प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणमा प्राथमिकता


करिव एक दशकदेखि सक्रिय र सशक्त सामाजिक अभियन्ताको रूपमा चर्चामा आएका राजाराम तण्डुकार ललितपुर जिल्लाको क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टी (चिम चिह्न) का तर्फबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ । एमबीएसम्मको अध्ययन गरेका तण्डुकार मूल रूपमा हस्तकला उद्योग तथा व्यापार व्यावसायी एवं जुझारु सामाजिक अभियन्ता हुनुहुन्छ । प्रस्तुत छ, फागुन २१ गते हुन लागेको आम निर्वाचनको सन्दर्भमा उहाँसँग गरिएको ताजा कुराकानीको सार ः


तपाईंले सामाजिक अभियन्ताका रूपमा उपत्यकाका सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको मुद्दालाई गम्भीर रूपमा उठाएर चर्चामा आउनुभएको थियो । एक्कासि राजनीतिमा कसरी आउनुभयो ?
म २०७२ सालदेखि निरन्तर रूपमा सांस्कृतिक एवं प्राकृतिक सम्पदा र भाषाको संरक्षण, वातावरणका मुद्दाहरुमा सक्रिय रूपमा कार्य गरिरहेका छु । यस अवधिमा यी मुद्दाहरु उठाएर कार्यान्वयनमा लाने सन्दर्भमा अन्तमा नीति निर्माण तहमै समस्या देखें ।

सो तहका जिम्मेवार पदाधिकारीहरुले कुरा नबुझेको वा हेल्चेक्र्याइँ गरेको मैले पाएँ । धेरै सुभचिन्तकहरुले पनि सडकबाट मात्र होइन सदनमा पुगेर यी महत्वपूर्ण विषयमा कुरा उठाउनुपर्छ भनेर सुझाव दिनुभयो । कतिपय मानिसले चाहिँ ‘सडकमा कति कराउँछस् ? सक्छस् भने चुनाव जितेर संसद्मा गएर कुरा उठा न’ भनेर चुनौती दिए ।
यी सुझावहरु र चुनौतीले मलाई प्रभाव पा¥यो । कति अरूसँग गुनासो गर्दै हिँड्ने ? कामै गरेर देखाउँछु भन्ने भावनाबाट प्रेरित भई चुनावमा उठेको हो ।

खोला मापदण्डकै विषयमा मैले धेरै सांसद, मन्त्रीहरुलाई नयाँ मापदण्ड लागू गर्नुहुँदैन, यसबाट करिव ८० हजार घरधुरीका झन्डै १० लाख मानिस प्रत्यक्ष प्रभावित हुन्छन् भनेर अनुरोध गरें । दुई जना प्रदेश सांसदबाहेक कतैबाट पनि सुनवाई भएन । त्यस बेला मैले बेलुकीपख खोला मापदण्डपीडित र अन्य सरकोकारवालाहरु बीच हरेक दिनजस्तो जुममा छलफल चलाउने गरेको थिएँ । तर, त्यस क्षेत्रका सांसदलाई अनुरोध गर्दा एकपटक पनि आउनुभएन ।

पीडित पक्षहरुमा निकै तनाव भएको, कतिपयको रक्तचाप बढेको र कतिपयको त हृदयघात पनि भएको थियो । कतिको त बिहे गर्न भनेर सुपारी पठाइसकेकोमा घर २० मिटरको मापदण्डमा पर्छ भनेर बिहे नै तोडिएको थियो । त्यस्तो अवस्थामा पनि सांसदले सहयोग गरेनन् । त्यसपछि समूह बनाएर लगातार १८ महिनासम्म आन्दोलनको नेतृत्व गरें । परिणामस्वरूप सर्र्वोच्च अदालतबाट फैसला भइसकेको मुद्दालाई पनि उल्टाउन सफल भयौं । मैले खोलाको मापदण्ड २१ सालको नापी नक्साअनुसार नै हुनुपर्छ, पचासौं वर्षदेखि बसोवास गरिरहेका मानिसलाई सडकमा पु¥याउने स्थिति आउनुहँुदैन भनेर यो मुद्दा अघि बढाएको हुँ ।

