काठमाडौँ ।
अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि मध्यपूर्वको भू–राजनीतिक सन्तुलन पूर्णतः भत्किएको छ। इरानले व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत प्रतिउत्तर दिँदा खाडी क्षेत्रदेखि भूमध्यसागरसम्म युद्धको आगो फैलिएको छ। विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सामुद्रिक सुरक्षामा गम्भीर असर देखिन थालेको छ।
‘सरकार ढाल्ने समय’ – ट्रम्पको आह्वान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकार ढाल्न आह्वान गरेका छन्। उनले आक्रमणको उद्देश्य “इरानले परमाणु अस्त्र तयार नगर्ने सुनिश्चित गर्नु” भएको दाबी गर्दै क्षेप्यास्त्र पूर्वाधार र सैन्य उद्योग ध्वस्त पारिएको बताएका छन्।
ह्वाइट हाउसमा उनले यो अभियान “आवश्यक परे चारदेखि पाँच सातासम्म” चल्न सक्ने र अमेरिका “उल्लेख्य अगाडि” रहेको दाबी गरे।
अमेरिकी सेनाको (सेन्ट्रल कमान्डले इरानी सुरक्षा संरचना निष्क्रिय बनाउने र उच्च प्राथमिकताका लक्ष्यमा निरन्तर प्रहार गरिने जनाएको छ।
इजरायलको भनाइ: ‘अस्तित्वको जोखिम हटाउने अभियान’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले “इरानको आतङ्कवादी सत्ताबाट उत्पन्न अस्तित्वको जोखिम हटाउन” कारबाही सुरु गरिएको बताएका छन्। इजरायली सेना (आईडीएफ) ले खामेनेईसँगै इस्लामिक रिभोलुसनरी गार्ड कोरका उच्च कमान्डरहरू मारिएको दाबी गरेको छ।
इरानको रक्षा परिषद्का सचिव अली शाम्खानी, रक्षामन्त्री ब्रिगेडियर जनरल अजीज नसीरजादेह र आईआरजीसी कमान्डर जनरल मोहम्मद पकपोरसहित सात वरिष्ठ सुरक्षा अधिकारी मारिएको इजरायलले जनाएको छ।आईआरजीसीको नयाँ प्रमुखमा अहमद बाहिदी चयन भएका छन्।
इरानको प्रतिउत्तर: खाडीभरि क्षेप्यास्त्र वर्षा
इरानले इजरायल, बाहरेन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब र साइप्रसमा रहेका अमेरिकी तथा सहयोगी सेनाका एअर बेस लक्षित आक्रमण गरिरहेको जनाएको छ। तेल अभिभसहित इजरायली सरकारी र सैन्य संरचना निसाना बनेका छन्।
लेबननस्थित शक्तिशाली शिया समूह हिजबुल्लाह पनि युद्धमा खुलेर उत्रिएको छ। लेबननबाट इजरायलतर्फ रकेट प्रहार भइरहेका छन् भने जवाफमा इजरायलले लेबननभित्र हिज्बुल्लाहका अखडामाथि हवाई आक्रमण तीव्र पारेको छ।
साइप्रसमा रहेको बेलायती एअर बेसमा ड्रोन आक्रमण भएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ। कुवेत र हिन्द महासागरस्थित अमेरिकी एअर बेसमा १५ वटा क्रूज क्षेप्यास्त्र प्रहार गरिएको इरानको दाबी छ। कुवेतमा तीन अमेरिकी विमान खसालिएको खबर आए पनि अमेरिकी पक्षले ‘आफ्नै तर्फबाट झुक्किएर भएको’ घटना भएको बताएको छ।
इन्टरनेट बन्द, हवाई मार्ग अवरुद्ध
