उद्यमशीलता र काम गर्ने वातावरण प्रमुख एजेन्डा



प्रतिनिधि सभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । देशभर चुनावी चर्चा, छलफल र नतिजा आँकलन भइरहेको स्थिति छ । उम्मेदवारहरू नीति निर्माणसँगै सुशासन, विकास र आर्थिकका विषयलाई समेट्दै मतदातालाई आकर्षित गर्न आफ्ना एजेन्डासहित प्रचार प्रसारमा व्यस्त छन् । यसै सन्दर्भमा व्यवसायसँगै राजनीतिमा क्रियाशील प्रवल थापा यतिबेला प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ । प्रस्तुत, थापासँग नेपाल समाचारपत्र दैनिकका लागि राजु श्रेष्ठ गरेको कुराकानी ।

० तपाईले आफ्नो संक्षिप्त परिचय दिनुहोस् ?
– धन्यवाद, मेरो नाम प्रवल थापा हो । मेरो जन्म २०४० सालमा काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँमा भएको हो । मैले अस्ट्रेलियाबाट एमबीएको अध्ययन पूरा गरेको छु । केही समय बैंकिङ क्षेत्रमा आबद्ध भए पनि अहिले भने हस्पिटालिटी व्यवसायसँगै सामाजिक कार्य र राजनीतिमा आबद्ध छु ।

हाल म नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नंंं. १ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छु । नेविसंघबाट राजनीतिक यात्रा शुरू गरी तरुण दलको केन्द्रीय सदस्य, पार्टीको केन्द्रीय तरुण विभाग सदस्य हुँदै नेपाली कांग्रेस महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पूरा गरिसकेको छु ।

० चुनावको तयारी के छ, मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
– भूगोलका रूपमा राजधानीको मुटु तथा राजनीतिक रूपमा देशकै केन्द्रबिन्दुमा यो क्षेत्र पर्छ, मतदाता तथा शुभेच्छुकहरूसँग भेटघाट, छलफलपश्चात् यतिबेला हामी प्रचार प्रसारको अन्तिम चरणमा छौं । म वर्षौदेखि यही ठाउँमा बसेर सामाजिक कार्यका साथै व्यवसाय र राजनीतिमा संलग्न रहँदै आएको व्यक्ति हुँ ।

विगतमा औपचारिक जिम्मेवारीबिना जनतासमक्ष जाँदाको अवस्था र अहिले उम्मेदवारका रूपमा जाँदा थोरै भिन्नता चाहिँ हुने रहेछ । जनताका केही गुनासो, केही अपेक्षा र केही विश्वास हामीमाथि छन् । ती विषयलाई हामीले सम्बोधन गर्दै जानुपर्ने अवस्था छ । चुनावको तयारी भनेर छुट्टै योजना वा रणनीति केही छैन । हामी भेटघाट, छलफल र प्रचार प्रसारजस्ता नियमित प्रक्रियामै छौं । सधैंजस्तै यसपटक पनि मतदाताको उत्साह व्यापक छ । उहाँहरू बडो सतर्कताका साथ देशको राजनीतिलाई विश्लेषण गरिनुभएको छ ।

० काठमाडौं–१ मा नेपाली कांग्रेसको जितलाई तपाईंले निरन्तरता दिन सक्नुहुन्छ त ?
– पक्कै, यसपटक पनि मतदाताको पहिलो रोजाइमा नेपाली कांग्रेस नै पर्छ । काठमाडौं क्षेत्र नम्बर १ मा मात्र होइन, देशैभर नेपाली कांग्रेस जनताको रोजाइको पार्टी बन्नेमा हामी विश्वस्त छौं । जनचाहना र देशको आवश्यकता पनि त्यही हो ।