मैले उठाएका मुद्दाहरु स्थानीय, क्षेत्रीय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थिए तर पनि सामान्य समस्या भनेर वास्ता नगरिएको होला । मैले देशमा बोलिने सम्पूर्ण मातृ भाषाको कुरा उठाएको थिएँ । मैले प्राकृतिक सम्पदा र विश्व सम्पदाहरुको संरक्षणको कुरा उठाएको थिएँ तर कतिपयले बुझेर पनि संकुचित भावना राखे । अनि म अभियन्ताका रूपमा मात्र बोलेर भन्दा नीतिगत तहमा पुगेर अरू सांसदहरुलाई पनि बुझाउन र ठूलो स्वरमा आवाज उठाउनका लागि सांसद पदको उम्मेदवार भएको हुँ ।

सामाजिक अभियन्ताका रूपमा यहाँले के–के काम गर्नुभयो त ?
काठमाडौं उपत्यकाका रैथाने समुदायलाई विस्थापनबाट जोगाउन सक्रिय रूपमा अभियान चलाएका, न्यून वा बिनामुआब्जा घर–जग्गा गुमाइरहेका जनताको पक्षमा ‘सेभ नेपाल भ्याली’ अभियान चलाएको फास्ट ट्रयाकका कारण संकटमा परेका प्राचीन सिखली सभ्याता, सिकाली मन्दिर, बुङ्गमती र खोकनाको भूमि जोगाउने, गैरन्यायिक सडक विस्तारबाट विस्थापित हुँदै गरेका उपत्यकाबासीका निजी घर जग्गा सम्पत्तिको अधिकारका लागि निरन्तर सक्रिय भएको, गुठी विधेयक विरुद्ध र मेलम्ची खानेपानी आयोजना ढिलासुस्तीविरुद्ध अभियान चलाएको, धर्म संस्कृतिको रक्षा, नेपाली नेवाः समुदायको भूमिको संरक्षणमा सक्रिय अभियान चलाएको, लगनखेल सप्तपाताल पोखरी पुनःस्थापना गर्न र पुल्चोक नपुखुमा बन्न लागेको भवन रोक्न निणायक भूमिका खेलेको, सडक कुकुर तथा जनावरको अधिकारको लागि आवाज उठाएको, रानी पोखरी, काष्ठमण्डपलगायत सम्पदालाई प्राचीन स्वरूपमै बनाउन दबाब दिएको, काठमाडौंलाई हरित शहर बनाउने र साइकल सिटीका पक्षमा, स्वच्छ वातावारणका लागि अभियान चलाएको छु । अभियन्ताका रूपमा काम गर्दा आफूले देखेका नीतिगत कमी–कमजोरीलाई सुधार गर्ने उद्देश्यले अर्को फड्को मार्ने प्रयासस्वरूप चुनावमा होमिएको छु ।


सांसद हुनका लागि के–के मुद्दा लिएर जाँदै हुनुहुन्छ ?
मेरो निर्वाचन क्षेत्रको कुरा गर्ने हो भने ललितपुर महानगर पालिका अन्तर्गत पर्ने ९ वटै वडा सांस्कृतिक हिसावले अन्यन्तै महत्वपूर्ण छन् । यो २ सय वर्षभन्दा अघिकै योजनाबद्ध शहर हो । यो क्षेत्रमा व्यवस्थापकीय कमी–कमजोरी भए पनि प्रचूर सम्भावना भएको शहर हो । हाम्रो क्षेत्रमा यस्ता मूर्तिकारहरु हुनुहुन्छ कि नेपालका प्रसिद्ध होटलहरुदेखि विश्वका प्रसिद्ध स्थानहरुमा उहाँहरुले बनाएको मूर्तिहरुको माग छ ।

यस्तो महत्वपूर्ण कलाको केन्द्र रहेको यस स्थानमा मूर्तिहरु उत्पादनमा व्यवस्थापन तथा सहजीकरण गरिदिने र विश्व बजार प्रवद्र्धनमा सहयोग गरिदिन आवश्यक छ । त्यसो गर्न सके आर्थिक आम्दानी बढ्ने मात्र होइन, रोजगारीको समस्या पनि समाधान हुनसक्छ । विश्व सम्पदाहरुलगायत अन्य महत्वपूर्ण सम्पदाहरु छन् । विश्वबाट पर्यटकहरु आइरहेका छन् तर सामान्यतया आधा दिनका लागि मात्र । पर्यटकले विताउने यो समयावधि बढाउन सकिन्छ । महालक्ष्मी नगरपालीकाको १० वटै वडा (थसि, सिद्धिपुर, लुभु आदि) सांस्कृतिक हिसावले महत्वपूर्ण छन् ।

