–सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था
काठमाडौं ।
यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ ।
शान्ति सुरक्षादेखि प्राविधिक र व्यवस्थापकीय सम्पूर्ण काम सम्पन्न भइसकेको जनाउँदै आयोगले मतपत्र, मतपेटिका र आवश्यक सामग्री देशभरका जिल्लामा पुगिसकेको र अब मतदान केन्द्रमा पु¥याउने अन्तिम प्रक्रिया जारी रहेको जनाएको छ ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण तयारी अवस्थामा पुगेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका अनुसार मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुगिसकेका छन् । त्यहाँबाट मंगलवारसम्ममा मतदानस्थलमा पु¥याइसक्ने छ । मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ जान थालिसकेको छ । सुरक्षा व्यवस्थापनमा करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन् । त्यही अनुसार कर्मचारी पनि खटिएका छन् । केही दिनभित्रै मतदानस्थल बनाइने छ ।
त्यसै गरी मतदान केन्द्रमा रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनको तयारी पूरा भइसकेको पनि आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भट्टराईले निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पूरा भएको र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था गरेको र कुनै सुरक्षा चुनौती नदेखिएको पनि उहाँको भनाइ रहेको छ । निर्वाचन सफलतापूर्वक र समयमै सम्पन्न गर्न छिमेकी र मित्र राष्ट्रहरूबाट आवश्यक साथ र सहयोग प्राप्त भएको पनि आयोगले जनाएको छ । हाल ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्ने कार्य भइरहेको छ ।
निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ ।
यसैबीच आयोगले सोमवार राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरेको छ । मौनअवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने विषयमा आयोग सचेत रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा मौन अवधि प्रचारप्रसार गरेर थाकेका उम्मेदवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न आयोगले आग्रह गरेको छ ।
आयोगले मतपरिणाम छिटो सार्वजनिक गर्ने गरी तयारी गरेको जनाएको छ । आयोगले मतदान सकिएपछि छिटो मतपेटिका संकलन गर्ने र मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने तयारी गरिरहेको छ । मतदानको अघिल्लो दिन आवश्यक व्यवस्थापन गरेर राजनीतिक दलहरूसँग समन्वय गर्दै मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने आयोगले जनाएको छ । मतदान सकिएलगत्तै गणना सुरु हुने र दुर्गम क्षेत्रबाहेक अन्य स्थानमा १ देखि ३ दिनभित्र नतिजा आउने आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ जना उम्मेदवार रहेका छन् ।











प्रतिक्रिया