मलाई थाहा छ, मैले भोगेका र यी लेखमा उल्लेख गरेका समस्याहरु देशका कैयौँ नागरिकका, कैयौँ पीडितका पीडाहरु भन्दा ठूलो होइन तर पनि नेपालको एउटा सामान्य नागरिक भएर यो देशमा बाँच्दै गर्दा विभिन्न समयमा मैले भोग्नुपरेको विभिन्न दिक्दारीको साराशं हो ।
मलाई लाग्छ, म जस्तै समस्या यही भूगोलमा पक्कै पनि अरु कसैले भोगेको छ ।
त्यसैले लेख्दैछु ।
यसमा आजको पुस्ताले के चाहन्छ ? र के कस्ता समस्याहरु दैनिक रुपमा भोग्नुपरेको छ भन्ने कथा छ । यसमा थोरै ‘सिस्टम’ प्रतिको ‘इरिटेसन’ र ‘एक्सपेक्टसनको’ कुरा छ ।
म कुनै सभ्रान्त परिवारबाट तालुक राख्दिन । मेरो स्व.बुवाको नाममा कुनै बिघौँ बिघा जमिन थिएन । इमान्दारीताको साथमा रोजीरोटि कमाएर समाजमा एउटा ठिकठाकको प्रतिष्ठा बनाएको इतिहास मात्र छ । मेरो घर जहाँ मेरी आमा मात्र हुनुहुन्छ, विप्रेषणको पैसाले आफ्नो जिन्दगी चलाउनुहुन्छ ।
मेरो भाई कुनै देशमा उफ् ! नभनी काम गर्दैछ । घण्टौँ घण्टा जुत्ता लगाएर काम गर्दा उसको कुहिएका नङ र पसिनाले भिजेर सेतै पल्टेको पैँतालाहरु देख्दा मलाई बेहद माया लाग्छ । मेरी गर्भिणी बुहारी परदेशमै घण्टौँको सिफ्ट भ्याएर थाकेर घरमा आएर आफ्नो सन्तानको सुन्दर भविष्यको कामना गर्छे । यता नेपालमा घरको चारकोठा खाली नै देख्दा मेरो मन अमिलो हुन्छ ।
हालसालै मैले एकजना बुज्रुक नेताले मानिसहरु विदेश च्वाइसले जान्छन् भनेर भनेको सुनेको थिएँ । एकदमै दुःखको साथमा उनको कुरालाई नकार्नुपर्ने हुन्छ कि युवाहरु ‘च्वाइस’ होइन रोजीरोटि र ‘सर्भाइभल लाइफ’ भन्दा अलिक माथि उठ्ने विकल्प नभएर विदेश गएका हुन् । सिधा भन्दा आफ्नो देशमा श्रमको मूल्य नपाएर गएका हुन् । पारिवारीक जिम्मेवारी, आर्थिक अभाव, बेरोजगारी र भविष्यप्रतिको अनिश्चितताले नै युवाहरुलाई विदेशमा घण्टा हान्न बाध्य पारेको हो ।
आज धेरै युवाहरूको मुखबाट एउटै कुरा सुन्न पाइन्छ – “देशमा सिस्टम छैन ।”
सिस्टम नहुनुको अर्थ केवल नियम नहुनु मात्र होइन, नियम भएर पनि कार्यान्वयन नहुनु हो ।
कानुन किताबमै सीमित छ, व्यवहारमा लागू हुँदैन भन्ने गुनासो व्यापक छ । जब योग्यताभन्दा चिनजान बलियो हुन्छ, जब श्रमभन्दा पहुँच ठूलो हुन्छ, तब युवाहरू निराश हुन्छन् । मेहनत गर्नेले अवसर पाउन गाहृो तर शक्तिशालीले सजिलै अघि बढ्ने अवस्था देखिँदा युवाहरूको विश्वास कमजोर बन्छ । यही कारणले धेरैले आफ्नै देशभित्र भविष्य देख्न सकिरहेका छैनन् ।
यहाँ मान्छे भएर मान्छे बन्न कि पैसा चाहिन्छ, कि पावर, कि त गर्न सक्नुपर्छ कसैको जिउ जुरी ।
जब भ्रष्टाचार, ढिलासुस्ती र जिम्मेवारीहीनता चारैतिर हुन्छ, तब नागरिकले राज्यप्रति भरोसा गुमाउँछन् । यहाँ पारदर्शिता नामको मात्र त छ ।
त्यसैले समस्या केवल आर्थिक मात्र होइन, संरचनागत पनि हो । जबसम्म नीति बनाउने र कार्यान्वयन गर्ने देशका महत्त्वपूर्ण हिस्सा इमानदार र जिम्मेवार हुँदैनन्, तबसम्म “सिस्टम छैन” भन्ने गुनासो दोहोरिरहनेछ ।
अब आफ्नो भोगाइतर्फ लागेँ ।
