लमजुङ र नारी र पुरुष समान हुन् भन्ने नारा हामीले धेरै पटक सुनेका छौं । विद्यालयका पाठ्यपुस्तकदेखि सार्वजनिक कार्यक्रममा समेत यो वाक्य दोहोरिन्छ । तर प्रश्न उठ्छ, खै त व्यवहारमा समानता ?
पहिला–पहिला नारीका लागि घरबाहिर हिँड्नु नै चुनौती थियो । साँझपख बाटो हिँड्दा सुरक्षा हुँदैनथ्यो । समय बदलियो, समाज आधुनिक बन्दै गयो, महिलाले पढ्न, काम गर्न, नेतृत्व गर्न थाले । तर के साँच्चै सुरक्षित भइन् त महिला ?
आज पनि जब एक महिला आफैं सवारी चलाएर सडकमा निस्कन्छिन्, उनीसँगै अनेकौं नजरहरु पनि हिँडिरहेका हुन्छन् । ती नजरहरु केवल हेर्ने मात्रै हुँदैनन्, मूल्यांकन गर्ने, प्रश्न गर्ने र कहिलेकाहीँ असहज बनाउने खालका पनि हुन्छन् । हामीले देखेका छौं, भोगेका पनि छौं ।
सवारीमा महिला सडकमा हिँड्दा होस्, कार्यस्थलमा होस्, सार्वजनिक स्थलमा होस् या कार्यालयमा कुनै काम विशेषले जाँदा होस् वा काम लिएर जाँदा महिलालाई हेर्ने नजर प्रायः फरक नै हुन्छ । पुरुषले गाडी चलाउँदा सामान्य मानिन्छ तर महिलाले स्टेयरिङ समातेको देख्दा अझै पनि कतिपयको अनुहारमा आश्चर्य, शंका वा व्यंग्य झल्किन्छ । गल्ती कसैले पनि गर्न सक्छ तर सानो त्रुटि पनि महिलाको क्षमतामाथि प्रश्नचिह्न बनेर उभिन्छ ।
कार्यस्थलमा पनि अवस्था पूर्णरुपमा फरक छैन । एउटी महिला सक्षम, आत्मविश्वासी र निर्णय गर्न सक्ने अवस्थामा पुग्दा उसलाई सहयोगीभन्दा प्रतिस्पर्धीको दृष्टिले हेर्ने प्रवृत्ति देखिन्छ । नेतृत्व सम्हाल्दा ‘भावुक’ भन्ने ट्याग, कडा निर्णय गर्दा ‘अहंकारी’ भन्ने आरोप यी दुबै बीचमा महिलाले आफ्नो पहिचान जोगाउँदै अघि बढ्नुपर्छ ।
सार्वजनिक स्थानहरुमा त अझै धेरै चुनौती छन् । सार्वजनिक सवारीमा यात्रा गर्दा अनावश्यक स्पर्शको डर, बाटोमा हिँड्दा पछ्याउने नजरको असहजता, कार्यालयमा कामको सट्टा रुप–रङ्गको चर्चा ! यी सबै अनुभवहरुले महिलाको दैनिक जीवनलाई अतिरिक्त मानसिक बोझ थपिदिन्छन् ।
सार्वजनिक स्थानहरुमा त अझै धेरै चुनौती छन् । सार्वजनिक सवारीमा यात्रा गर्दा अनावश्यक स्पर्शको डर, बाटोमा हिँड्दा पछ्याउने नजरको असहजता, कार्यालयमा कामको सट्टा रुप–रङ्गको चर्चा ! यी सबै अनुभवहरुले महिलाको दैनिक जीवनलाई अतिरिक्त मानसिक बोझ थपिदिन्छन् । सुरक्षा केवल कानुनी व्यवस्था मात्र होइन, व्यवहार र सोचाइको पनि विषय हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।
तर यति हुँदाहुँदै पनि महिला रोकिएका छैनन् । उनीहरु पढिरहेका छन्, कमाइरहेका छन्, नेतृत्व गरिरहेका छन्, समाज रुपान्तरणको अग्रपङ्क्तिमा उभिएका छन् । चुनौतीहरुका बीचमा आत्मविश्वासलाई हतियार बनाएर अघि बढ्ने हरेक महिला परिवर्तनको जीवित उदाहरण हुन् ।