० निर्वाचन जित्छु भन्ने तपाईंको आधार चाहिँ के हो ?
– मुख्य कुरा म वर्षौदेखि यही ठाउँमा जनताको बीचमा बसेर काम गरिरहेको तथा यही ठाउँमा जन्मे हुर्केको व्यक्ति भएकाले मैले यस क्षेत्रलाई नजिकबाट अनुभूत गर्दै आएको छु । काठमाडौं–१ लाई बुझ्न अरु प्रतिस्पर्धी उम्मेदवारहरूले अध्ययन गर्नुपर्छ, मैले भोग्दै आएको छु । साथै विगतमा मेरो भूमिकालाई जनताले विभिन्न कोणबाट मूल्यांकन गर्दै पनि आउनुभएको छ, निर्वाचनपश्चात पनि म यही ठाउँमा भेटिने उम्मेदवार हुँ । अर्को महत्वपूर्ण पक्ष यस क्षेत्रमा नेपाली कांग्रेसको बलियो संगठन, क्रियाशील र जुझारु पार्टी सदस्य, शुभेच्छुकहरुको साथ नै मेरो जितको आधार हो ।

० तपाईंलाई किन मत दिने, तपाईंका एजेन्डा चाहिँ के के छन् ?
– मैले आफ्ना एजेन्डालाई दुई भागमा वर्गीकरण गर्न चाहान्छु । प्रतिनिधि सभा सदस्यको जिम्मेवारी देशका लागि उपर्युक्त नीति र विधि निर्माण गर्नु हो । देशमा यतिबेला सर्वत्र निराशा एवम् अन्योलता छ । देश खत्तम भयो, यहाँ केही हुँदैन भन्ने भाष्य छ । पहिलो कुरा त्यसलाई बदल्न आवश्यक छ ।

कमजोरी छन् तर केही छैन र होइन भन्ने सोचलाई परिवर्तन गर्नका निम्ति हामी राजनीतिककर्मीले जनतामा आशा, भरोसा र विश्वास जगाउनुपर्छ । चाहे त्यो विद्यार्थीलाई होस, चाहे व्यवसाय गर्नेलाई विषय होस वा रोजगार खोजिरहेको युवालाई होस, हरेक क्षेत्रमा काम गर्ने अर्थात् गरि खाने वातावरण निर्माण गर्नुपर्छ । साथै आवश्यक परेको ठाउँमा सहजीकरण गर्नुपर्छ । त्यसका लागि संसदले दिगो र समय सापेक्ष नीति निर्माण गर्ने हो । यसमा मेरो सक्रिय भूमिका रहन्छ ।

दोस्रो प्रतिनिधि सभा सदस्य निर्वाचित जनप्रतिनिधिसमेत भएको हुनाले विकास र जनजीविकाका विविध आयामलाई पनि साथै लिएर जानुपर्ने दायित्व हुन्छ । विकास एक्लो प्रयासले मात्र सम्भव हुँदैन भन्ने मेरो मान्यता छ । तीनै तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता पर्छ । यसमा मैले नेतृत्वदायी भूमिका खेल्नेछु यो मेरो प्रतिबद्धता हो। तदनुसार मैले आफ्ना एजेन्डासमेत तय गरेको छु ।

० सैद्धान्तिक रूपमा भन्दा पनि आफ्ना एजेन्डालाई बुँदागत रुपमा भन्नुहोस् ?
– काठमाडौं–१ को विकास योजनालाई मैले आफ्नो एजेन्डामा समावेश गरेको छु । जसअन्तर्गत व्यवस्थित शहरी विकासतर्फ विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा ठोस योजनासहितका कार्यक्रम ल्याउने, दिगो, गुणस्तरीय वातावरणमैत्री, अपांगमैत्री र ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार निर्माण गर्ने, भूमिहिन, स्वबासी, सुकुम्बासीहरू समस्याको न्यायोचित र वैज्ञानिक समाधान गर्ने, सवारी चाप र यातायात समस्या समाधानका लागि प्रविधिको प्रयोग गर्ने, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका संस्कृति, सम्पदा तथा धरोहरहरूको संरक्षण तथा प्रवद्र्धन गर्नेलगायत छन् ।

