होली पर्व उल्लासमय रुपमा मनाइँदै: राजधानीमा उच्च सुरक्षा सतर्कता

752
Shares

काठमाडौं।

चुनावी प्रचारप्रसार गर्न पाउने अन्तिम दिन होली पर्व परेकाले राजनीतिक दल तथा उम्मेदवारहरूले आइतबार नै करिब अन्तिम दिनझैँ बनाएर चुनावी प्रचारमालाई तीव्रता दिएका छन् । होली पर्व आज पहाडी क्षेत्रहरुमा र भोलि तराईका क्षेत्रहरुमा उल्लासमय रुपमा मनाइँदै छ ।

निर्वाचन सुरु हुुने दिनभन्दा ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधिमा निर्वाचनको प्रचारप्रसारलगायत कुनै पनि प्रकारको अन्तरक्रिया छलफल र सभा सम्मेलन गर्न पाइँदैन । त्यसले गर्दा दलहरू मतदातामाझ पुग्न सक्रिय देखिएका हुन् । दलहरूले सोमबार होली पर्व र त्यसमाथि निर्वाचन माहोल बिग्रिन सक्ने कुरालाई ध्यानमा राखेर प्रशासनले भीडभाडमा प्रतिबन्ध लगाएको कारण हिजो नै चुनावी प्रचार अभियानलाई लगभग अन्तिमझैँ गर्दै ¥याली, सभा र घरदैलो कार्यक्रम गरेका थिए ।

शनिवारदेखि अधिकांश राजनीतिक दलहरूले राजधानीका विभिन्न स्थानमा ठूला तथा साना सभासहित घरदैलो कार्यक्रम तीव्र बनाएका थिए । उम्मेदवारहरू बिहानैदेखि टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गर्दै विकास योजना, समसामयिक मुद्दा र आफ्ना प्रतिबद्धताबारे जानकारी गराउँदै मतदाताको समर्थन सुनिश्चित गराउन लागेका थिए । राजनीतिक दलका मुख्य नेतृत्वहरूले आफैं उपस्थिति भएर मतदातालाई अपिल गरेका थिए । होली पर्वकै दिन मौन अवधि सुरु हुने र प्रशासनले सम्भावित भीडभाड तथा अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाउने निर्णय गरेको थियो । त्यसले गर्दा सोमवार सामान्य भेटघाटबाहेक अरू कार्यक्रम राजनीतिक दलहरूले राखेका छैनन् । आज नै विभिन्न क्षेत्रमा चुनावी चहलपहल उच्च बनाइएको थियो ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अपनाउने भन्दै मौन अवधिमा नगद चलखेल वा आचारसंहिता उल्लंघन नगर्न आग्रह गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गर्ने बताउनुभयो । हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिब १ हजार १ सय उजुरी परेको आयोगले जनाएको छ । तीमध्ये धेरैको स्थानीय स्तरमै फस्र्योट भइसकेको र आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको छ । आयोग कुनै पनि दबाबमा नपरी कानुनबमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको निर्वाचनको संघारमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह प्रशासनले यसपटक होली पर्वमा कन्सर्टहरू आयोजना गर्न रोक लगाएको छ । यस वर्ष होली पर्व प्रतिनिधिसभाको निर्र्वाचनको संघारमै परेको छ । होली अर्थात् फागुपर्व मनाउने क्रममा हुनसक्ने झैझगडा, अप्रिय वातावरणले निर्वाचनको माहोल बिग्रिन सक्नेलाई आँकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो । प्रशासनले सर्वसाधारणलाई सीधै होली नमनाउन नभने पनि अप्रत्यक्ष रूपमा त्यस्तो अर्थ आउने व्यहोरा लेखेर पत्राचार गरेको छ ।

काठमाडौैं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले होली पर्वमा तडकभडकसहितका ठूलाठूला सांगीतिक कार्यक्रम नगर्न सर्वसाधारण सबैमा अनुरोध गरेको छ । त्यस्ता कार्यक्रम नगर्ने अवस्था सुनिश्चित गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रहरी कार्यालयलाई पनि परिपत्र पठाएको छ ।
निर्वाचन प्रचारप्रसार गर्न नपाउने मौन अवधि लागू हुने भन्दाअघिको अन्तिम दिन पनि होलीकै दिन परेकाले निर्वाचन प्रचारप्रसारका नाममा हुनसक्ने अवाञ्छित गतिविधिसमेत ध्यानमा राखिएको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले बताउनुभयो । गृह प्रशासनकै समन्वयमा प्रत्येक जिल्लाका प्रशासनले लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने र सार्वजनिक स्थानहरूमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने आदि क्रियाकलाप नगर्न सार्वजनिक सूचना नै जारी गरेको छ ।

होलीको दिन मानिसहरू जम्मा भई बाहिर होली खेल्न, लोला हान्न, मानिस जम्मा भई माइकिङ गरी हिँड्न रोक लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘घरभित्र बसेर होली खेल्न पाइयो तर बाहिर खेल्नमात्र रोक लगाइएको हो ।’

यसैबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिल्लास्थित प्रहरीका इन्चार्जहरूलाई आइतबार बिफ्रिङ गर्दै निर्वाचन सुरक्षामा कुनै पनि त्रुटि नगर्न निर्देशन दिनुभयो । ‘निर्वाचन हुने दिन नजिक आएको छ, अन्तिम अवस्थामा सुरक्षा चुक नहुने गरी काम गर्नुहोला’ –उहाँले भन्नुभयो । निर्वाचनको मुखमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीतिसहित प्रहरी परिचालन गर्न प्रदेशका डीआईजीहरू र विभागीय प्रमुखहरूलाई आईजीपी कार्कीले निर्देशन दिनुभएको थियो ।