अब प्रश्न यो होइन कि महिला सवारी चलाउन सक्छिन् कि सक्दिनन्, नेतृत्व गर्न सक्छिन् कि सक्दिनन् । प्रश्न यो हो– हाम्रो सोच कहिले परिपक्व बन्छ ? नजर बदलिँदा मात्रै अवस्था बदलिन्छ । समानता कानुनमा लेखेर मात्र पुग्दैन, व्यवहारमा उतार्नुपर्छ ।
जब एक महिला सडकमा निस्कन्छिन्, उनी एक्लै हिँडिरहेकी हुँदिनन् । उनीसँगै समाजको सोच पनि हिँडिरहेको हुन्छ । अब समय आएको छ, त्यो सोचलाई सुरक्षित, सम्मानजनक र समान बनाउने । समानता भनेको केवल कानुनका पानामा लेखिएको अधिकार मात्र होइन, व्यवहारमा अनुभूति हुने सुरक्षा र सम्मान हो । जब एउटी महिला आत्मविश्वासका साथ घरबाट बाहिर निस्कन्छिन्, उनलाई हौसला र साथ दिनु समाजको कर्तव्य हो, डर र अविश्वास होइन ।
नियम सबैका लागि बराबर हुनुपर्छ । न कडाइमा फरक, न व्यवहारमा भेदभाव । साँचो समानता त्यति बेला स्थापित हुन्छ, जब शब्दमा मात्र होइन, व्यवहारमा पनि समान दृष्टि र अवसर सुनिश्चित गरिन्छ ।
यदि महिलाले सडकमा, कार्यस्थलमा वा सार्वजनिक स्थानमा आफूलाई निरन्तर प्रमाणित गरिरहनुपर्ने अवस्था छ भने, त्यो समाज अझै पूर्ण समानताको बाटोमा पुगेको छैन । महिला चालकलाई ‘अपवाद’ जस्तो होइन, ‘सामान्य’ रुपमा हेर्ने दिन नै वास्तविक परिवर्तनको दिन हुनेछ । सम्मान त्यहाँ देखिन्छ, जहाँ पूर्वाग्रह हुँदैन । सुरक्षा त्यहाँ हुन्छ, जहाँ विश्वास हुन्छ र समानता त्यहाँ स्थापित हुन्छ, जहाँ व्यवहार र सोच दुबै परिवर्तन हुन्छन् । समानता भनेको केवल अवसर पाउनु मात्र होइन, आत्मसम्मानका साथ बाँच्न पाउनु पनि हो । जब एउटी महिला घरबाहिर निस्कँदा पहिरन, बोल्ने शैली वा हिँड्ने तरिकामाथि टिप्पणी हुन्छ, तब त्यो समाज अझै परिवर्तनको बाटोमै छ भन्ने संकेत हो । समानता तब हुन्छ, जब महिलालाई क्षमताका आधारमा मूल्याङ्कन गरिन्छ, लिङ्गको आधारमा होइन ।
नारी दिवस केवल शुभकामना आदान–प्रदान गर्ने दिन होइन, यो दिन हो आत्ममूल्यांकन गर्ने । हामीले महिलालाई साँच्चै बराबरी स्थान दिएका छौं कि छैनौं भनेर सोच्ने । समानता भनेको सडकमा मात्र होइन, घरभित्रको कामको बाँडफाँडमा पनि देखिनुपर्छ । निर्णय गर्ने ठाउँमा, नेतृत्वमा, अवसरमा र सम्मानमा महिलाको समान उपस्थिति हुनुपर्छ ।
हामीले छोरीलाई ‘डराएर होइन, सिकाएर’ हुर्काउनुपर्छ । छोरालाई ‘अधिकार मात्र होइन, जिम्मेवारी’ पनि सिकाउनुपर्छ । जबसम्म सोच बदलिँदैन, तबसम्म समाज पूर्णरुपमा बदलिँदैन । नारी कमजोर होइनन् । उनीहरु आमा हुन्, छोरी हुन्, दिदीबहिनी हुन्, नेतृत्वकर्ता हुन्, राष्ट्र निर्माणका सहयात्री हुन् । आजको समाजमा महिला जहिले पनि कसैको संरक्षणमा होइन, आफ्नै आत्मविश्वासमा अघि बढ्न चाहन्छिन् ।
यस नारी दिवसमा, केवल ‘समानता’ भन्ने शब्द उच्चारण नगरौं । यसलाई व्यवहारमा उतारौं । महिलालाई हेर्ने दृष्टिकोण बदलौं । डर होइन, सम्मानको वातावरण बनाऔं । त्यस दिन मात्र ‘नारी र पुरुष समान हुन्’ भन्ने नारा साँचो अर्थमा सार्थक हुनेछ ।











प्रतिक्रिया