कांग्रेसका पूर्व जिल्ला उपसभापति गणेशमान लामा एमाले प्रवेश : तीन प्रतिस्पर्धीलाई उछिन्दै अमित लामा


काठमाडौं ।

अगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रे क्षेत्र नम्बर १ मा चौपक्षीय प्रतिस्पर्धा देखिएको छ । १५ दल र तीन स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेको यस क्षेत्रमा मुख्यत ः नेकपा एमालेका अमित लामा, नेपाली कांग्रेसका गुणराज मुक्तान, नेपाली कम्युनिस्ट पार्टीका दिनानाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीका मधु चौलागाईंबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीको जिल्ला सचिव हुन् । यस्तै रास्वपाका चौलागाइँ कानुन व्यवसायी तथा नेकपाका उम्मेदवार गौतम चौंँरीदेउराली गाउँपालिकाको पूर्व अध्यक्ष हुन् । ठूला दलका यी उम्मेदवार पहिलोपटक प्रतिस्पर्धा गर्दै काभ्रे १ मा चुनावी माहोल पनि निकै रोचक बनेको छ । घरदैलो अभियानका क्रममा जनताबाट पाएको स्वागत, समर्थन, माया र पार्टी प्रवेशको लहरले तीब्र प्रतिस्र्धाका बीच नेकपा एमालेका उम्मेदवार अमित लामातिर चुनावी माहोल बन्दै गएको विश्लेषण हुन थालेको छ ।

२०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ एमालेका केन्द्रीय सदस्य रेशम लामालाई ३ हजार ९६४ मतले पछि पार्दै ३४ हजार ४१२ मत प्राप्त गरी विजयी भएका थिए । कांग्रेस र माओवादी गठबन्धनबाट साझा उम्मेदवार बनेका दोङलाई एमालेले राम्रै ठक्कर दिएको थियो । समानुपातिकतर्फ एमालेले २४ हजार ७९, कांग्रेस २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्र १७ हजार ३३५, रास्वपा ९ हजार ७९४, राप्रपा दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेको थियो ।

अहिले कुनै दलबीच गठबन्धन नहुँदा एमालेले आफ्नो समानुपातिक मत मात्र जोगाउन सके सहज बाजी मार्ने अवस्था देखिन्छ । युवामाझ निकै लोकप्रिय र समाजसेवादेखि जनताको सुखदुःखमा साथ दिँदै आएका अमित लामाको व्यक्तिगत आकर्षणले पनि यस क्षेत्रमा उनको माहोल राम्रै बन्दै गएको छ । पछिल्लो समय कांग्रेसका पूर्व जिल्ला उपसभापति गणेशमान लामा र नेकपाका जिल्ला नेता ठाकुरध्वज लामाको समर्थनले अमितको अवस्था झनै बलियो बनेको छ ।

पूर्व गाविस अध्यक्ष समेत रहेका लामाको प्रवेशले एमालेका कार्यकर्ता र समर्थकहरु विजयी हुनेमा ढुक्क हुँदै निकै उत्साहित भएका छन् । रोशी गाउँपालिका–५ का जुझारु युवा नेता ठाकुरध्वजले २६ वर्ष माओवादी आन्दोलनमा बिताएका थिए । उनी अहिले देश र लोकतन्त्र जोगाउनु भन्दै अमितलाई जिताउन सक्रियताका साथ लागेका छन् ।

काभ्रे १ मा अमित लामा अहिले सबैको आशाको पर्याय बनेका छन् । स्थानीय समस्या समाधानदेखि राष्ट्रिय स्तरमा राम्रो भूमिका खेल्नसक्ने उम्मेदवारका रुपमा उनलाई लिन थालिएको छ । घरदैलो अभियानका क्रममा उनले गाउँका समस्याहरु मोटरबाटो, खानेपानी, विद्यालय, स्वास्थ्यसेवा लगायत स्थानीयको सु्ख दुःखलाई पनि मसिनुसँग बुझेका छन् ।

विगतदेखि आश्वासन मात्र पाएर वाक्क भएका यस क्षेत्रका बासिन्दाहरुमा अमितको प्रतिबद्धताले नयाँ आशा पलाएको छ । यस क्षेत्रमा अधुरा रहेका विकासका काम र जनताले भोग्नु परेका समस्या समाधान गर्न सक्ने एक मात्र उम्मेदवारका रुपमा अमितलाई लिन थालिएको छ । चुनावी अभियानका क्रममा तीन प्रतिस्पर्धीलाई उछिन्दै उनी अगाडि देखिएका छन् ।