अवको निकास, सहभागितामूलक विकास: विराजभक्त श्रेष्ठ



विराज भक्त श्रेष्ठ आसन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिह्न) को तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ को प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार हुनुहुन्छ । उहाँले २०७९ को आम निर्वाचनमा पनि काठमाडौं–८ बाटै प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भई केही समय युवा तथा खेलकुदमन्त्रीका रूपमा समेत काम गरिसक्नुभएको छ । त्यसअघि उहाँ
विवेकशील साझा पार्टीबाट वागमती प्रदेशसभा सदस्य रहनुभएको थियो ।
उद्यमी तथा व्यवसायी पृष्ठभूमिबाट आएका लोकप्रिय युवा नेता विराजभक्त श्रेष्ठ सार्वजनिक बहसमा स्पष्ट अभिव्यक्ति दिने र संसद्मा जुझारु रूपमा सक्रिय उपस्थिति देखाउने थोरै सांसदमध्ये पर्नुहुन्छ । सामाजिक सञ्जालमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्न रुचाउने उहाँले सुशासन र पारदर्शिता, सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण, डिजिटल सेवामार्फत सरकारी सेवा छरितो बनाउने, युवा, खेलकुद, सामाजिक सेवा र युवा–केन्द्रित नीति निर्माणलाई प्राथमिकता दिँदै आउनुभएको छ ।
प्रस्तुत छ आगामी फागुन २१ गते हुन लागिरहेको आम निर्वाचनका सन्दर्भमा उहाँसँग गरिएको कुराकानीको महत्वपूर्ण अंश :

तपाईं राम्रो उद्यम व्यावसाय, सामाजिक सेवा र वाद्यवादनमा लागिरहनुभएको मानिस किन राजनीतिमा आउनुभएको हो ?

म राजनीतिमा आउनुका पछाडि संस्कृति, प्रकृति र सुशासनका मुद्दा नै प्रमुख हुन् । २०–२१ वर्षको उमेरमा म पर्यटन व्यावसायी भएर काम गर्न थालेपछि संस्कृतिप्रति मोह जाग्यो । मैले पर्यटकलाई स्वयम्भू घुमाउन लाँदा उनीहरुले स्वयम्भूको प्रशंसा गरेको सुनेपछि मैले त्यसको महत्व बुझें । मेरो देश कति धनी रहेछ भन्ने कुरा थाहा पाएँ । तर, त्यसको संरक्षण व्यवस्थापनमा उचित ध्यान नपुगेको महसुस गरें । स्वयम्भू विश्व सम्पदा सूचीमा परेको तर त्यसको मापदण्ड अनुसार कार्य नभएकाले मापदण्ड अनुसार नै व्यवस्थापन गर्नका लागि संसदमा कुरा उठाउनु मैले आफ्नो दायित्व सम्झें ।