लामाटार लाँकुरी भञ्ज्याङ लगायतका क्षेत्र प्राकृतिक संपदाहरु छन् । यसलाई हाइकिङ गर्ने बाटोहरु बनाउने, होम स्टेहरु बनाउनु हरेक हिसावले महत्वपूर्ण छ तर पूर्वाधारको राम्रो विकास भएको छैन । त्यो क्षेत्रमा स्वास्थ्य र शिक्षाको विस्तार मजबुत हुनसकेको छैन । त्यो क्षेत्रमा स्थानीय जनताले हेल्थपोस्ट नमागे पनि राखिदिन आवश्यक छ । पाटन अस्पताललाई अझ सुदृढ बनाउन पहल गर्न सकिन्छ । सेवा–सुविधा र पूर्वाधारमा सुधार गर्न सकिन्छ । स्थानीय बासिन्दाले आफ्नै ठाउँमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् । स्वास्थ्य नागरिकको अधिकार पनि हो ।

इमाडोल क्षेत्रमा सबैजसोले पानीको समस्या उठाउनु भएको छ । त्यसको तत्काल समाधान गर्ने उपायहरु मैले देखेको छु । कतिपय स्थानमा बाढी आउने समस्या रहेछ, त्यसको पनि समाधान मैले देखेको छु ।

शहरी क्षेत्रमा एउटै माग मैले देखें, त्यो हो राज्यको उत्पीडनबाट मुक्ति । राज्यबाट सांस्कृति, भाषिक अतिक्रमण बढेको छ । होली मनाउने, देउसी खेल्ने जस्ता हजारौं वर्षदेखि चलीआएका संस्कृतिलाई सुरक्षाको नाममा खुम्च्याउने कार्य भएको छ । यो गलत हो । यस्ता मुद्दाहरु उठाउन, विरोध गर्नका लागि मेरो उम्मेदवारी हो । मापसे गरेर गाडी चलाउन पाइदैन भन्नु सही हो । तर, अहिले त ब्रेथलाइजर आइसक्यो कसले कति खाएको छ, थाहा हुन्छ ।

नेवारी संस्कृतिमा मदिरा सगुनका रूपमा खाने चलन छ । यस्तो सांस्कृतिक कुरामा राज्यले हस्तक्षेप गर्नुहुँदैन । सगुनका रूपमा न्यूनतम मात्रामा खाँदा पनि कारबाही गर्नु त भएन नि । यति मात्रा भन्दा बढी खाएर सवारीसाधन चलाउन पाइँदैन भन्ने नियम ल्याउनुप¥यो नि । ब्रेथलाइजर नहुँदाको नियम ब्रेथलाइजर आइसकेपछि पनि परिमार्जन भएको छैन । गाँजा र त्यसबाट उत्पादित वस्तु प्रयोग नगर्नू भन्छ सरकारी नियमले । तर, यसका उत्पादनहरु अहिले नेपालमात्र होइन विदेशमा पनि ठूलो माग तथा प्रयोग भइरहेको छ । तर, सरकार यति नियम पनि परिमार्जन गर्न सक्तैन । यी लगायतका मुद्दाहरु म सदनमा उठाउने छु ।

घरदैलो कार्यक्रममा जाँदा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मेरो उम्मेदवारी घोषण भएपछि मतदाताले फोन गरेर ‘हामी कसलाई भोट हाल्ने भनेर अल्मलमा थियौं । ल तपाईं उठ्नुभयो बधाई छ, हाम्रो क्षेत्रमा आफ्ना कुरा राख्न आउनुहोस्’ भनेर बोलाउनुभयो । मैले कहीं मानिसको भेला बोलाउनुपरेको छैन । बोलाएको स्थानमा जाँदा स्वतःस्फूर्त मानिसहरु समर्थन जनाउन आउनुभएको छ । मेरो उम्मेदवारीबाट मेरो क्षेत्रका मतदाता एकदमै खुसी भएको अवस्था छ । मैले विगत दश वर्षदेखि अभियन्ताका रूपमा गरेका कामको प्रतिफल अहिले पाइरहेको अनुभव भएको छ । म थसी जाँदा एक जना आमाले उज्यालो नेपाल पार्टीको लोगो सुकुलको चिम बनाएर दिनुभएको थियो । त्यो एकदमै राम्रो छ । उहाँको मायाँ देखेर म धेरै भावुक भएँ ।

