राजनीति कि सत्तालिप्सा

752
Shares

यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको तापक्रम यतिखेर बढिराखेको छ । राजनीतिक प्रचारप्रसार र प्रतिस्पर्धीहरूको अभिव्यक्ति सुन्दा गणितीय सिद्धान्त नै असफल भइसकेको प्रतीत हुन्छ । किनकि यहाँ सबै प्रतिस्पर्धीहरूले अत्यधिक मत ल्याएर विजयी हुने दाबी गरिराखेका छन् । जनताले विजयी बनाएर पठाउने हुन् वा होइनन् ? यसको प्रतीक्षा नै नगरी दलहरुले आ–आफ्ना प्रधानमन्त्रीका उम्मेदवार पनि तोकिसकेका छन् ।

राजनीति भनेको बल, प्रभाव र अधिकारको खेल हो भनिन्छ । तर यो राजनीतिक खेल अस्वस्थ हुन्छ । विकासोन्मुख देशहरुमा जहाँ लोकतन्त्रको पर्याप्त सुदृढीकरण हुन सकेको छैन, त्यस्ता देशमा यही सूत्र प्रयोग गरेर निर्वाचनमा विजयी हुने सम्भावना प्रबल देखिन्छ । राजनीति देशको मूल नीति हुने भएकाले यसले लोकतन्त्रको सुदृढीकरण र देशको समृद्धिका लागि मार्गदर्शन प्रदान गर्दछ । यसले समाजलाई परिचालित गराउने नियम वा खेलका नियमहरूको अभ्यास गर्दछ ।

राजनीतिले सधैँ राजनेताको आवश्यकता औंल्याउँछ । तर जब राजनीति सत्तालिप्सामा मात्र केन्द्रित हुन पुग्छ, यो अत्यन्त सानो वृत्तमा केन्द्रित हुन थाल्छ । राजनेताको अभावमा राजनीतिले उपयुक्त मार्गदर्शन गर्न सक्दैन । राजनेताहरूमा दूरदृष्टि रहन्छ । नैतिकवान् हुन्छन् । सच्चरित्रता कायम गर्न सक्छन् । नेताले सधैँ जनतालाई केन्द्रविन्दुमा राख्छ । राजनीतिले अधिकार, शक्ति र निर्णयप्रति बढी झुकाव राख्छ । राजनीति नगरीकन नेता बन्न सकिन्छ ।

असल नेताको अभावमा पनि राजनीति अस्तित्वमा आइराखेको हुन्छ । राजनीतिले आउने चुनावलाई महत्व दिन्छ तर राजनेताले आउने पुस्ताको भविष्यको चिन्ता गर्छ । देशमा राजनीति मात्र छ, राजनीतिज्ञहरू मात्र छन् । नेता र राजनेता छैनन् भने त्यस्तो देशले अग्रगमनको दिशा पक्डन सक्दैन ।

विश्वमा सत्तालिप्सामा मात्र केन्द्रित रहेर राजनीति गर्नेहरूको उत्तरार्ध अत्यन्त दर्दनाक देखिएको छ । उनीहरुले केही स्वार्थलोलुप झुन्डहरूलाई फाइदा त दिलाउन सक्छन् तर न आफ्नो इतिहास रच्न सक्छन्, न देशलाई नै समुन्नत बनाउन प्रयास गर्छन् । आफ्नो दल र दलभित्रको आफ्नै अनुकरण गर्ने सानो समूहमा यस्ता राजनीतिज्ञहरु रमाउँदै जान्छन् । आफ्नो राजनीतिक भविष्य पनि जोखिममा राख्छन् । देशलाई पनि बर्बादीको दिशामा पु¥याउँछन् । विभिन्न देशका शासकहरूका दर्दनाक अवस्थाबाट नै स्पष्ट हुन सकिन्छ ।

