भत्केको मोटरेबल पुलमाथि झोलुङ्गे पुल

846
Shares

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथि बनेको मोटरेबल पक्की पुलको भाँचिएको भागमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखिको सास्तीबाट आंशिक रुपमा भए पनि राहत पाएका छन् । ‘पक्की पुलमाथि झोलुङ्गे पुल’ को रूपमा देखिएको यो संरचना अनौठो भए पनि स्थानीयका लागि अत्यन्तै उपयोगी साबित भएको छ ।

२०६७ सालमा महालक्ष्मी–लोकप्रिय जेभी, कलंकीले ९ करोड ७६ लाख रुपियाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित उक्त पुल निर्माण शुरु गरेको थियो । तर पुल निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै ११ करोड २७ लाख रुपियाँ पुगेको थियो । लामो प्रतीक्षापछि २०७८ सालमा पुल निर्माण सम्पन्न भए पनि सोही वर्ष आएको बाढीले पुलमा ठूलो क्षति पु¥यायो । बाढीले पुलका २ पिलर र ३ स्ल्याबमा असर पु¥याउँदा करिब ८० मिटर भाग पूर्णरूपमा प्रयोगविहीन बन्न पुगेको थियो ।

यसरी निर्माण भएको पुल सञ्चालनमा नआउँदै क्षतिग्रस्त बनेपछि स्थानीयवासीले वर्षौंसम्म सास्ती खेप्नुपरेको थियो । चौदण्डीगढी नगरपालिका–५, ९ र १० का झन्डै २० हजार स्थानीय प्रत्यक्षरूपमा प्रभावित भएका थिए । स्थानीयका अनुसार पुल नहुँदा शिवाई, सुन्दरपुर र हडिया क्षेत्रका नागरिकलाई बेल्टार बजार तथा पालिका केन्द्रसम्म पुग्न कठिन हुने गरेको थियो । विशेष गरी वर्षायाममा डुंगाको प्रयोग गर्नुपर्ने वा सप्तरी, फत्तेपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपथ्र्यो ।

लामो समयसम्म स्थायी समाधान नआएपछि कोशी प्रदेश सरकारले तत्कालका लागि वैकल्पिक उपाय अपनाएको छ । प्रदेश सरकारले ६० लाख रुपियाँ विनियोजन गरी क्षतिग्रस्त करिब ८० मिटर भागमाथि झोलुङ्गे पुल निर्माण गरेको हो । उक्त पुलबाट हाल मोटरसाइकल र पैदलयात्रीलाई आवतजावत गर्न सहज भएको छ । २ सय ८० मिटर लम्बाइ र साढे ५ मिटर चौडाइ रहेको मूल मोटरेबल पुलमा १२ पिलर र ११ वटा स्ल्याब रहेका थिए । तीमध्ये क्षति पुगेको भागलाई लक्षित गर्दै झोलुङ्गे पुल निर्माण गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले संघीय सरकारले निर्माण गरेको पुल भएकाले सोही संरचनामा प्रत्यक्ष बजेट विनियोजन गर्न कानुनी जटिलता रहेको बताउनुभयो । उहाँले स्थायी मर्मत वा पुनर्निर्माण नहुँदासम्म नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्न अस्थायी समाधानस्वरूप झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिनुभयो । स्थानीय चौदण्डीगढी–६ का माधव खड्का भन्नुहुन्छ, ‘झोलुङ्गे पुल बनेपछि सहजरूपमा आवतजावत गर्न पाइएको छ ।’

पुलमाथि पुल निर्माण अनौठो भए पनि स्थानीयवासीले व्यावहारिक समाधानको रूपमा लिएका छन् । उनीहरूका अनुसार पूर्णरूपमा मोटरेबल पुल सञ्चालनमा नआएसम्मका लागि यो व्यवस्था निकै उपयोगी बनेको छ । यद्यपि, दीर्घकालीन समाधानका लागि भने क्षतिग्रस्त मोटरेबल पुलको मर्मत तथा पुनर्निर्माण अपरिहार्य देखिएको छ ।