मलाई भोट हाल्छु भनेर फोन गर्नेहरुको कुरा सुनेर म दङ्ग छु, अरू पार्टीमा लागेकाहरुले पनि स्वतःस्फूर्त रूपमा फोन गरेर भोट दिने कुरा गर्नुभएको छ । यस कारणले म चुनाव जित्नेमा ढुक्क छु ।

तपाईंले चुनावको सन्दर्भमा जनतालाई केही वाचा गर्नुभएको छ कि ?
मैले मतदातालाई यो रक्तदान, भिक्षा दान वा सम्पत्ति दान गरे जस्तो होइन, यो तपाईंले विश्वास गरेको उम्मेदवारलाई हक–अधिकार प्रत्यायोजन गरेको हो । म जाने ठाउँ भनेको प्रतिनिधसभा हो । त्यहाँ सबै भाषा, जाति, लिंगको प्रतिनिधित्व हुनुपर्छ । त्यो अनुसारले तपाईंको प्रतिनिधि पनि त्यहाँ पुग्नुपर्छ ।

तपाईंको प्रतिनिधि हुन लायक को हो त्यसलाई भोट दिनुपर्छ भन्ने गरेको छु । फागुन २१ भनेको पाँच वर्षका लागि वारेसनामा दिने दिन जस्तै हो । यो वारेस पाँच वर्षसम्म बदर हुँदैन । त्यसका लागि त ठूलो आन्दोलन नै हुनुपर्छ । त्यसैले यो मतदान होइन आफनो अधिकार प्रत्यायोजन गर्ने हो । आज काम गर्छु भन्नेलाई होइन पहिलेदेखि अहिलेसम्म काम गरिरहेकालाई आफ्नो अधिकार प्रत्यायोजन गर्नुपर्छ भन्ने गरेको छु । म जे गर्न सक्ने हो त्यति मात्र गर्ने वाचा गर्ने गरेको छु । झुठा आश्वासनले जनतामा निराशा ल्याउँछ ।

हाम्रो क्षेत्रमा साइकल टुरिज्मको पनि विकास गर्न सकिन्छ । स्थानीय बासिन्दालाई पनि स्वास्थ्यका दृष्टिले धेरै राम्रो हुन्छ ।
२ नम्बर क्षेत्रमा बाहः बहीहरु एकदम धेरै छन् । यहाँ घुम्दा मात्र पनि खुला जीवन्त संग्रहालयमा पुगेजस्तो हुन्छ । ललितपुर विश्वका बज्रयानहरुको आध्यत्माको केन्द्र नै हो । हामीले यहाँको हस्तकला, काष्ठकला, धातुकलाको ज्ञानलाई पर्यटकीय दृष्टिले अरूलाई बेच्न सकिन्छ । विदेशीलाई छोटो अवधिको तालिम र ज्ञान दिन सकिन्छ । विदेशी विद्यार्थीलाई स्थानीय सीप सिकाउन, भ्रमण गराउन सकिन्छ । छोटो तालिम दिन सकिन्छ । प्रचारप्रसार गर्न सकिन्छ ।

युवालाई सीपमूलक तालिम, स्टार्टअप सहयोग, ब्रान्डिङ, मार्केटिङ, सोसल मिडिया र एआई प्रयोग गर्ने सीप सिकाउने सोच रहेको छ । ललितपुरको हस्तकला विश्वभर प्रवद्र्धन गर्ने डिजिटल अभियान, परम्परागत मिठाई लगायतका स्थानीय मौलिक खानालाई काठमाडौंभर डेलिभरी प्रणालीमार्फत विस्तार गर्ने, इन्टरप्रेनरसिप तालिम दिने, महिलाका लागि उद्यमशीलता कोष निर्माण गर्ने मेरो सोच रहेको छ । परम्परागत नेवारी खाना आतिथ्य परिवारसँगै बसेर खाने, कोठा बेच्ने भन्दा पनि अनुभव बेच्न जोड दिनुपर्छ भन्ने मेरो विचार छ । मंलबजारका मन्दिरहरुमा मर्निङवाक गर्ने, माटोको भाँडा बनाउने, पौभा चित्रकारी गर्न, मौलिक संगीतको प्रवद्र्धन गर्न, परम्परागत खाना बनाउने तरिका सिकाएर उद्यमशीलता प्रवद्र्धन गर्न सकिन्छ । म पहल गर्नेछु ।