नेपालको सन्दर्भमा देशको राजनीति कसरी अघि बढिराखेको छ ? के यही प्रकृतिको राजनीतिले देशलाई सही दिशा प्रदान गर्न सक्छ ? देशभित्र असल नेतृत्वको विकास किन हुन सकेको छैन ? आसन्न निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिहरूले त्यसको अवस्थामा र व्यवस्थामा उल्लेखनीय सुधार गर्न सक्छन् वा सक्दैनन् ? यही विषयमा यो लेखलाई केन्द्रित गराउने प्रयास गरिएको छ ।

केही राजनेता र आलोचित राजनीतिज्ञहरू :
विश्वका शासकहरूको इतिहास अध्ययन गर्दा विचित्रका शासकहरुसमेत भेटिएका छन् । उनीहरूको शासन सञ्चालन गर्ने तरिकाका आधारमा प्रशंसित र इतिहासमा नाम लेखाई अमर बन्नेहरू पनि छन् । यो वर्गका राजनेताहरूको बारेमा व्याख्या गर्नुपर्दा नेल्सन मण्डेलाको नाम लिनुपर्दछ । उनले रङ्गभेदविरुद्ध लामो र कठोर संघर्ष गर्ने क्रममा २७ वर्षसम्म कारागारमा बन्दी जीवन बिताउनुपरेको थियो । उनी अहिंसा, मेलमिलाप र समानतामा प्रतीक थिए । दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति बने, देशलाई गृहयुद्ध हुनबाट जोगाए ।

शान्ति र मानवअधिकारको लागि उनको योगदान विश्वमै चर्चाको विषय बन्यो । ९० प्रतिशत अश्वेतहरूमाथि १० प्रतिशत स्वेतहरुले गरेको ज्यादती र अन्यायका विरुद्ध अश्वेत जातिहरूको अधिकार सुरक्षाका लागि संघर्ष गरेका मण्डेला जब सफल भए, ९० प्रतिशत काला जातिहरुले १० प्रतिशत गोरा जातिहरूलाई बदला लिने सम्भावना प्रबल बन्यो । यसले ठूलो रक्तपात देशभित्र हुने सम्भावना देखिँदै गयो । यो परिस्थितिलाई नजिकबाट अध्ययन गरेका मण्डेलाले आफू राष्ट्रपति हुनेबित्तिकै एकजना श्वेत जातिका र एकजना अश्वेत जातिका लाई उपराष्ट्रपति बनाए ।

यो निर्णयपश्चात् ९० प्रतिशत अश्वेतहरू स्तब्ध हुन पुगे । उनीहरूको विद्रोहले शान्तिको मार्ग अवलम्बन गर्न पुग्यो । परिणामस्वरूप देशलाई बचाउन नेल्सन मण्डेला सफल भए ।विश्वमै चर्चित अर्का राजनेता हुन् महात्मा गान्धी । अहिंसात्मक आन्दोलनमार्फत भारतलाई स्वतन्त्र बनाउन सफल बने । हिंसाविना राजनीतिक परिवर्तन सम्भव छ भन्ने पाठ विश्वलाई पढाए । उनको दर्शनको अनुशरण मार्टिन लुथर्किङ जुनियर तथा नेल्सन मण्डेलाले पनि गर्न पुगे ।

संयुक्त राज्य अमेरिकालाई गृहयुद्धबाट बचाउन त्यस देशका १६औं राष्ट्रपति अब्राहम लिंकनले अद्वितीय भूमिका निर्वाह गरे । लोकतन्त्र, समानता र स्वतन्त्रताका मूल्य–मान्यताहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सफल बने । देशलाई एकताबद्ध बनाइराख्न सफल भए । स्रोत–साधन खासै केही नभएको सानो बन्दरगाह सिङ्गापुरलाई एक सुन्दर विश्वकै समृद्ध र सुव्यवस्थित राष्ट्र बनाए । कडा अनुशासन, भ्रष्टाचार नियन्त्रण, दीर्घकालीन नीतिहरूको अवलम्बनले उनको पहिचान बनाएको थियो ।

