अमेरिका–इजरायल आक्रमणले मध्यपूर्वमा तनाव

तेहरानमा विस्फोट, ७३ बढीको मृत्यु

1.13k
Shares

–अमेरिकी सैन्य अखडाहरुमा इरानद्वारा आक्रमण

काठमाडौं ।

मध्यपूर्वको परिस्थिति तीव्र रूपमा बिग्रिएको छ । शनिबार बिहान इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वको अवस्था भयावह बन्दै गएको हो ।

यसैक्रममा इजरायल–अमेरिकाले इरानका विभिन्न सामरिक तथा पूर्वाधार केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको विवरण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी तेहरानका सैनिक मुख्यालय, सञ्चार संरचना तथा रक्षासम्बन्धी अड्डाहरूमा हवाई हमला गरिएको छ ।

विशेषगरी इजरायली वायुसेनाले तेहरान आसपासका रडार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र तथा क्षेप्यास्त्र भण्डारण स्थललाई निशाना बनाएको जनाएको छ । दक्षिणी इरानको बन्दर अब्बास क्षेत्रनजिकै रहेको नौसैनिक अड्डा र सामरिक गोदामहरूमा पनि प्रहार भएको खबरहरू सार्वजनिक भएको छ ।

अमेरिकाले भने आफ्ना लडाकु विमान र ड्रोनमार्फत इरानको नतन्ज परमाणु केन्द्र आसपासका संरचनामा सटिक आक्रमण गरेको दाबी गरेको छ । त्यस्तै, इस्फहान र अराक क्षेत्रमा रहेको आणविक तथा क्षेप्यास्त्र विकाससँग सम्बन्धित पूर्वाधारमा पनि विस्फोट भएको स्थानीय स्रोतहरूले जनाएका छन् ।

पश्चिमी इरानको करमानसाह र तब्रिज आसपासका सैन्य अड्डा तथा मिसाइल प्रक्षेपण स्थलहरूमा समेत आक्रमण भएको बताइएको छ । केही तेल प्रशोधन केन्द्र नजिकका सुरक्षात्मक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ, यद्यपि ऊर्जा उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको पुष्टि भने भइसकेको छैन ।

इजरायलले यी सबै कारबाही इरानको ‘आणविक र दीर्घदूरी क्षेप्यास्त्र क्षमतामा प्रहार गर्ने उद्देश्य’का साथ गरिएको जनाएको छ भने अमेरिकाले क्षेत्रीय सुरक्षा र आफ्ना सैन्य अड्डाको सुरक्षाका लागि कारबाही गरिएको दाबी गरेको छ ।

आक्रमणपछि तेहरान, इस्फहान र अन्य सहरहरूमा आपत्कालीन सतर्कता घोषणा गरिएको छ । सञ्चार र हवाई उडान आंशिक रूपमा प्रभावित भएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि स्थिति तनावपूर्ण र अस्थिर बनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका–इजरायलले इरानको राजधानी तेहरानसहित देशका धेरै सहरहरूमा हवाई हमला गरेका थिए । अमेरिका र इजरायलले मिलेर एपिक फ्युरी नामक सैन्य अभियानअन्तर्गत हवाई हमला गरेको जनाइएको छ ।

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरना) का अनुसार आक्रमणका क्रममा दक्षिणी इरानमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ, जसमा धेरै छात्रा रहेका छन् भने ४५ जना घाइते भएको दाबी गरेको छ ।
विश्लेषकहरूका अनुसार इजरायल र अमेरिकाले संयुक्त आक्रमण गर्ने निर्णय मुख्यतया इरानको क्षेप्यास्त्र कार्यक्रम, परमाणु कार्यक्रम र सुरक्षा खतरालाई दबाउनका लागि कारबाही सुरु गरिएको हो । इजरायलले यसलाई ‘आत्मरक्षा’ र आणविक हतियार विकास रोक्न आवश्यक कदम भएको बताएको छ ।

