मध्यपूर्व उडान बन्द, त्रिभुवन विमानस्थलमा नेपाली श्रमिक अलपत्र


काठमाडौँ । Israel–Iran बीच हिजोदेखि सुरु भएको तनावका कारण मध्यपूर्वतर्फका हवाई उडानहरू स्थगित हुँदा नेपाली श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।

हिजो दिउँसोदेखि मध्यपूर्वका सबै फ्लाइटहरू बन्द भएपछि कतार, दुबई, कुवेतलगायत गन्तव्यतर्फ जान लागेका यात्रुहरू विमानस्थलमै रोकिएका हुन्। सिराहाबाट काठमाडौँ आएका परमेश्वर शाहले बेलुकी ९ बजेको फ्लाइट रहे पनि एयरपोर्ट पुगेपछि मात्र उडान रद्द भएको जानकारी पाएको बताए। उनले बस्न र खानका लागि एक दिनको मात्र खर्च ल्याएकाले थप समस्या भएको गुनासो गरे।

आइतबार बिहान पनि मध्यपूर्व जाने अधिकांश उडानहरू रद्द देखिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार र दमाम लगायतका गन्तव्यमा हुने उडानहरू स्थगित भएका छन्।

उक्त क्षेत्रका विमानस्थलहरूमा हवाई प्रतिबन्ध लागेकाले उडान पुनः सञ्चालन कहिलेबाट हुने भन्नेबारे स्पष्ट जानकारी आउन सकेको छैन।