बाजुरा।
बाजुराको इतिहासमा पहिलो पटक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । यो पटकको चुनावमा सामान्य झडप विवादसमेत नभएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।
बाजुरामा ८७ हजार ८ सय ६१ जना कुल मतदाता मध्ये यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो समाचार तयार पार्दासम्म प्रशासनसँग उपलब्ध तथ्याङ्कअनुसार ४४ हजार ७७३ जनाले मतदान गरेका छन् । २०४८ सालपछि बाजुराबासीले आफ्नो भोट आफै हाल्न पाएका छन् । कुनै भयरहित वातावरणमा मतदान हाल्न पाएकोमा बाजुराबासीले खुसी व्यक्त गरेका छन् ।
जिल्लाका ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्रका सबै मतदान केन्द्रमा विवादरहित र शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। उनले भने, “राजनीतिक दलको प्रतिबद्धता, मतदाता, सरोकारवाला निकाय, सञ्चारकर्मीको सहयोग, स्थानीय प्रशासन तथा न्याय प्रशासनको कटिबद्धता सहित हामी सबैको प्रयासले शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भयौ ।” सुरक्षाको हिसाबले बाजुरा जिल्ला अति संवेदनशील जिल्लाका रुपमा रहेको थियो ।
गत २०७९ मङ्सिर ४ मा भएको संघ र प्रदेशको चुनावमा त्रिवेणी नगरपालिका ७ मा २ जनाको मृत्यु भएको थियो ।
बाजुरा सधैं झगडा लफडाको जिल्लाको रुपमा बाहिर प्रचार रहेको थियो, यो पटक भने शान्त रुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत राजबहादुर भण्डारीले बताए ।











प्रतिक्रिया