काठमाडौं।
यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाइरहेका छन् । यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवारहरूले पनि आफ्नो मत सुरक्षित राख्न घरदैलो गरिरहेका छन् । काठमाडौं क्षेत्र नम्बर ९ मा कुल २४ जना उम्मेदवार छन् । यसमा विभिन्न १८ राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारबीच जितको लागि प्रतिस्पर्धा हुनेछ ।
यस क्षेत्रका मतदाताहरूसँग गरेको कुराकानीको आधारमा हेर्दा मुख्यतया चार राजनीतिक दलका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूमध्ये एकले नै जित्ने यहाँका मतदाताहरूले अनुमान लगाएका छन् ।
यो क्षेत्रमा पछिल्ला दुई निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको थियो । यसपटक भने उहाँले टिकट पाउनुभएन ।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले कृष्णगोपाल श्रेष्ठलाई निकै चुनौती दिनुभएको थियोे । सो निर्वाचनमा श्रेष्ठमात्र ९ सय ९५ मतले विजयी हुनुभएको थियो । यसपटक भने नेकपा एमालेबाट अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएको छ । शाक्य यस क्षेत्रका लागि नयाँ अनुहार भने होइन । उहाँ पछिल्लो २०७९ को प्रदेशसभा निर्वाचनमा यही क्षेत्र नम्बर ९ बाट विजयी हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पोखरेललाई उम्मेदवारी बनाएन । यसपटक सो पार्टीले डीपी (डोलप्रसाद) अर्याललाई टिकट दिएको छ ।
यस्तै, नेपाली कांग्रेसबाट नानुमैयाँ बास्तोलाले उम्मेदवारी दिनुभएको छ । २०६४ र २०७० को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसले विजयी हासिल गरिसकेको थियो । तर, यसपछिका दुवै निर्वाचनमा भने कांग्रेसले विजय हासिल गर्न सकेन ।
अर्को नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टीबाट रामेश्वर श्रेष्ठको उम्मेदवारी रहेको छ । यो राजनीतिक दलको अध्यक्षमा जेन–जीका पूर्वऊर्जा मन्त्री कुलमान घिसिङ हुनुहुन्छ । उम्मेदवार श्रेष्ठ यसअघिको स्थानीय निर्वाचनमा उपमेयरमा समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको थियो । जसमा, उहाँ वर्तमान उपमेयर तथा कार्यवाहक मेयर सुनिता डंगोलसँग पराजित हुनुभएको थियो ।
मतदाता कति ?
कुल मतदाता : ७८,४९५
पुरुष मतदाता : ३८,२१७
महिला मतदाता : ४०,२७८











प्रतिक्रिया