मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षा उच्च प्राथमिकतामा रहेको सरकारको भनाइ


काठमाडौँ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार उक्त क्षेत्रमा करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली कार्यरत वा बसोबास गर्दै आएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति सरकार गम्भीर रहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको जनाएको छ। मन्त्रालयले सम्बन्धित देशहरूका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।

नेपाली नागरिकको अवस्थाबारे नियमित जानकारी संकलन र समन्वयका लागि सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग ह्वाट्सएप समूह गठन गरिएको जानकारी पनि दिइएको छ। त्यस्तै, उद्धार तथा तथ्यांक व्यवस्थापनका लागि कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम सुरु गरिएको छ। उक्त प्लेटफर्म सबै नेपाली नियोगहरूको वेबसाइटमा उपलब्ध गराइने जनाइएको छ।

मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। सम्भावित युद्धको अवस्था, त्यसको अवधि तथा सम्बन्धित देशहरूको तयारीका आधारमा उद्धार रणनीति तय गरिने बताइएको छ।

मन्त्रालयका अनुसार हाल इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना त्यहीं छन्। इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन्।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताएका छन्। उनका अनुसार त्यहाँ रहेका १० नेपाली नियोगले स्थानीय सरकार तथा नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई नियमित प्रतिवेदन पठाइरहेका छन्।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल सरकारले मध्यपूर्वका घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सबै पक्षलाई संयमता अपनाई तनाव नबढाउन आग्रह गरेको बताए। नेपालले कूटनीतिक तथा वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघ को वडापत्र तथा अन्तर्राष्ट्रिय कानूनको पालना गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न आह्वान गरेको छ।

सरकारले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आधिकारिक सूचना पालना गर्न तथा दूतावास र परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरेको छ।