एक्ली आमाको काँधमा हुर्किएको नेतृत्व

4.89k
Shares

आमा । धर्ती । जननी। धर्तीले के–के थेग्न सक्छ भनेर कसैले मापन गर्न सक्दैन। धर्ती चुपचाप भत्किन्छ, फेरि उस्तै भएर उभिन्छ।

उनी पनि त्यही धर्ती जस्तै भइन्। उनी अर्थात् रिता थापा । काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार प्रबल थापाकी आमा। तर यो चिनारीभन्दा धेरै अघि, उनी दुई सन्तानकी आमा थिइन् र समयले चाहेर नचाहेर बनाइदिएको एक्ली अभिभावक।

काठमाडौँमा जन्मिएको प्रबल सानोमा साह्रै सोझो थियो। अरूले दुख दिँदा पनि प्रतिकार गर्दैनथ्यो। रुँदै आमाकहाँ आएर टाँसिन्थ्यो। अनि रिता उसका आँसु पुछ्दै भन्थिन्, “संसार कहिलेकाहीँ निर्दयी हुन्छ, तर तिमी निर्दयी नबन्नू।” त्यही समय थियो, जब २१ वर्षकै उमेरमा दुई काखे बालक बोकेर उनले जीवनको सबैभन्दा ठूलो वियोग भोगिन्। तर उनी शोकमा डुबिनन्। शोकलाई शक्तिमा बदलेर छोराकी आमा मात्रै होइन, बुवा पनि बनिन्। खाजा–पानी, विद्यालय, लुगाफाटा, स्याहार–सुसार सबै उनले आफैँ गरिन्। धेरैपटक आफैँलाई बिर्सेर सन्तानका लागि बाँचेकी रिता रातको अँध्यारोसँगै चुपचाप रोइन्, तर छोराछोरीको अगाडि कहिल्यै आँसु देखाइनन्।

प्रबलको बाल्यकाल जिम्मेवारीमै बित्यो। सानैदेखि घरको भार उसको काँधमा आयो। दुःखी देख्दा रोकिन्थ्यो । आफूसँग थोरै हुँदा पनि अरूलाई बाँड्न खोज्थ्यो। घर छोड्न चाहँदैनथ्यो। तर दुनियाँ देख्नुपर्छ भनेर आमाकै करकापमा अष्ट्रेलिया गयो। दुई वर्ष पढ्न जाँदा पनि तीन पटक छुट्टीमा घर आयो । किनकि घर उसको श्वास थियो।

हजुरबुवा र हजुरआमा बितेपछि दुवैको किरिया उसैले बस्यो। आज पनि निष्ठापूर्वक बर्सेनि चारवटा श्राद्ध उसैले गर्छ। बहिनीको विवाहदेखि घर सम्हाल्नेसम्म सबै जिम्मेवारी उसैले बोकेको देख्दा रिता डराउँथिन् – मेरो छोरो कहिल्यै बच्चा भएर बाँच्न पाएन भन्ने पीडाले। कडा अनुशासनमा हुर्किएकी रिता ससुरा आर्मी भएकाले घरको मर्यादा र नियम राम्ररी जान्थिन्। त्यसैले काखमा बच्चा च्यापेर पनि आँसु लुकाइन् । ताकि सन्तानको कलिलो मस्तिष्कमा बाबु नहुनुको छाया नपरोस्।

उनीहरूले बाबु नभएको कहिले बुझे, रितालाई थाहा छैन। तर जसरी उनले आफ्ना आँसु लुकाइन्, त्यसरी नै ती सन्तानले पनि आफ्ना प्रश्नहरू लुकाए। एक दिन दुवैले एकै स्वरमा भने, “आमा, हामी छौँ नि।” त्यही दिन रिता साँच्चै आमा बनेको महसुस गरिन्।

समयसँगै प्रबल सङ्गठन विस्तारमा सक्रिय हुँदै गयो। सङ्गठनकै काममा दुखी–विपन्नको घर पुग्थ्यो। कहिलेकाहीँ आमालाई नभनी पार्टीकै काममा हिँड्थ्यो। आमाको मन डराउँथ्यो, तर प्रबलको करुणा अर्कै मातृत्व जस्तै थियो। बुवाबाट बगेको काँग्रेसको रगत उसमा स्पष्ट देखिन्थ्यो। रिताको माइतीपट्टिको फरक राजनीतिक विरासतले उसलाई कहिल्यै तानेन। बुवाका साथी खोज्दै, अग्रज खोज्दै हिँडेर राजनीतिमा लाग्ने निर्णय सुनाउँदा रिता अचम्मित भइन्। कलेजका शिक्षकले भनेका शब्द उनलाई याद आए “यो केटामा नेता बन्ने लक्षण छ।” गर्व र डर सँगसँगै बोकेर उनले छोरालाई अघि बढ्न दिइन्। आज प्रबल भन्छ, “म जहाँ छु, मेरी आमाले गर्दा छु।” तर पछिल्ला वर्षहरूमा त्यो छोरो नै आमाको ढाडस बनेको छ। समाजको सामना गर्दा बुवाको अभाव खड्किए पनि आमाको विश्वास उसको बल बनेको छ।

प्रबलले पहिलो पटक बैङ्कको जागिर खाँदा चिटिक्क सर्ट–पाइन्ट लगाएर निस्कँदाको क्षण आज पनि रिता मुस्कुराउँदै सम्झन्छिन्। कुनै कुलतमा नफसेकोमा गर्व गर्छिन्। उमेरमा प्रबलले रहर गरेको मोटरसाइकल नकिनिदिएकोमा मन भारी भए पनि आज त्यसलाई सही निर्णय ठान्छिन्। आज पनि छोरा घरबाट निस्किँदा उनको मन पछ्याइरहन्छ। तर अब बुहारी छिन् र त बल्ल रिताको मन अलिक हलुङ्गो भएको छ।

हिजोलाई फर्केर हेर्दा रिता भन्छिन्, “४० वर्षअघिको समाजको सामुन्ने एक्लै उभिएर मैले निकै गाह्रो काम सकेछु।” सन्तानको शिरमा बाबुको हात नहुनुको पीडा उनको छातीमा अझै छ। तर आज उनी शिर उठाएर स्वर्गीय पतिलाई भन्न सक्छिन् – “हेर्नुस्, तपाईँको छोरो आज तपाईँकै सपना बाँच्दै छ। र आज बल्ल आमाको मन शान्त छ।”