काठमाडौँ ।
वि. सं. २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वका विषयमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव लक्ष्मण पन्थी, सदस्य दैवज्ञ ज्योतिष रति जोशी श्रेष्ठसहित पदाधिकारी बिच छलफल भएको छ ।

उपत्यकामा मनाइने विभिन्न चाडपर्वहरु तिथिमितिका कारण अघिल्लो दिन मनाउने कि पछिल्लो दिन मनाउने भन्ने विगत वर्षहरुका द्विविधा यस वर्ष दोहोरिन नदिन गरिएका प्रयत्न, महानगरपालिका र समितिबिचको सहकार्य छलफलका मुख्य विषय थिए । छलफलमा कार्यवाहक प्रमुख डंगोलले व्यवहारिक अभ्यासको दृष्टान्त दिँदै भन्नुभयो, ‘नेवार समुदायमा काठमाडौँ, भक्तपुर र ललितपुर एक ठाउँबाट विवाह भएर अर्को ठाउँ गएकी छोरीको घरमा पर्व सुरु हुँदा माइतीमा सकिने वा माइतीमा सुरु हुँदा घरमा सकिने अवस्थाले समस्या भोग्नु परेको अनुभव छ ।
पर्वले पारिवारिक र सामाजिक सद्भाव जोड्नु पर्नेमा यहाँ र त्यहाँ भन्ने भाव उत्पन्न भएको पाइएको छ । यस्ता विषयहरुमा पञ्चाङ्ग निर्णायक समितिले व्यवहारिक समाधान दिनुपर्छ ।’ पर्वले परिवार र समुदायलाई विभाजन नगरोस् । उहाँको भनाइ थियो । पञ्चाङ्ग निर्णायक विकास समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र चाडपर्वको निर्णय दिने व्यक्तित्वहरुसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ ।
कुराकानीका क्रममा समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भन्नुभयो, ‘चाडपर्व परम्परालाई एकरुपता दिन विगत वर्षहरुमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका अवस्थाका विषयमा छलफल चलाएका छौँ ।’ समितिका सदस्य दैवज्ञ जोशी श्रेष्ठले, काठमाडौँ उपत्यकाभित्रका पर्व र तिथिमितिका विषयमा शंखधर साख्वा प्रतिष्ठानको सहयोगमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नेवार समुदायबिच अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।
इस्वी संवत् र विक्रम संवत सौर्य मासमा आधारित हुन्छन् । नेपाल संवत र शालीवाहनीय शकः संवत् चन्द्रमास अनुसारका संवत् हुन् । नेपालमा ४ वटा संवत् प्रचलनमा छन् । सूर्य मासमा आधारित इस्वी संवत् र विक्रम संवत हुन् । शालीबाहनीय शकः संवत् र नेपाल संवत चन्द्रमास अनुसारका संवत् हुन् । शालीवाहनीय शकः संवतलाई ज्योतिष क्षेत्रले मान्यता दिएको, जोशी श्रेष्ठको भनाइ छ । इस्वी संवत् अग्रेजी महिनाको १ तारिखबाट सुरु हुन्छ ।
विक्रम संवत् वैशाख महिनाको १ गतेबाट सुरु हुन्छ । शालीवाहनीय शकः संवत् चैत्र महिनाको शुक्ल पक्ष प्रतिपदा तिथिबाट सुरु हुन्छ । यस दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको छ । नेपाल संवत् कार्तिक महिनाको शुल्क पक्ष प्रतिपदा तिथिबाट सुरु हुन्छ ।











प्रतिक्रिया