त्यस्तै सामाजिक क्षेत्रतर्फ निजी र सार्वजनिक विद्यालय बीचको अन्तर घटाउन भौतिक पूर्वाधारसँगै प्रयोगशाला, पुस्तकालय, सूचनाप्रविधि र शिक्षकहरूको क्षमता वृद्धिमा विशेष कार्यक्रम ल्याउने, विपन्न तथा जेहेन्दार विद्यार्थीका निम्ति छात्रवृत्ति, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता विकास सेवालाई विस्तार, नागरिकलाई बीमा कार्यक्रममा जोड्दै स्वास्थ्य सेवा सहज र सुलभ बनाउने, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग, ध्यान तथा व्यायाममा जोड दिँदै पूर्वाधार र वातावरण निर्माण गर्ने, महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर आवधिक रुपमा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकहरुका लागि आपसी भेटघाट स्थलहरूको निर्माण गर्ने र रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने लगायत छन् ।

रोजगारतर्फ गृहणी र युवा लक्षित रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, रोजगार केन्द्रहरूको स्थापनाका गरी रोजगारदाता र रोजगार अपेक्षीबीचको पुलको काम गर्ने, सेवामुलक तथा नवप्रवर्तन उद्यमहरूको स्थापना गर्ने प्रोत्साहित गर्ने, सूचना प्रविधि पूर्वाधार र यससँग सम्बन्धित उद्यम, व्यावसायिक नेटवर्किङलाई प्रोत्साहन गर्ने, महिला स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन गर्ने रहेका छन् ।

यसैगरी सुशासनतर्फ कानुन तथा नीति निर्माणमा जनसहभागिता गराउने, सार्वजनिक सुनुवाइमार्फत मतदाताप्रति जवाफदेही बन्न हरेक वर्ष सो कार्यक्रम गर्ने, बजेटका कार्यक्रम तथा योजना छनोट वस्तुनिष्ठ ढंगले जनताको माग बमोजिम पारदर्शी रूपमा निर्माण गर्ने, सेवाप्रदायक निकायमा विद्युतीय भुक्तानी प्रणालीको उच्चतम प्रयोग गर्ने विषय मेरा एजेन्डामा समावेश छन् ।

साथै आधारभूत सेवातर्फ स्वच्छ खानेपानीको उचित व्यवस्थापन र दिगो उपलब्धता, ढल निकास, सरसफाइ र स्वच्छतालाई विशेष प्राथमिकता दिँदै फोहोरमैला व्यवस्थापनको लागि फोहर रहित प्रणाली लागू गर्ने, ध्वनी र वायु प्रदुषण नियन्त्रण, अव्यवस्थित बजार तथा पार्किङको व्यवस्थापन गर्ने लगायतका एजेन्डालाई मैले अगाडि सारेको छु ।

० तपाईं व्यवस्थापन विषयको विद्यार्थी, देशको आर्थिक अवस्थाको व्यवस्थापन गर्ने विषयलाई कसरी समेट्नुभएको छ ?
– मैले अगाडि पनि केही बताइसकेको छु । काम गर्ने वातावरण मेरो प्रमुखताको विषय हो । अर्थात् उद्यमशीलता मेरो प्रमुख एजेन्डा हो । हामी कहाँ अहिले काम गर्ने वातावरण नभएकाले जनतामा निराशा र असन्तोष फैलिएको मेरो बुझाइ छ । यसर्थ, हरेक नागरिकमा उद्यमशील भावना हुनुपर्छ ।

सबैलाई उद्यमशीलतासँग जोड्नुपर्छ । यो विषय काठमाडौं– १ का निम्ति अझै बढी आवश्यक छ । म यहाँलाई जानकारी गराउ, काठमाडौंको मुटु मानिने मध्यबानेश्वर, शान्तिनगर, घट्टेकुलो, मैतीदेवी, भोटबहाल, त्रिपुरेश्वरलगायतका ठाउँमा घर हुनेहरूलाई पनि गरिवीले थिचेको छ । त्यो किन त भन्दा हामीले उद्यमशीलतालाई ध्यान नदिएकाले भएको हो । शहरी गरिबी भुसको आगोजस्तै फैलिरहेको मैले महसुस गरेको छु ।

