साउदीको रास तनुरा रिफाइनरीमा इरानी आक्रमण, मध्यपूर्वमा तनाव चुलियो


काठमाडौँ।

इजराइल–अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेशसँगै मध्यपूर्वमा तनाव झन् तीव्र बनेको छ।

यसबीच इरानले साउदी अरबको महत्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा रिफाइनरी’मा आक्रमण गरेको जनाइएको छ। आक्रमणपछि रिफाइनरी बन्द गरिएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी Saudi Aramcoद्वारा सञ्चालित उक्त रिफाइनरीको दैनिक उत्पादन क्षमता करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल रहेको छ। यो विश्वकै ठूला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक मानिन्छ, जहाँबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न मुलुकमा तेल निर्यात हुँदै आएको छ।

यसै क्रममा इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले सोमबार अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने स्पष्ट पारेका छन्। उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने समाचारको खण्डन गरेका हुन्।

उता इरानले इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि आक्रमण पुनः सुरु गरेको बताइएको छ।

यस युद्धमा हिज्बुल्लाह समेत संलग्न भएको छ। इरान समर्थित उक्त समूहले इजराइलका विभिन्न स्थानमा बमबारी गरेको जनाएको छ। साथै, उसले इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ।

अल जजीराका अनुसार अमेरिका र इजराइलले मिलेर हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा हमला गरिसकेका छन्। प्रारम्भिक ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ।

यी आक्रमणहरूमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएका जनाइएको छ। एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको तथा ४५ जना घाइते भएको खबर पनि सार्वजनिक भएको छ।

फेब्रुअरी २८ बाट सुरु भएको यस द्वन्द्वको पहिलो दिनमै इरानका सर्वोच्च नेता खामेनेई मारिएको दाबी गरिएको छ। यसबाहेक, आइतबार तीन जना अमेरिकी सैनिकको समेत मृत्यु भएको जनाइएको छ।