अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा चर्कियो तनाव, इरानद्वारा अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण


काठमाडौं ।

अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र पुनः युद्धको डिलमा पुगेको छ। आक्रमणलगत्तै इरानले कडा प्रतिक्रिया जनाउँदै क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारहरूमा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। रिपोर्टअनुसार इरानले अबुधाबी (यूएई), बहराइन, कतार तथा कुवेतस्थित अमेरिकी सैन्य बेसहरूलाई निशाना बनाएको बताइएको छ।

यद्यपि क्षति र मानवहानीको यकिन विवरण सार्वजनिक भएको छैन। इरानले इजरायल र अमेरिकाको कदमलाई “आक्रमणकारी कदम” भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले आक्रमणमा संलग्न पक्षहरूले “पछुतो मान्नुपर्ने अवस्था आउने” प्रतिक्रिया दिएका छन्। उता नेपाल सरकारले पनि सतर्कता अपनाएको छ। परराष्ट्र मन्त्रालयले इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। मन्त्रालयले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाएको छ।

Al Jazeeraका अनुसार कतार सरकारले मोबाइल उपकरणमार्फत आपतकालीन अलर्ट जारी गर्दै सबै बासिन्दाहरूलाई जहाँ भए पनि सैन्य आधारहरूभन्दा टाढा सुरक्षित घरभित्र बस्न निर्देशन दिएको छ। सम्भावित थप आक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्तो चेतावनी दिइएको बताइएको छ। यस घटनापछि तेल बजार, अन्तर्राष्ट्रिय उडान सेवा र कूटनीतिक गतिविधिमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार यदि प्रतिआक्रमण र जवाफी कारबाहीको श्रृंखला जारी रहेमा क्षेत्रीय युद्ध चर्किने जोखिम उच्च रहनेछ।