काठमाडौं।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फका ३ हजार ४०६ उम्मेदवारमध्ये १ हजार ८६५ जनाले मात्रै चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । बाँकी १ हजार ५ सय ४१ जना उम्मेदवारले भने आइतबारसम्म आयोगको निर्देशनअनुसार खाता सञ्चालन गरेका छैनन् । सोमबारदेखि बैंक तथा वित्तीय संस्थामा बिदा हुने हुँदा खाता खोल्ने संख्या खासै नबढ्ने आयोगका अधिकारीहरु बताउँछन् ।
निर्वाचनमा भाग लिएका ६८ राजनीतिक दलमध्ये ११ दलले मात्र चुनावी प्रचारप्रसारका लागि छुट्टै बैंक खाता खोलेका छन्। खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीअन्तर्गत उम्मेदवारी दिएका दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने प्रावधान छ ।
कार्यविधिअनुसार समानुपातिकतर्फका उम्मेदवारका लागि २ लाख रुपियाँ र प्रत्यक्षतर्फ २५ देखि ३३ लाख रुपियाँसम्म खर्च सीमा तोकिएको छ । २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग अनिवार्य रूपमा सोही खातामार्फत जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण आयोगमा बुझाउनुपर्नेछ । आयोगले खाता नखोल्ने र खर्च विवरण नबुझाउने उम्मेदवार तथा दललाई जरिवाना गर्ने तथा कालोसूचीमा राख्ने चेतावनी दिएको छ । २०७९ सालको निर्वाचनमा खर्च विवरण नबुझाउने २ हजार ४३५ उम्मेदवारलाई जनही १५ हजार रुपियाँ जरिवाना गरिएको थियो ।











प्रतिक्रिया