उम्मेदवारहरु घरदैलो केन्द्रीत, जीत सुनिश्चित भएको आ–आफ्नो दाबी

1.13k
Shares

खोटाङ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने दिन ६ दिन बाँकी रहँदा खोटाङका उम्मेदवार तथा राजनीतिक दलहरु घरदैलोमा केन्द्रीत बनेका छन् । निर्बाचन मिति रातारात छोटिँदा उम्मेदवार तथा दलहरु घरदैलो अभियानमा केन्द्रीत बनेका हुन् । फागुन–२१ गते हुने निर्वाचनको लागि चुनाबी अभियानको समय अवधी छोटो रहेकाले सबै मतदाताबीच पुग्न नसकिरहेको उम्मेदवारहरुले जनाएका छन् ।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा आफ्नो पक्षमा मत ल्याउन सबै हत्तारिएका छन् । रात–दिन, भोक–तीर्खा नभनी आफ्नो र आफ्नो पार्टीको एजेण्डाबारे जानकारी गराउन खटिरहेको कार्यकर्ताहरु बताउँछन् । यतिखेर सर्बसाधारण नागरिकको घरदैलोमा उम्मेदवार, नेता, कार्यकर्ता र शुभचिन्तकहरु ज्ुटिरहेको पाईएको छ । यसबीचमा, गाउँटोलमा माईकिङ समेत गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताउनुभयोे । जिल्लामा हुने यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा पूरानै राजनीतिक दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

यस निर्बाचनमा कांग्रेसबाट वीरकाजी राई, एमालेबाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टीबाट डाक्टर हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्र गिरी यो पटक उम्मेदवार बन्नुभएका छन् । यस्तै, जनता समाजवादी पार्टीबाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राईको उम्मेदवारी रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, डाक्टर राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ बिजयी हुनुभएको थियो । सोही निर्बाचनको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले २४ हजार २ सय ७१ मत प्राप्त गरेको थियो ।

यस्तै, नेपाली कांग्रेसले १८ हजार ६ सय ७२, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८ सय ४५, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३६ मत ल्याएको थियो । उक्त निर्बाचनमा जनता समाजवादी पार्टीले दुई हजार २ सय ४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक हजार ४ सय ९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २ सय ५५ मत ल्याएको थियो ।

तर, यस पटकको अवस्था पहिले जस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गरेका छन् । मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोटमा कटौती आउने देखिएको छ ।।