चितवन ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन जिल्ला क्षेत्र नं. ३ की उम्मेदवार सोभिता गौतम ले निर्वाचनलाई लोकतन्त्रको सुन्दर अभ्यास भएको बताएकी छन्। घरदैलो कार्यक्रमका क्रममा उनले आम नागरिकले आफ्नो मत सही ठाउँमा प्रयोग गरे देशले सही दिशा लिने बताइन्।
घरदैलोका क्रममा उनले भनिन्, “निर्वाचन भनेको लोकतन्त्रको सुन्दर अभ्यास हो। यसबाट आम नागरिक तथा मतदाताले आफ्नो मत सही ठाउँमा सदुपयोग गरे देशले सही बाटो पहिचान गर्छ। त्यसैले यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई देशको भविष्य निर्धारण गर्ने अवसर पनि हो।”
केही दिनअघि माडी पुगेको अनुभव सुनाउँदै उनले त्यहाँको दुर्गम क्षेत्र हनुमान झुला मा सुत्केरी महिलाले भोग्नुपरेको समस्या उल्लेख गरिन्। आवश्यक उपचार नपाएर महिलाले ज्यान गुमाउनु परेको पीडादायी अवस्था देख्दा आफू स्तब्ध भएको उनले बताइन्।
उनले भनिन्, “एकातिर उपचार नपाएर सुत्केरी महिलाले ज्यान गुमाउनु परेको अवस्था छ, अर्कोतिर यही देशमा कसैका घरमा पैसा जलिरहेको देखिन्छ। यस्तो असमान र विभेदकारी प्रणाली अन्त्य गर्नैपर्छ।”
गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी समान अवसर, सुशासन र सेवा सबै नागरिकसम्म पुर्याउने उद्देश्यले राजनीतिमा आएको दाबी गरिन्। पुरानो राजनीतिक संस्कारका कारण देशमा असमानता बढेको भन्दै उनले नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताइन्।
चितवन क्षेत्र नं. ३ का विभिन्न स्थानमा भइरहेको घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको उनको भनाइ छ। मतदाताले विकास, स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा समान पहुँच चाहेको प्रतिक्रिया दिएको उनले बताइन्।











प्रतिक्रिया