झापाको बिर्तामोडमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते


झापा ।

बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकलको पछाडि सवार २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कार चालक २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।