त्यसैले अब हामीले नीति बनाउँदा, योजना छनोट गर्दा त्यसतर्फ ध्यान दिनुपर्छ । साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ । नीतिगत स्थायित्व कायम गर्दै राज्यले आवश्यक पर्ने ठाउँमा सहजीकरण गर्नुपर्छ भन्ने मेरो धारणा छ । काठमाडौं क्षेत्र नम्बर १ मा तारे होटलदेखि सामान्य चिया पसलसम्म छन्, ट्युसन सेन्टरदेखि ठूला कलेजसम्म छन् । फुटपाथ पसलदेखि ब्रान्डेड सपसम्म छन् । अपार्टमेन्टदेखि सुकुम्बासी बस्तीसम्म छ ।

डेरादेखि होस्टलसम्म छन् । न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाजस्ता राज्यका तीनै अंगसमेत रहेको यस क्षेत्रले ७७ जिल्लाका नागरिकलाई स्वागत गरेर बसेको छ । तर, हरेक दिनजस्तै आन्दोलनको केन्द्र यो क्षेत्रमा हुँदा यहाँको व्यावसायिक वातावरण बिग्रिँदै गएको छ । व्यवसायीहरू पलायन हुने, स्कुल कलेज स्थान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले स्थानीयको आयस्रोत गुम्न सक्ने खतरा पनि बढ्दो छ । जसले यस क्षेत्रमा आर्थिक दुर्घटना निम्त्याउन सक्छ । तसर्थ, काठमाडौं–१ लाई सुरक्षित आवासीय तथा व्यावसायिक क्षेत्र कायम राख्न जरुरी छ ।

० तपाईंको क्षेत्रमा सुकुम्बासी समस्या पनि छ क्यारे, यसबारेमा केही सोच्नुभएको छ ?
– यो सधैं राजनीतिक मुद्दा बन्ने तर वर्षौदेखि नसुल्झिएको समस्या हो । भूमिहिन, स्वबासी, सुकुम्बासी समस्याको न्यायोचित र वैज्ञानिक समाधान हुनुपर्छ भन्ने विषयमा म स्पष्ट छु । वर्षौदेखि नागरिकलाई खानेपानी, बिजुली, ढल, सडक र सुरक्षित आवास जस्ता आधारभूत आवश्यकताबाट बञ्चित गरिँदै आएको छ ।

सुरक्षित बसोबास र कानुनी स्वामित्वको अपेक्षासहित नागरिक वर्षौदेखि पर्खिएर बसेका छन् । काठमाडौं– १ भित्र तीनवटा वडा (१०, ११, ३१) सिनामंगल क्षेत्रको बागमती किनारदेखि थापाथलीसम्म सुकुम्बासी बस्तीमा हजारौं मानिस वर्षौंदेखि दोस्रो दर्जाको नागरिकका रूपमा जोखिमपूर्ण जीवनयापन गर्न बाध्य छन् । एकातिर, वर्षायाममा डुबान, नदी कटान र महामारीको जोखिमपूर्ण जीवन बाँच्दै आएका छन् भने अर्कोतिर कसैले राति डोजर लगाएर उठिबास लगाउँछ कि भन्ने त्राससमेत छ । तसर्थ, यसको दिगो र स्थायी समाधान खोज्नुको विकल्प छैन ।

० चुनावको मत परिणामपछि तपाईंको तयारी के छ ?
– मत परिणाम जे आए पनि म आफ्नै क्षेत्रमा भेटिने उम्मेदवार हुँ । केबल चुनावका बेलामा मात्र झुल्किने र मतदातालाई भूलभुलैयामा पार्ने उम्मेदवार होइन । म उठेदेखि नसुत्दासम्म जनताकै बीचमा हुन्छु । अर्को कुरा म संसदमा सुनिने, राष्ट्रिय मुद्दामा बोल्ने, जनताको आवाज संसदसम्म पु¥याउने सांसद बन्न चाहान्छु ।

