पुरानो भो सगरमाथा-जाऊ छोरा ढालिदेऊ
हजुरबाको बुढो घर-आगो झोंस, बालिदेऊ
आमा तिम्री अनपढ छे-संस्कारका कुरा गर्छे
‘सिलोक’ पढ्ने किताब उसको-सन्दुक समेत फालिदेऊ।
किन चाहियो मठ-मन्दिर, छोर्तेन-गुम्बा, गुरुद्वारा?
भत्काइदेऊ बराजुले, जल चढाउने ढुंगेधारा
सामन्तीले बनाएका गढी किल्ला तोडिदेऊ
चौतारी र देउरालीको बाटो हिँड्नै छोडिदेऊ।
निकालिदेऊ खांबेढुंगा-त्यसमै रोटी बेल्नुपर्छ
छानो जलाऊ-खरानीले, यो साल होली खेल्नुपर्छ
हेरि राख, चटक हुन्छ, अर्को नयाँ घर बन्छ
यो घर अब पुरानो भो-भत्काएर छाडिदेऊ।
के गर्छ यो झण्डाले खै? कपडाको थोत्रो टालो
हिंजोका सब लुटेरा हुन्-अब आयो तिम्रो पालो
हिमाल-पहाड-तराई-मधेश जोडौं भन्न आउनेलाई
लाज पनि लजाउने, शब्द छानी गाली देऊ।
मेरो भोगाइ बिर्सिदेऊ,विदेशीका कुरा सुन्नु
अर्ति देलान् बुढापाका-दुबै कान छोप्नु/थुन्नु
हिंजोलाई मेटाइदेउ, बन्द गर-टालिदेऊ
पुरानो भो सगरमाथा-जाऊ छोरा ढालीदेऊ।











प्रतिक्रिया