भवन जलाउनेलाई कारबाही गर्नुपर्छ । इमानदार हुनु मात्र पर्याप्त छैन, इमानदार देखिनु पनि पर्छ । रवि र बालेनलाई अलग्याउन ठूला प्रयासहरु हुन्छन्, यसबाट बच्नुपर्छ । अन्यथा फेरि पनि राजनीतिक स्थायित्व सम्भव छैन ।