के मुलुकको राजनीतिक नेतृत्वमा पुस्तान्तरणको आवश्यकता भएको हो ?
विचार उमेरले फरक पर्छ तर सबै कुरा उमेरचाहिँ होइन । यहाँ कहिले उमेर समूहका आधारमा त कहिले पुस्ताका नाममा कहिले जातीय हिसावले द्वन्द्व सिर्जना गर्न खोजिन्छ । यो ठीक होइन । उमेर हिसावले नै सबै कुरा सही र गलत भन्ने मान्दिनँ । कहिलेकाहीं बच्चा र वृद्धले भनेका कुरा पनि सही हुन्छन् । त्यसैले राजनीतिमा उमेरको त्यति धेरै महत्व देख्दिनँ । ७०–८० वर्षका पुगेकालाई त हाम्रो संस्कृति प्ररम्पराको हिसावले पनि दुःख दिनु हुँदैन । आराम दिनुपर्छ, उहाँहरुले नचाहेर पनि गल्ती गर्न सक्नुहुन्छ । त्यसैले राजनीति गर्ने उमेर भनेको ५०–६० वर्षको उमेरको सेरोफेरोसम्म हो । अनुभव कम भएका र कम उमेरका युवालाई निर्वाचित गराउँदा पनि गल्ती धेरै हुन सक्छन् ।

उमेर पाको भए पनि ललितपुरका मेयर चिरिबाबु महर्जनले ललितपुरमा देखाउनुभएको अनुशासन, फोहोर व्यवस्थापन र प्रशासनिक सुधार प्रशंसनीय छ । राम्रो कामको विरोध गर्नुहुँदैन बरु त्यसलाई निरन्तरता दिनुपर्छ । म प्रतिस्पर्धा गर्न आएको हुँ, विरोध गर्न होइन । राम्रो कामलाई अझ बलियो बनाउन आएको हुँ म त्यो गरेरे छोड्ने छु ।

अन्त्यमा, आफ्नो क्षेत्रका आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
केही वर्षयता सोसियल मिडिया हावी भएको छ । तर, अधिकांश त्यस्ता मिडिया जिम्मेवार भएको मैले पाइनँ । उनीहरुले कसैलाई जवाफ दिनुपर्दैन ? त्यसैले मिडिया म्यानुपुलेसनमा नपरी आफूले पनि अलिकति अध्ययन गरेर बुझेर कुन उम्मेदवार सही हो भन्ने जानेर मतदानको निर्णय लिनु राम्रो हुन्छ ।

 अभियन्ताका रूपमा मात्र बोलेर भन्दा नीतिगत तहमा पुगेर अरू सांसदलाई पनि बुझाउन र ठूलो स्वरमा आवाज उठाउनका लागि उम्मेदवारी दिएको हुँ ।
 अभियन्ताका रूपमा काम गर्दा आफूले देखेका नीतिगत कमी–कमजोरीलाई सुधार गर्ने उद्देश्यले अर्को फड्को मार्ने प्रयासस्वरूप चुनावमा होमिएको छु ।
 युवालाई सीपमूलक तालिम, स्टार्टअप सहयोग, ब्रान्डिङ, मार्केटिङ, सोसल मिडिया र एआई प्रयोग गर्ने सीप सिकाउने सोच रहेको छ ।
 ललितपुरको हस्तकला विश्वभर प्रवद्र्धन गर्ने डिजिटल अभियान, परम्परागत मिठाई लगायतका स्थानीय मौलिक खानालाई काठमाडौंभर डेलिभरी प्रणालीमार्फत विस्तार गर्ने, इन्टरप्रेनरसिप तालिम दिने, महिलाका लागि उद्यमशीलता कोष निर्माण गर्ने मेरो सोच रहेको छ ।
 अनुभव कम भएका र कम उमेरका युवालाई निर्वाचित गराउँदा गल्ती धेरै हुन सक्छ, उमेर पाको भए पनि ललितपुरका मेयर चिरिबाबु महर्जनले ललितपुरमा देखाउनुभएको अनुशासन, फोहोर व्यवस्थापन र प्रशासनिक सुधार प्रशंसनीय छ ।