–इरानी आक्रमणमा परी इजरायलको बेत सेमेसमा ९ जनाको मृत्यु
काठमाडौं।
अमेरिका र इजरायलले शनिबार इरानमा गरेको संयुक्त हवाई आक्रमणका क्रममा इरानको सर्वोच्च नेता ८६ वर्षीय आयोतोल्ला अलि खामेनीको मृत्यु भएपछि इरानले कडा प्रतिशोध लिन थालेको छ । खामेनीको निधनमा इरानले ४० दिनको राष्ट्रिय शोक र ७ दिन सार्वजनिक बिदाको घोषणा गर्दै यस घटनालाई ‘राष्ट्रमाथिको खुला युद्ध’को संज्ञा दिएको छ ।
शनिबार भएको आक्रमणमा खामेनीसँगै उहाँकी छोरी, ज्वाइँ र नातिका साथै सुरक्षा सल्लाहकार एवम् अन्य वरिष्ठ अधिकारीहरु मारिएको इरानकै सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त हवाई आक्रमणमा खामेनीको मृत्यु भएको दाबी गर्नुभएको थियो । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत खामेनीको अन्त्यले इरानी जनतालाई आफ्नो देशमाथि नियन्त्रण गर्ने ठूलो अवसर आएको बताउनुभएको थियो ।
इरानको सरकारी मिडियाले भने आइतबार बिहान खामेनीको मृत्युको पुष्टि गर्दै ४० दिन राष्ट्रिय शोक मनाउने जानकारी दिएको हो । सन् १९८९ देखि सर्वोच्च नेताको भूमिकामा रहनुभएका खामेनीको मृत्युले इरानको राजनीतिक संरचनामा गहिरो प्रभाव पार्ने अनुमान गरिए पनि इरानका राष्ट्रपति मसद पेजस्किनले इरानले खामेनीको पदचिन्ह पछ्याउँदै प्रत्याक्रमण गर्ने र शत्रु राष्ट्रहरुको सैन्य संरचना ध्वस्त बनाउने उद्घोष गरिसक्नुभएको छ ।
खामेनीको मृत्युपछि इरानले आइतबार ६७ वर्षीय आयोतोल्लाह अलिरेजा अराफीको नेतृत्वमा तीन सदस्यीय संक्रमणकालीन परिषद् गठन गरेको छ । जसमा राष्ट्रपति मसद र सर्वोच्च अदालतका प्रमुख न्यायाधीश गोलाम हुस्सेन मोहसेनी एजी सदस्य रहनुभएको छ ।
यसैबीच इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले ‘निर्णायक र ऐतिहासिक प्रतिआक्रमण’ सुरु गरिएको घोषणा गर्दै इजरायलको सैन्य संरचना र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरुमा लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार सुरु गरेको छ । आइतबार इरानको ब्यालेस्टिक मिसाइल आक्रमणबाट इजरायलको बेत सेमेसमा ९ जनाभन्दा बढीको मृत्यु र २० भन्दा बढी घाइते भएको र तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको इजरायली आपत्कालीन सेवाले जनाएको छ ।
त्यसैगरी इरानले युनाइटेड अरब इमिरेट्स (यूएई) मा गरको हवाई आक्रमणमा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएर तत्काल संयमता अपनाउन आह्वान गरेको छ । युरोपेली संघ, चीन र रुसले पनि तनाव थप नबढाउन आग्रह गरेका छन् ।
यूएईमा १ नेपालीसहित ३ को मृत्यु
काठमाडौं
इरानले संयुक्त अरब इमिरेट्स (यूएई)मा गरेको पछिल्लो हवाई आक्रमणमा परी १ नेपालीसहित ३ जनाको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार उक्त आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक गरी तीन जनाको मृत्यु भएको हो । यूएईस्थित नेपाली दूताबासले उक्त खबरको पुष्टि गरे तापनि मृतकको परिचय खुल्न बाँकी नै छ ।
उक्त आक्रमणमा नेपालसहित भारत, पाकिस्तान, फिलिपिन्स, इजिप्ट र इथियोपियालगायतका १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि रक्षा मन्त्रालयले जनाएको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार इरानले यूएईमा १६५ वटा ब्यालेस्टिक मिसाइ, २ वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन आक्रमण गरिसकेको छ । तीमध्ये अधिकांश मिसाइल र ड्रोनलाई शक्तिशाली हवाई रक्षा प्रणालीले आकाशमै नष्ट गरिदिए पनि ३५ वटा ड्रोनहरु यूएईको विभिन्न स्थानमा खसेका थिए । खसेका ३५ ड्रोनमध्ये २१ वटा भने नागरिक बस्तीमा खसेको कारण मानवीय क्षति भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया