मेरी प्राणझैँ प्यारी आमा, मेरी मुइयालाई कहिले चाडपर्व नआओस् जस्तो लाग्छ । यो केवल मेरो आमाको कथा मात्र होइन, हरेक घरकी आमाको कथा हो । घरमा चाडपर्व आएपछि सबैलाई रमाइलो, खानपिन, घुमाइफिराइको उत्साह हुन्छ । तर आमाको लागि त्यो दिन पनि कहिल्यै साँच्चै शान्ति र आरामको दिन हुँदैन । बिहानदेखि शुरु हुन्छ कामको सिलसिला– खाना पकाउने, घर सफा गर्ने, पाहुना हेर्ने अनि सबैको ख्याल राख्ने । आमा दिनभरि काममा व्यस्त हुनुहुन्छ ।
मेरी आमा भन्नुहुन्छ, ‘दुःख–सुखमा साथ दिन्छु भनेर बिहे गरी ल्याको श्रीमान्ले ! तर पनि साथ दिँदैनन्, बुझ्दैनन्, अरूको झन् के आश राख्नु ? के गर्नु छोरी ! पुरुष त भए–भए, महिला भएर पनि महिलाको पीडा बुझ्दैनन् ।’ यसरी मसँग गुनासो पोख्नुहुन्छ मेरी आमा ।
चाडपर्वमा पकाउने, खुवाउने, सरसफाइ गर्ने, के यी सबै आमाले मात्रै गर्नुपर्छ भनिएको छ र ? के उहाँलाई रमाउने, खुशी हुने र आराम गर्ने अधिकार छैन ? आफ्नै काममा व्यस्त, आमालाई सहयोग गर्ने वा काम कम गराउने सोच कमै हुन्छ । कसैले एकछिन् आराम गर, पानी पेऊ भने पनि हुन्थ्यो भन्ने चाहना राख्नुहुन्छ आमा ! कहिलेकाहीँ त यस्तो लाग्छ, परिवारभित्रकै महिलाले पनि आमाको बोझ कम गर्न सही भूमिका खेल्दैनन् ।
पाहुना घर आएपछि अलि सहज होला कि भन्ने मेरी आमाको आश पनि आशमै सीमित हुन्छ । सहज होला कि भन्दा झन् धेरै कामको भार भएको महसुस गर्नुहुन्छ । पाहुनाले यतिसम्म गर्छन् रे कि नजिकै भएको पानी लिनसमेत आमाको नाम लिई–लिई त्यो राखेको पानी दिनु त भन्छन् अरे ! मानौँ केही काम छोयो, ग¥यो भने जिन्दगीभरि हातमा नजाने दाग नै लाग्लासरि इज्जत नै जाला कि जस्तो गर्छन् रे !
पाहुनालाइ हेर्ने, खुवाउने सबै जिम्मा आमाकै मात्र हो जस्तो गर्छन् । घरका अरु सदस्यलाई केही कुराको मतलब हुँदैन– आमाले खानुभयो कि भएन, गाह्रो भयो कि ? उनीहरुलाई एउटै कुराको मात्र चिन्ता हुन्छ– काम सकियो कि सकिएन, खाना पाक्यो कि पाकेन ? पकाउनेदेखि प्लेटमा हाल्ने, खुवाउने, फेरि भाँडा माझ्ने, यसरी बित्छ आमाको चाडपर्वको दिन । त्यति धेरै हुँदा पनि कामअनुसार जश पाउनुहुन्न, उल्टो कमी–कमजोरी निकाल्न थालिन्छ– यस्तो भएछ, उस्तो भएछ, यो पुगेनछ आदि ।
खाना पनि सहजरूपमा आमाले खान पाउनुहुन्न, आफैँ खाना तयार पारे पनि सबैलाई खुवाएपछि मात्र थोरै खान पाउनुहुन्छ । आरामको कुरा त झन् छुट्टै । दिनभर काम, पाहुना, परिवार, सबै आमाको काँधमा । सुत्न समय कम, बस्न समय कम । अनि मनमा लाग्छ– कहिले मेरी आमालाई साँच्चै आराम, खानपिन र शान्ति मिल्ने हो ?
छोरा–छोरी पनि आमाको पीडा बुझ्दैनन् । आफ्नै रमाइलो र खेलकुद, पढाइ–काममा व्यस्त । घरका पुरुषहरू खाना खान, खेल्न, आराम गर्नमा व्यस्त तर आमाको थकान, भोक–प्यास, पीडा कसैले देख्दैन ।
चाडपर्वमा पनि आमाको दिन कहिल्यै पूर्ण हुँदैन । काम, पाहुना, सफाइ, खाना सबै आमाको काँधमा । उहाँ दिनभर सबैको ख्याल राख्नुहुन्छ तर आफैंलाई सोच्न वा आराम गर्न समय पाउनुहुन्न । पुरुष आराम गर्छन्, बच्चा–छोरी आफ्नै दुनियाँमा व्यस्त हुन्छन् र महिला भएकै कारण पनि कतिपयले आमाको पीडा बुझ्दैनन् ।
यो समस्या केवल घर–घरको मात्र समस्या हैन, यो अहिलेसम्म पनि रहिरहेको हाम्रो समाजको एक कालो र नमीठो अभ्यास हो, जसमा अहिले पनि महिलाले मात्रै घरको काम सम्हाल्नुपर्छ भन्ने मान्यता र बुझाइ रहेको छ, अर्को शब्दमा भन्नुपर्दा भेदभाव छ ।
मेरी आमाले एकछाक तातो समयमै खान पाइन्छ, आराम गर्न पाइन्छ भनेरै यो चाडपर्व कहिल्यै नआओस् जस्तो महसुस गर्नुहुन्छ । यसरी सधैँ आमाले मात्र बलिदान दिनुहुन्छ, पीडा भोग्नुहुन्छ, थकान सहनुहुन्छ अनि हामी सोच्छौँ– कहिले आमालाई साँचो आराम, साँचो माया र सम्मान मिल्ने हो ? कहिले उहाँले चाडपर्वमा साँचो खुशी अनुभव गर्ने हो ?
मेरो चाहना छ– मेरी आमा अनि हरेक आमाले चाडपर्वमा पनि शान्ति, माया र आराम पाऊन् । उनीहरूले खाना, पानी र विश्राम स्वतन्त्र रूपमा पाऊन् । अरु भनेको यस्तै हो, कमसेकम महिलाले महिलाको पीडा बुझिदिऊन् । घरको काम, जिम्मेवारी, पाहुना, सबै आमाको काँधमा नपरोस् । हामी छोराछोरी, श्रीमान् र घरका सदस्यहरूले बुझौं– आमाको बलिदान केवल काम होइन, परिवारको आधार हो । कसैले आमालाई दुःख दिन नपरोस् । उहाँको बलिदानको मूल्य सबैले बुझून् । अब हाम्रो प्रयास भनेको आमाहरुले कहिल्यै चाडपर्वमा थकान, पीडा, बोझिलो महसुस नगरून् भनेर सोहीअनुसार कार्य गर्ने हो ।











प्रतिक्रिया