काठमाडौँ ।
निर्वाचन आयुक्त सगुन शम्शेर राणाले आउँदो फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौनअवधिमा हुनसक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभयो। उहाँका अनुसार, यस अवधिमा राजनीतिक दल र उम्मेदवारले मतदातामा प्रभाव पार्ने प्रयास गर्न सक्ने भएकाले जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी कडाइका साथ अनुगमन हुनेछ।
आयुक्त राणाले मतदातालाई पनि स्वतन्त्र रूपमा निर्णय लिन र मतदानमा स्वच्छता कायम राख्न आह्वान गर्नुभयो। उहाँले मतदान व्यवस्थापन, मतदाता शिक्षा, बदर मत घटाउने उपाय र मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सुरक्षा व्यवस्था अन्तर्गत करिब ३ लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन्।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा आचारसंहिता उल्लङ्घन हुने सामग्री हटाउन प्राविधिक टोली र प्लेटफर्महरूसँग समन्वय गर्दै काम गरिरहेको छ। आयुक्त राणाले समग्रमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने विश्वास व्यक्त गर्नुभयो।











प्रतिक्रिया