० निर्वाचनमा तपाईंले कस्तो चुनौती देख्नुभएको छ, विशेष महाधिवेशनको प्रभाव कस्तो पर्ला ?
– काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या करिब २ हजार जना रहेको छ । विशेष महाधिवेशनपछि पार्टी अझै एकढिक्का र ऊर्जाशील भई थप मजबुत देखिएको छ । सबै नेता, कार्यकर्ता र शुभेच्छुकको साथ छ । पार्टीभित्र बहस, छलफल मत मतान्तर, पक्ष विपक्षमा उभिनु लोकतान्त्रिक पार्टीभित्रको सुन्दरता हो ।

यसले पार्टीलाई अझै जीवन्त र बलियो बनाउँछ । विशेष महाधिवेशन लोकतान्त्रिक विधिलाई अबलम्बन गरिएकाले कार्यकर्ताहरू थप उत्साहित हुनुहुन्छ । पार्टीले काठमाडौं– १ बाट मलाई उम्मेदवार बनाउने निर्णय गरेलगत्तै अग्रज नेता तथा साथीहरुसँग भेट गरी उहाँबाट आर्शिवाद र मार्ग निर्देशनसहित हामी सँगै चुनावी मैदानमा छौं ।

पार्टीले मलाई उम्मेदवार सिफारिस गर्दा मभन्दा पनि बढी उत्साहित उहाँहरू भएको मैले महसुस गरेको छु । हामीहरू काँधमा काँध, हातमा हात मिलाएर निर्वाचनको तयारीमा आफूहरु जुटेका छौं । पार्टीभित्रबाट कुनै चुनौती छैन । तर, समाजमा ‘भाइरल संस्कृति’ हावी हुँदै गएको छ, त्यसको बाछिटा पर्न सक्नेतर्फ हामी सचेत भने सचेत छौं ।

– विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता पर्छ, यसमा मेरो भूमिका नेतृत्वदायी हुन्छ ।
– भूमिहिन, स्वबासी, सुकुम्बासी समस्याको न्यायोचित र वैज्ञानिक समाधान हुनुपर्छ भन्ने विषयमा म स्पष्ट छु ।
– देशमा यतिबेला सर्वत्र निराशा एवम् अन्योलता छ । देश खत्तम भयो, यहाँ केही हुँदैन भन्ने भाष्य छ । पहिलो कुरा त्यसलाई बदल्न आवश्यक छ ।
– शहरी गरिबी भुसको आगोजस्तै फैलिरहेको छ । अब हामीले नीति बनाउँदा, योजना छनोट गर्दा त्यसतर्फ ध्यान दिनुपर्छ ।
– जनताको आयस्रोत गुम्न सक्ने खतरा पनि बढ्दो छ । जसले आर्थिक दुर्घटना निम्त्याउन सक्छ । तसर्थ, काठमाडौं–१ लाई सुरक्षित आवासीय तथा व्यावसायिक क्षेत्र कायम राख्न जरुरी छ ।
– मत परिणाम जे आए पनि म आफ्नै क्षेत्रमा भेटिने उम्मेदवार हुँ । केबल चुनावका बेलामा मात्र झुल्किने र मतदातालाई भूलभुलैयामा पार्ने उम्मेदवार होइन ।
– म संसदमा सुनिने, राष्ट्रिय मुद्दामा बोल्ने, जनताको आवाज संसदसम्म पु¥याउने सांसद बन्न चाहान्छु ।
– काठमाडौं–१ लाई बुझ्न अरु प्रतिस्पर्धी उम्मेदवारहरूले अध्ययन गर्नुपर्छ, मैले भोग्दै आएको छु ।