आजभोली काठमाण्डौमा म जस्तै विभिन्न राइड सेयरिङ एप प्रयोग गर्ने प्रयोगकर्ता धेरै छन् । प्रत्येक एप अनुसार त्यसको आफ्नै सुविधा र दायराहरु छन् । ती एपहरु युज गर्ने क्रममा राइडरबाट दुःख पाउनेहरु पनि पक्कै प्रशस्त नै छन् ।
हालसालै म एउटा समस्यामा परेँ ।
गएको शिवरात्रिको दिन म मन्दिर गएको थिएँ । फर्कँदा इन्ड्राइभ बुक गरेँ । तारकेश्वर महादेव मन्दिर देखि ग्रिन सिटि अस्पताल सम्मको यात्रा थियो । केही बेर बाइक अगाडि बढ्ने बित्तिकै बाइक लड्यो । म र राइडर दुवै भुइँमा पछारियौँ । केही क्षण त के भइरहेको छ भन्ने नै थाहा भएन । वरिपरिका व्यक्तिहरू आएर उठाएर राइडरलाई मेडिकल लैजानु भनेर सल्लाह दिएका थिए ।
मेरो ड्रप अफ प्वाइन्ट पनि ग्रिन सिटि अस्पताल नै भएकाले चालकले त्यहीँ पुर्याउँछन् जस्तो लागेको थियो ।
तर राइडरले “सामान्य घाउ हो” भन्दै इन्ड्राइभको पैसा पनि चाहिन्न भन्दै फरार भए । त्यसपछि उनी सम्पर्कमा आएनन् ।
म आफैँ मेडिकल गएँ, सामान्य ड्रेसिङ गराएँ । सुरुमा सामान्य जस्तो लाग्यो । तर घर पुग्दा ज्वरो आउन थाल्यो । राति दुखाइ धेरै बढेपछि भोलिपल्ट अस्पताल गएर एक्स–रे गराएँ । धन्न हड्डिमा ठूलो समस्या रहेनछ । टिटानसको सुई लगाए । डाक्टरले हप्ता दिन आराम गर्न सुझाए । घुँडामा चोट लागेकोले बेस्सरी दुखाई महशुस भयो । दुखाई बढ्दै जाँदा ज्यादै असह्य भएपछि सोचमग्न भएँ । कसरी ख्यालख्यालमै बिनासित्ति समय बर्बाद भयो, पैसा को खर्च अनि शारिरिक कष्ट भयो ।
अझ यो भन्दा नि राइडरको नियत कति नराम्रो !
मेडिकलबाट फर्कदैँ गर्दा मैले सो चालकलाई फोन गरेको थिएँ । फोनमा मैले ड्रेसिङ गराएको र पेनकिलर लिएको तर साँझसम्ममा दुखाई बढ्यो भने एक्स रे गर्नुपर्ने अवस्थामा निजलाई अस्पताल आउनुपर्ने र खर्च व्यहोर्नुपर्ने जानकारी गराएँ । तर चालकले फेरी भने, “मेरो के गल्ति छ र उपचार गर्नुपर्ने । बाटो नै नराम्रो थियो ।” उनीसंग भनाभन परेपछि उनले फोन काटे । त्यसपछि कैयौँ पटक फोन गर्दा पनि उठाएनन् ।
कहिलेकाहीँ गल्ति हुनु, भवितव्य हुनु स्वाभाविक हो तर आफ्नो कारण कोही समस्यामा पर्यो भने त्यसको जिम्मेवारी नलिने ? म जस्तै मानिसहरु दैनिक रुपमा यस्ता किसिमका सेवा प्रयोग गरिरहेका हुन्छन् । त्यसो गर्दा यस्तै घटना कति जनासँग भइरहेका होलान् भन्ने सोच आयो ।
हामीले प्रयोग गरिरहेका यी सेवाहरू साँच्चै सुरक्षित हुनुपर्दैन र ? भन्ने लाग्यो । मेरो केस त सामान्य भयो । यदि ठूलो दुर्घटना भएको भए र चालक फरार भएको भए के हुन्थ्यो ?
घटना भएको दिनपछि पनि म निरन्तर इन्ड्राइभ चढिरहेको छु । नयाँ–नयाँ चालकसंग कुरा गरिरहेको छु । फरक–फरक कुराहरु थाहा पाइरहेको छु । एउटा लाइसेन्स को कपि बुझाएको भरमा इन्ड्राइभ चालकमा नाम दर्ता गर्न पाइने रहेछ । प्रत्येक राइडको १० प्रतिशत मात्र कम्पनीलाई बुझाए पुग्ने रैछ । सबै कुरा अनलाइन । सशरिर उपस्थित भएर केही गर्नै नपर्ने ।
मैले सोधेका मध्यलाई त सो को अफिस पनि थाहा रहेनछ । अनि बिमा बारे त झनै बेखबर ।
म त छक्क परेँ ।ओह











प्रतिक्रिया