महाथिर मोहम्मद एसियाकै अर्का राजनेता हुन् । मलेसियाको औद्योगीकरण र आर्थिक समृद्धि एवं आधुनिकीकरणमाका प्रणेताका रुपमा उनको स्मरण गरिन्छ । ९० वर्षको उमेरमा उनी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । यी सबै नेताहरुले विश्वको राजनीतिक इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भएका थिए ।

विशेष गरी तानाशाही शासन सञ्चालन गर्ने गरी आएका शासकहरूले राष्ट्रलाई तहसनहस बनाएका छन् । एडल्ट हिटलरले उग्र राष्ट्रवाद, नश्लीय घृणा र तानाशाही नीतिकै कारण दोस्रो विश्वयुद्धको सामना गर्नुपर्ने परिस्थिति बन्यो । लाखौं निर्दोष मानिसको यिनले हत्या गरे । जर्मनीको भौतिक, आर्थिक सम्पूर्ण विनाशका कारक बनेका थिए । पोल्पोट अर्का तानाशाह हुन् । उनले शुद्ध कम्युनिस्ट समाज स्थापना गराउने दृढताका कारण देशलाई नै मृत्यु च्याम्बरमा परिणत गराएका थिए । देशको २५ प्रतिशत नागरिकको यिनले हत्या गरे । शिक्षा, स्वास्थ्य, संस्कृति सबै क्षेत्र तहसनहस बनाए ।

देशलाई अधोगतितर्फ अथवा पश्चगमनतर्फ धकेल्ने राजनीतिज्ञ एवं शासकहरू विभिन्न देशमा उल्लेख्य संख्यामा पाइएका छन् । उनीहरूको उत्तरार्ध पनि अत्यन्त कठोर र दर्दनाक बनेको अवस्था पाइन्छ । राजनेताहरूको जीवनशैली अत्यन्त सहज र सम्पूर्ण नागरिकको बीचमा स्वीकार्यता प्राप्त हुने भएकाले नै उनीहरु विश्वको राजनीतिक रङ्गमञ्चमा सधैँ स्मरणयोग्य पात्रहरु बन्दै गएका छन् ।

तर जसले पश्चगमनतर्फ राष्ट्रलाई धकेल्ने परिस्थिति निर्माण गरे, उनीहरूको उत्तरार्ध कठोर बनेका उदाहरण थुप्रै छन् । नेपालमा पनि यस प्रकृतिका शासकहरू समय–समयमा देखिँदै आएका छन् । तर दुर्भाग्य नै भन्नुपर्छ, नेपालको लामो शासन प्रक्रियामा राजनेताहरूको संख्या अत्यन्त नगन्य छ । अल्प अवधि मात्र शासन गर्न पाएका कारणले उनीहरूको उपलब्धिलाई उल्लेख्य रुपमा विश्लेषण गर्न सक्ने अवस्था देखिन्न । तर नेपालमा राजनीतिक दल, व्यक्ति विशेष र समूहलाई मात्र सम्पूर्ण राष्ट्र सोचेर अघि बढ्ने राजनीतिज्ञहरूको सूची भने निकै लामो छ । यो नै राष्ट्रको लागि सबैभन्दा ठूलो दुर्भाग्य बनेको छ ।

नेपालको राजनीतिक परिस्थिति :
नेपालमा राजनेताहरूको खडेरी परेको छ । देशभित्र राजनीतिज्ञहरू र नेता मात्र रहेका छन् । नेता जब सर्वस्वीकार्य बन्दै जान्छन्, राजनेतामा परिणत हुन्छन् । नेपालमा यस्ता राजनीति गर्ने व्यक्तित्वहरूको लामो समयदेखि अभाव छ । सीमित झुन्डमा रमाउने, आत्मरतिमा मुग्ध हुने, राष्ट्र, राष्ट्रियता, लोकतन्त्रलाई सधैँ छायामा पार्ने राजनीतिक दलहरुले मात्र राजनीतिमा क्रियाशीलता दिइराखेका छन् ।

