दक्षिण अफ्रिका समूह विजेता


काठमाडौं।

दक्षिण अफ्रिकाले जारी टी २० विश्वकपअन्तर्गत सुपर एटअन्तर्गत समूह १ मा आफ्नो अन्तिम खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको छ । यो जितसँगैं दक्षिण अफ्रिका समूह विजेता टोलीसमेत बन्यो । टोलीको यस प्रतियोगितामा यो लगातार सातौं जित पनि हो ।

दक्षिण अफ्रिकाले समूह चरणमा चारै खेल जितेको थियो भने अहिले सुपर एटमा पनि तीनै खेल जितेको छ । समूह चरणमा समूह डी मा रहेको दक्षिण अफ्रिकाले न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडालाई हराएको थियो ।

यसपछि सुपर एटमा पनि दक्षिण अफ्रिकाको प्रदर्शन निकै सानदार रह्यो । जसमा, टोलीले सहआयोजक भारतलाई समेत हरायो भने अन्य दुई खेलमा वेस्ट इन्डिज र जिम्बाब्वेलाई पराजित गरेको हो ।

बलिङ उत्कृष्ट

टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बाब्वेले दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङमा खुलेर ब्याटिङ गर्न सकेन । जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदैं १ सय ५२ रन बनायो । जसमा, कप्तान सिकन्दर रजाले सर्वाधिक ७३ रन जोडे । अन्य खेलाडीको योगदान भने खासै रहेन ।

दक्षिण अफ्रिकाका बलरमा लुन्गी एनगीदीले रेकर्ड पनि राखे । यस खेलमा एक विकेट मात्रै लिए पनि उनी दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने बलर बनेका हुन् । उनले कूल ९० विकेटसंख्यामा पु¥याउँदैं दक्षिण अफ्रिकाका पूर्व बलर ताब्रेज शम्सीको ८९ विकेटको रेकर्ड तोडेका हुन् ।

ब्याटिङमा सन्तुलित

दक्षिण अफ्रिकाले १ सय ५३ रनको लक्ष्य १७.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो । क्विन्टन डी कक (०) र कप्तान एडेन मार्करम (४ रन) दुबै ओपनर १४ स्कोेरसम्म पभेलियन फर्केका थिए । यसको बावजुद कुनै दबाबमा नरही टोलीले सन्तुलित ब्याटिङ गर्दै जित हासिल गरेको थियो ।

टोलीका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन बनाएका थिए । अन्यमा रायन रिकेलन्टनले ३१ रन जोडे भने जर्ज लिन्डे ३० रनमा नटआउट रहे । यसैगरी डेभिड मिलरले २२ रन र ट्रिस्टान स्टब्सले २१ रनको योगदान दिएका थिए । जिम्बाब्वेको बलिङमा कप्तान रजाले नै सर्वाधिक ३ विकेट लिएका थिए ।

जिम्बाब्वेले कुनै खेल जितेन

जिम्बाब्वेले समूह चरणमा अस्टे«लिया र श्रीलंका जस्ता टी २० का विश्व विजेताहरूलाई हराएर सुपर एटमा स्थान सुरक्षित गरेको थियो । अस्टे«लिया जिम्बाब्वेसँग हार्दा नै समूह चरणबाटै बाहिरिनु परेको थियो ।

सुपर एटमा भने जिम्बाब्वेले तीनै खेलमा नराम्रो हार बेहोर्नुृ प¥यो । सुपर एटमा पहिलो दुई खेलमै जिम्बाब्वेविरुद्ध २ सय ५० भन्दा बढी रन प्रहार भएको थियो । पहिलो खेलमा वेस्ट इन्डिजले २ सय ५४ र दोस्रो खेलमा भारतले २ सय ५६ रन बनाएका थिए । टी २० विश्वकपमा सर्वाधिक रन बन्ने सूचीमा यी दुबै स्कोर क्रमशः दोस्रो र तेस्रो स्थानमा सूचित भए । अहिलेसम्म सर्वाधिक रनको रेकर्ड श्रीलंकाको नाममा छ । श्रीलंकाले २००७ को टी २० विश्वकपमा २ सय ६० रन बनाएको थियो ।
न्युजिल्यान्ड सेमिफाइनलमा

पाकिस्तानले श्रीलंकालाई ५ रनले हराएपछि न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले सुपर एटको यस महत्वपूर्ण खेलमा २ सय १२ रन पनि बनाएको थियो ।

यो स्कोरअनुसार पाकिस्तानले सेमिफाइनलमा पुग्न श्रीलंकालाई कम्तीमा १ सय ४७ रनभित्रमा रोक्नु पर्ने थियो । तर, सहआयोजक टोलीले २ सय ७ रन बनाएपछि पाकिस्तानको यात्रा सुपर एटसम्मै रह्यो ।

नेट रनरेटमा राम्रो भएकोले न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सफल भएको हो । यस समूहमा इंग्ल्यान्डले तीनै खेल जितेको हो भने न्युजिल्यान्ड र पाकिस्तानको ३÷३ अंक रह्यो । तर, श्रीलंकाले भने तीनै खेल हारेको थियो