मंगलबारसम्म इरान इन्टरनेट सञ्जालबाट लगभग कटिएको छ। देशको हवाई मार्ग बन्द गरिएको छ। राजधानी तेहरानसहित प्रमुख सहरमा निरन्तर बमबारी जारी छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको जलसेनाको मुख्यालय ध्वस्त पारिएको बताएका छन्।
ऊर्जा संकट र विश्व अर्थतन्त्रमा झट्का
मध्यपूर्वमा फैलिएको युद्धले विश्व ऊर्जा बजारमा ठूलो कम्पन ल्याएको छ।
कतारले एलपीजी उत्पादन अस्थायी रूपमा रोकेको घोषणा गरेपछि ग्यासको मूल्य एकैदिन ५० प्रतिशतसम्म बढेको छ। तेल मूल्य पनि उकालो लागेको छ।
इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्ने चेतावनी दिएको छ—जहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुन्छ। यो नाका अवरुद्ध भए विश्व आपूर्ति शृङ्खला र समुद्री व्यापारमा अभूतपूर्व संकट आउन सक्ने विश्लेषकहरूको चेतावनी छ।
साउदी अरबको एक प्रशोधन केन्द्रमा इरानी ड्रोन आक्रमण भएपछि उत्पादन आंशिक रूपमा बन्द गरिएको छ। दुबई र दोहाजस्ता गैरसैनिक क्षेत्रसमेत निसानामा पर्दा खाडी राष्ट्रहरूमा त्रास फैलिएको छ।
इरानमा नेतृत्व संक्रमण
खामेनेईको निधनसँगै इरानले अन्तरिम नेतृत्व परिषद् गठन गरेको छ। त्यसमा राष्ट्रपति मसूद पेजेस्कियान, न्यायपालिकाका प्रमुख गोह्लामहोशीन मोशेनी एज्हेई र वरिष्ठ धर्मगुरु एलीरेह्जा अरह्फी छन्।
नयाँ सर्वोच्च नेताको चयन ८८ सदस्यीय ‘असेम्ब्ली अफ एक्स्पर्ट्स’ ले गर्ने संवैधानिक व्यवस्था छ। तर युद्धको अवस्थामा छिटो निर्णय लिन चुनौतीपूर्ण देखिएको छ।
युद्ध कति लम्बिन सक्छ?
ट्रम्पले आक्रमण “चार सातासम्म” चल्न सक्ने संकेत दिएका छन्। विदेशमन्त्री मार्को रुबियोले “हाम्रा उद्देश्य स्पष्ट छन्, जति समय लागे पनि पूरा गर्छौँ” भनेका छन्।
नेतन्याहूले पनि अभियान “आवश्यक रहेसम्म निरन्तर” रहने बताएका छन्।
विश्लेषकहरूका अनुसार यो युद्ध अब दुई देशबीच सीमित नरही ‘बहु–फ्रन्ट’ संघर्षमा परिणत भइसकेको छ—इजरायल–इरान प्रत्यक्ष टकराव, लेबनन सीमामा हिज्बुल्लाह मोर्चा, खाडी राष्ट्रहरूमा अमेरिकी आधार निसाना, र ऊर्जा आपूर्ति अवरोध।
यदि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा अवरुद्ध भयो वा खाडी राष्ट्रहरू प्रत्यक्ष युद्धमा होमिए भने यो द्वन्द्व क्षेत्रीय युद्धबाट विश्वव्यापी शक्ति प्रतिस्पर्धामा बदलिन सक्छ।
खामेनेईको मृत्यु केवल एक व्यक्तिको अन्त्य मात्र नभई चार दशक लामो इरानी शक्ति संरचनामा गहिरो धक्का हो। अमेरिका–इजरायलको संयुक्त रणनीति र इरानको आक्रामक प्रतिउत्तरले मध्यपूर्वलाई अनिश्चितताको अँध्यारोमा धकेलेको छ।
अब प्रश्न एउटै छ—यो आगो केही सातामा निभ्छ कि दशकौँसम्म दन्किरहने नयाँ अध्यायको सुरुवात हो?











प्रतिक्रिया