व्यक्ति विशेष, आफ्नो समूह अथवा सानो कोटरीमा रमाउने प्रवृत्ति सबै राजनीति गर्नेहरूमा विगत ३०–३५ वर्षदेखि देखिँदै आएको छ । आफू र आफ्नाहरूको पक्षपोषणमा नेपालका राजनीतिज्ञहरूको अर्जुनदृष्टि रहँदै आएको छ । सबै प्रकारका विकृति र विसंगतिको प्रमुख स्रोत नै नेपालका राजनीतिकर्मीहरु बनेका छन् । यस प्रकारको कुशासन देशले सामना गरिराखेको समय धेरै लामो भइसकेको छ । यसबाट नेपाली जनता अत्यन्त आक्रोशित बनेका छन्, क्षुब्ध भएका छन् ।

लामो समय शासनसत्तामा रहनेहरू नेपाली मतदाताहरूको आँखामा कसिँगर बन्दै गएका छन् । यसले गर्दा यी दलहरुमा रहेका असल राजनीतिज्ञहरूसमेत मर्कामा परेको यथार्थता हामीसामु छ । यही अवस्थामा जेनजी आन्दोलनको परिणाम नेपालको आम निर्वाचन दुई वर्षअघि हुने भएको छ ।

व्यक्ति ओलीलाई विस्थापित सुशीला कार्कीले गरेकी छिन् । राष्ट्रले सामना गरी आएका जल्दाबल्दा समस्याहरू कुशासन, भ्रष्टाचार, राजनीतिक अस्थिरताजस्ता सवालमा सम्बोधन गर्ने सामान्य चिन्तनसम्म पनि नेपालका राजनीतिज्ञहरूमा देखिएको छैन । यही अवस्थामा यही फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा सबै दलले प्रतिस्पर्धा गर्ने तयारी भइराखेको छ ।

आसन्न निर्वाचनमा प्रतिस्पर्धा गरिराखेका राजनीतिक दलहरू र त्यसभित्रका पात्रहरूको स्मरण गर्दा धेरै आशा गर्ने अवस्थामा मतदाताहरु देखिँदैनन् । तर लामो अवधिको कुशासनको जवाफदेहिता बहन गर्ने राजनीतिक दलहरूप्रति ठूलो वितृष्णा भएकै कारण ती दलहरूको विरोध गरेकै आधारमा सत्तामा पुग्ने उद्देश्यका साथ केही राजनीतिक दल निर्वाचनमा सहभागी बनेका छन् ।

पुराना दलहरुले केही गरेनन्, यिनीहरुले खराब काम मात्रै गरे, कुशासन भित्र्याए आदि सबै प्रकारका आलोचना यी नयाँ दलहरूले गरिराखेका छन् । तर उनीहरुले अब शासनसत्तामा पुग्न पाएमा के गर्ने हुन् त ? त्यसको स्पष्ट खाका प्रस्तुत गर्न सकेका छैनन् । मतदाताले पनि यसरी नयाँ दलहरुलाई प्रश्न सोधेको पनि विरलै देखिन्छ ।

अब निर्वाचनमा कुन दलको पल्ला भारी हुने हो ? लेखाजोखा राजनीतिप्रति चासो राख्नेहरूका बीच हुन थालेको छ । निर्वाचनमा कुन दलले विजय हासिल गर्ने हो ? भन्ने सन्दर्भमा मतदाताहरूले लोकतन्त्रमा मतदान गर्ने केही आधारहरू हुने गर्दछन् । त्यसैका आधारमा कुन दलले अत्यधिक सफलता हासिल गर्ला ? लेखाजोखा र विश्लेषण गर्नुपर्ने हुन्छ । सर्वप्रथम बहुदलीय शासन प्रणालीमा कुन राजनीतिक दलले कस्तो सिद्धान्त अवलम्बन गरिराखेको छ ?