इरानले लामो समयदेखि आफ्नो नाभिकीय कार्यक्रम बलियो पार्दै आएको दाबी गर्दै आएको छ । जसलाई इजरायलले आफ्ना अस्तित्वका लागि सीधै खतरा मान्दै आएको छ । संघर्षका पछिल्ला चरणहरू शान्ति वार्ता असफल भएपछि खतरा बढेको हो ।
इरानले इजरायलमाथि मात्र नभई मध्यपूर्वका अन्य क्षेत्रहरूमा पनि करिब ४ सय वटा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

साथै इरानले कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतलगायतका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि पनि मिसाइल हमला गरेको छ । दुबईलाई समेत निशाना बनाइएको समाचार आइरहे पनि त्यसमा विस्तृत उद्धृत आँकडा अझै पुष्टि हुन बाँकी छ ।

१५ लाख नेपाली जोखिममा
मध्यपूर्वमा करिब १५ लाख नेपाली नागरिक (साउदीमा ५ लाखभन्दा बढी, यूएईमा ३ लाखभन्दा बढी, कतारमा ४ लाखभन्दा बढी, कुवेतमा करिब १ लाख) बसोबास गर्दै आएका छन् । सो अवस्थाले अहिले उनीहरूको सुरक्षा संवेदनशील बन्न पुगेको छ । नेपाल सरकारले इरान तथा इजरायल यात्रा नगर्न र त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालयले नागरिकलाई आवश्यक सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । साथै मध्यपूर्वमा रहेका नेपाली दूतावासहरूले नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

यो सैन्य टकरावले अन्तर्राष्ट्रिय हवाई उडानहरूमा ठूलो प्रभाव पारेको छ । मध्यपूर्वका प्रमुख विमानस्थलहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका कारण नेपाललगायतका विभिन्न देशका विमान कम्पनीहरूले उडान रद्ध गरेका छन् ।
क्षेत्रीय सुरक्षा खतरा बढेसँगै पाकिस्तानले संयुक्त आक्रमणको कडा रूपमा निन्दा गर्दै तुरुन्तै तनाव कम गर्न आग्रह गरेको छ । नेपालबाट मध्यपूर्वका विभिन्न देशमा हुने हवाई उडान स्थगित गरेका छन् । नेपालबाट मध्यपूर्वका विभिन्न देश हुँदै अन्य देश जाने यात्रीहरूसमेत अलपत्र परेका छन ।

विमानस्थल पुगेका यात्रीहरूलाई विमान कम्पनीले अर्को सूचना नआएसम्म यात्रा नगर्न आग्रह गर्दै विमानस्थल पुगेका यात्रीलाई फिर्ता पठाएको छ । खास गरी कामका लागि जाने यात्रीहरू अलपत्र परेका छन् ।

नेपालमा पनि राजनीतिक नेताहरूले मध्यपूर्वमा बढ्दै गएको तनावलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् । युद्धका घटनाहरू बढ्दै गएपछि नेताहरूले चिन्ता व्यक्त गर्दै शान्तिको बाटो अपनाउन सबै पक्षलाई आग्रह गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा विकसित घटनाले नेपालीहरूको सुरक्षा प्रमुख प्राथमिकता हुनुपर्ने बताउनुभएको छ । उहाँले सरकारलाई कूटनीतिक पहल तीव्रता दिन र नेपालीहरूको संरक्षणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले सरकारसँग समन्वय बढाउन अनुरोध गर्नुभएको छ ।

मध्यपूर्वमा इजरायल र अमेरिकाको आक्रमण तथा इरानको प्रतिआक्रमणपछि क्षेत्रीय अस्थिरता तीव्र बनेको छ । हजारौं नेपाली रहेकाले सुरक्षा व्यवस्थामा सावधानीता अपनाउनु अत्यावश्यक देखिन्छ । यो संघर्षले नजिकैका क्षेत्रहरूमा मानवीय संकट र राजनीतिक अनिश्चितता बढाएको छ र थप ठूलो विवादको सम्भावनासमेत छ ।