निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूराकार्यक्षेत्रमा खटिए सुरक्षा र कर्मचारी

658
Shares

स्याङ्जा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा तयारी पुरा भएको छ । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन सामाग्री देखि सुरक्षा निकाय र कर्मचारीहरु खटिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासनले सुरक्षा संयन्त्र चुस्तदुरुस्त बनाएको जनाएको छ ।

१ सय ९९ मतदान स्थल र ३ सय २२ मतदान केन्द्रमा झण्डै २ हजार कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक सहयोगी कर्मचारीहरु सम्वन्धित स्थानमा खटाइएको थापाले बताउनुभयो । मतदान अधिकृतहरुलाई तालिम पनि सम्पन्न भैसकेको थापाले जानाकारी दिनुभयो ।

निर्वाचन आयोग मार्फत जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालन गर्न आवश्यक मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावलीलगायतका सामग्री मतदान अधिकृतलाई हस्तान्तरण गरिसकेको थापाको भनाई छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख थापाका अनुसार १८ गते मतदान अधिकृत सहितको टोली मतदान केन्द्रमा पुग्ने छन् ।

१८ गते बेलुका देखि नै निर्वाचनमा खटिएका कर्मचारीहरुले मतदान केन्द्रको चार किल्ला निषेधित लगायत निर्वाचन सम्वन्धि सूचना टाँस गरिसक्नु पर्ने व्यवस्था भएकाले सोही बमोजिम तयारीमा लागेको उहाँले बताउनुभयो ।

मतदान केन्द्रमा आवश्यकता अनुसार निर्वाचन प्रहरी खटाइ सकिएको प्रहरी प्रमुख दधिराम न्यौपानेले बताउनुभयो । जिल्लाका पुतलीबजार नगरपालिकामा २ सय ९०, भीरकोट नगरपालिकामा १ सय ४३, वालिङ नगरपालिकामा २ सय ६९, गल्याङ नगरपालिकामा २ सय ५२ र चापाकोट नगरपालिकामा १ सय ८० निर्वाचन प्रहरी परिचलान गरिएको छ ।

त्यसैगरी कालीगण्डकी गाउँपालिकामा १ सय ८४, हरिनास गाउँपालिकामा १ सय ४८, बिरुवा गाउँपालिकामा १ सय ३३, अर्जुनचौपारी गाउँपालिकामा १ सय १७, फेदिखोला गाउँपालिकामा ९१ र आँधीखोला गाउँपालिकामा १ सय ४० निर्वाचन प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मतदान केन्द्र र संवेदनशिलता हेरेर आवश्यक संख्या परिचलान गरिएको प्रहरीले जनाएको छ ।

मतदान केन्दको संख्या, त्यस क्षेत्रको संवेदनशिलतालाई हेरेर निर्वाचन प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी न्यौपानेले बताउनुभयो । जिल्लामा २ हजार १ सय २४ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा प्रहरी मातहत रहेका १ हजार ९ सय ४७ जना निर्वाचन क्षेत्रमा खटाएको न्यौपानेले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा निर्वाचन प्रहरीले मात्र अपुग हुने बताउदै एसपी न्यौपानेले मतदान केन्द्रको संख्या र त्यसको संवेदनशिलतालाई हेरेर थप अपुग प्रहरी समेत आइपुगेको बताउनुभयो । नेपाल प्रहरी पनि झण्डै ३ हजारको संख्यामा खटिने समेत उहाँले बताउनुभयो । मतदान प्रक्रियालाई शान्तिपूर्ण र प्रभावकारी बनाउन प्रहरीले आवश्यक समन्वय र तयारी गरिहेको उहाँको भनाई छ ।

त्यसैगरी शसस्त्र प्रहरीले समेत स्याङ्जा क्षेत्र नं.–१ को पुतलीबजार र क्षेत्र नं.–२ को गल्याङमा आफ्नो टोली तयारी अवस्थामा राखेको जनाएको छ । पालिकाहरुमा मोवाईल तथा र स्कटिङ्ग टोली खटाउने तयारी गरिएको शसस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिमिल्सिनाले जानाकारी दिनुभयो । शसस्त्र प्रहरी बल मातहतका १ सय ८९ निर्वाचन प्रहरी समेत सोही टोलीसँग राखेर काममा खटाउने उहाँले जानकारी दिनुभयो ।

उता नेपाली सेनाले समेत हरेक पालिकामा आफ्नो सुरक्षा टोलीलाई क्याम्प बनाउन निर्देशन दिएरै सेनाको टोली खटाउने तयारीमा छ । निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपुर्ण बनाउने उद्देश्य सहित दोस्रो चरणमा जिल्ला निर्वाचन सुरक्षा समितिले मतदान स्थलको आवश्यकता अनुसार गरेको सिफारिसका आधारमा सुरक्षाकर्मी खटाउने तयारी गरिएको सेनाले जनाएको छ । यो निर्वाचनमा मतदान स्थलदेखि निर्वाचन अधिकृतको कार्यालयमा मतपेटीका ल्याउने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।