त्यसबाट सचेत मतदाताले आफ्नो मत कुन दललाई दिने ? निर्णय लिन पुग्छन् । अल्पमतले राखेका धारणा, विचारहरू, कार्यक्रमहरू यदि उत्पादक देखिन्छन् भने बहुमतले स्वीकार गर्नुपर्ने धारणा आधुनिक लोकतन्त्रले राख्छ । यस अर्थमा सन्तुलित विकासका कुराहरु र समावेशीकरणका नीतिहरूको अवलम्बन गर्ने जनमत विश्वभर बनेको छ । पिछडिएको वर्ग, क्षेत्र, धर्म, जातजातिलाई समेत निर्वाचनमा सहभागी गर्ने दलहरूले कसरी समेट्न सक्ने रहेछन् ? ती दलहरूमा भएका उम्मेदवारहरूको सम्बन्ध र सौहार्दता त्यस क्षेत्रका मतदातासँग कस्तो रहेको छ ?

उनीहरूको विश्वसनीयतामा शंका गर्ने ठाउँ छ वा छैन ? यसलाई पनि मतदानको आधार बनाइन्छ । व्यक्तिगत सम्बन्धका आधारमा नजिकका नातागोता, इष्टमित्रहरूले सबै विषयलाई समझदारी गर्दै मतदान गर्ने गरेको पनि देखिन्छ । निर्वाचित भएर जाने प्रतिनिधिले आफ्नो र आफ्नो क्षेत्रको वर्गको संरक्षण एवं सुरक्षा गर्ने प्रत्याभूतिको विश्वसनीयताको पक्ष पनि अर्को आधार बन्छ ।

विकासशील देशहरूमा केही मतदाताले आफ्ना व्यक्तिगत स्वार्थहरूका विषयमा पनि मतको सौदाबाजी गर्न पुग्छन् । राजनीतिक दलहरुले जारी गर्ने घोषणापत्रले पनि ती दलहरुले आफ्नो पहिचान जनतासमक्ष दिएका हुन्छन् । प्रतिस्पर्धी उम्मेदवारको सच्चरित्रता, इमानदारिता, लगनशीलता, प्रतिबद्धता र विश्वसनीयता पनि मतदान गर्ने आधार बन्दछ । यिनै आधारहरुमा मतदाताले आफ्नो मत कुन दललाई वा कुन उम्मेदवारलाई दिने भन्ने निर्णय गर्छन् ।

तर आधुनिक समयमा सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले पनि जनमत तयार गर्न ठूलो योगदान गरिआएको पाइन्छ । सामाजिक सञ्जालहरूमा सम्प्रेषित सूचनाको आधारमा मतदाताले सहजै आफ्नो धारणा बनाउने गरी आएको स्थिति पनि देखिएको छ । यिनै आधारहरूलाई दृष्टिगत गर्दा आसन्न निर्वाचनमा कुन राजनीतिक दल प्रभावी हुने हो ? मूल्याङ्कन गर्न कठिन छ ।

बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरू नै सत्तामा पुग्ने हुन् । उनीहरुको सिद्धान्त र घोषणापत्र नै प्रमुख आधार मतदाताहरुलाई बन्नुपर्ने हो । तर नेपालको अवस्था विचित्र छ । विपरीत सिद्धान्त अवलम्बन गरेका एक–अर्काका ठूला प्रतिद्वन्द्वीका रूपमा सिद्धान्त र व्यवहारमा प्रकट भएका राजनीतिक दलहरूले निर्वाचनअघि नै गर्ने गठबन्धनका कारण नेपालको बहुदलीय शासन प्रणालीले नेपाली मतदाताहरूलाई अत्यन्त दुविधाजनक मनस्थितिमा पारेका छन् । कुन दलको सिद्धान्त के हो ? आदर्श के हो ? यो नै प्रश्नवाचक बनेको स्थिति छ ।

भ्रष्टाचारले संस्थागत स्वरूप ग्रहण गरेको वर्तमान समयमा यसबाट विमुख राजनीतिक दल वर्तमान अवस्थामा पहिचान गर्न कठिन छ । अपवादका रुपमा हरेक दलमा इमानदार, कर्मठ कार्यकर्ताहरु पाइन्छन् तर उनीहरूको अस्तित्व नै बिस्तारै छायामा पर्दै गएको छ । स्पष्टरूपमा भन्नुपर्दा, लामो समयदेखि नेपालको राजनीति माफिया, तस्कर र बिचौलियाको पक्कडमा पुगेको छ । यसबाट मतदाताहरू निराश बनेका छन् ।

निष्कर्ष :
वैकल्पिक शक्तिका रुपमा नेपालको राजनीतिमा उदयमान भएका केही दलहरू छन् । उनीहरूका एजेन्डा, सिद्धान्त, आदर्श भनेको पुराना दलहरूको विरोध गर्नु मात्र देखिएको छ । यस्ता दलहरूका शीर्षस्थहरू नै विवादित बनेका छन् । तर उनीहरूका विवादित मुद्दाहरु केही मतदाताहरू सुन्नसमेत रुचाउँदैनन् ।

किनकि उनीहरूले तुलना गर्ने गर्दछन् । पुराना दलहरूका नेताहरु यी नयाँ शक्तिका रुपमा उदाएका नेताहरूको तुलनामा बढी भ्रष्ट छन् । व्यक्तिगत चरित्रका हिसाबले पनि नयाँ शक्तिहरू जतिसुकै बदनाम भए पनि पुराना राजनीतिक दलहरूकै कुकर्मका कारण उनीहरुमध्ये केहीले वैकल्पिक शक्तिलाई नै एकपटक हेर्ने निर्णय गर्न थालेका छन् । सचेत मतदाताहरुले राष्ट्रिय चिन्तन, राजनीतिको आन्तरिक परिस्थिति र राजनीति, देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको विषय आदिमा कसरी देश सुरक्षित हुन सक्छ र अघि बढ्न सक्छ ? भन्ने विश्लेषण गरिराखेका छन् ।

विश्वको राजनीतिक परिवर्तनको इतिहासका पानाहरू पल्टाउँदा त्यहाँ आएका नयाँ शक्तिहरू कति सफल र असफल भए ? के–कस्ता विकृति र विसंगतिहरु आमन्त्रण गरे ? के–कस्ता सुधारहरु गर्न सके ? त्यसको विश्लेषण गरेर मात्र उपयुक्त पात्रलाई मतदान गर्ने निर्णय गर्दै छन् ।

राजनीतिक बजारको विश्लेषण गर्दा कुनै पनि राजनीतिक दलले आरामदायी बहुमत प्राप्त गर्ने अवस्था निरपेक्ष रूपमा देखिँदैन । यसअघिको संसद्भन्दा पनि अबको संसद् अत्यन्त कमजोर बन्ने निश्चित छ । यसबाट देशमा राजनीतिक अस्थिरता अझै बढ्नेछ । देशका जल्दाबल्दा समस्याहरुको समाधानका लागि संविधान संशोधन गर्नुपर्ने अनिवार्यता छ । वर्तमान संविधानका प्रावधानअनुसार संविधान संशोधन गर्नका लागि दुई तिहाइ बहुमत जरुरी हुन्छ ।

यो सामथ्र्य अब आउने संसद्मा हुनेछैन । राष्ट्रिय चिन्तन गर्दै सबै राजनीतिक दलहरू एकै स्थानमा उभिँदा मात्र देश अग्रगमनको अवस्थामा जाने गरी संविधान संशोधन हुन सक्छ । तर यो राजनीतिक संस्कार नेपालको राजनीतिले थोरै पनि अङ्गीकार गरेको छैन । यस अर्थमा अब नेपालको राजनीति अत्यन्त अस्तव्यस्त र कमजोर हुनेछ ।

यो कमजोरीको परिणति सहज हुँदैन । फेरि पनि देश आन्दोलित बन्न सक्छ । कमजोर राजनीति हुँदा विदेशी शक्तिले चलखेल पनि गर्न सक्छन् । यो खतराबाट नेपालको राजनीतिलाई कसरी बचाउन सकिन्छ ? यही नै आजको आवश्यकता हो । राष्ट्रलाई माया गर्ने मतदाताहरुले यही विषयलाई मनन गरेर आसन्न निर्वाचनमा मतदान गर्नुपर्ने अपरिहार्य आवश्यकता बनेको छ ।