हामी नेपालीको धर्म, संस्कृति, संस्कार प्रायः सवै प्रकृतिसँग जोडिएको छ । त्यसका लागि नदी सफा हुनुपर्छ, वन–जंगल र वन्यजन्तुको संरक्षण गर्नुपर्छ र गाउँ–शहरका बस्तीहरुमा पनि हरियाली प्रवद्र्धन हुनुपर्छ भन्ने मेरो बुझाइ हो । हरियाली हाम्रो प्राणवायुसँग जोडिएको छ । सांस्कृतिक, धार्मिकलगायत अन्य संस्कारका लागि नदीको स्वच्छता एवं प्राकृतिकपन आवश्यक छ । ढुंगेधारबाट बग्ने पानी र नदीको पानीमा फोहोर रसायन फाल्नुहुन्न, किन कि त्योभन्दा तल्लो बस्तीका मानिसलाई हानि पुग्छ भन्ने हाम्रो परम्परागत मान्यता रहीआएको छ । तर, अहिले त्यसो हुन सकेको छैन । ढलका रूपमा नदी बगेको छ । प्रकृतिको संरक्षण नगरे भविष्यका पुस्ताले मौलिक प्रकृति देख्न नपाउने भइसके । हाम्रो पुस्ताका केटाकेटीलाई नदी कस्तो हुन्छ भनेर कहाँ देखाउन लाने ? के विष्णुमती प्राकृतिक हिसाबले साच्चिकै नदी जस्तो छ त ? शहरभित्र हरियाली कता देखाउने ? त्यसैले हामी पछिका पुस्ताको लागि नै पनि प्राकृतिक संपदाको संरक्षण आवश्यक ठानें।
अर्को सुशासन हो । २०–२१ वर्षको हुँदा म उद्यमी हुन्छु भनेर एकोहोरिएर लागेको थिएँ । तर, सरकारी प्रणालीको लामो र झन्झटिलो प्रक्रियाले म हतोत्साही भएँ । कम्पनी दर्तामा झमेला, नवीकरण गर्न जाँदा झमेला । होटल बनाउँछु भनेर लाग्दा बाटो कहिल्यै नबनाइदिने । त्यस बेला त लोडसेडिङ पनि १८ घण्टासम्म भयो । मरुहिटीबाट बाल्टीमा पानी बोकेर होटल चलाएको तीतो अनुभव मसँग छ । नेपाल बन्द धेरै हुने, पर्यटकलाई रिक्सामा राखेर एयरपोर्ट पु¥याउन जानुपर्ने पनि भयो । सुशासन भन्ने त कुनै प्रणाली नै छैन जस्तो अनुभव भयो । यस्तो हैरानी सबैजसो उद्यमीले पाइरहेका थिए । त्यस कारणले म निकै निराश भएको थिएँ । कुशासनको अन्त्यका लागि पनि म राजनीतिमा लाग्न बाध्य भएँ ।

विगत ८ वर्षदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ, अहिले सुशासनको अनुभव गरिरहनुभएको छ त ?

बिल्कुलै छैन । मुख्यत दुई वटा कारणले सुशासन हुन नसकेको मैले पाएँ । संसद्मा र कार्यकारी पदमा हामी जस्ता परिवर्तनकारी युवाहरुको उपस्थिति ज्यादै न्यून छ । समयसापेक्ष परिवर्तन हुन नसकेका पुरातनशैलीका राजनीतिकर्मीहरुको बाहुल्यता छ । उहाँहरुले अहिलेका युवा पुस्ताले के चाहिरहेका छन् भन्ने कुरा बुझ्नुभएको छैन । एक जना पूर्वप्रधानमन्त्रीले अझै पनि ६ महिनाभित्र घर–घरमा ग्यासको पाइप पु¥याउँछु भनिरहेका छन् । अघिल्लो चुनावमा पनि यस्तै झुटो वाचा गरेको सुनेको थिएँ । यस्तै सोच, झुटा आश्वासन र कार्यशैलीका कारण जेनजी आन्दोलन भएको र यो देशको एउटा टर्निङ प्वाइन्ट पनि हो भन्ने मलाई लाग्छ ।
पुरातनवादीहरु बहुसंख्यक रहेको हाम्रो सरकारको नीतिनिर्माण र काम गर्ने तौरतरिका पनि पुरातनवादी भयो र युवाहरुमा असन्तुष्टि उत्कर्षमा पुगेर आन्दोलनका रूपमा विस्फोट भयो । हाम्रो युवाकालमा उद्यमशील हुन पुँजी चाहिन्थ्यो, आज मोबाइलमा पब्जी खेलेर पनि पैसा कमाउन थालेका छन् । नेपालमा बसेर आईटीको काम गर्ने भाइबहिनीहरुले हामीले अन्य काम गरेर दश वर्षमा कमाउने पैसा एक वर्षमा नै कमाउने भइसके । त्यसलाई सहजीकरण गर्ने सुशासन खोजिएको छ तर सरकारले नीति निर्माण नै गर्दैन । त्यसका लागि हामीजस्ता युवाहरु विधायकी एवं कार्यकारी तहमा पुग्न आवश्यक छ ।

के पुराना राजनीतिकर्मीहरुले कुनै काम गर्न नसकेका हुन् त ?

होइन, केही योगदान उहाँहरुको छ । तर, अहिले उहाँहरुको सोच र कार्यशैली वर्तमान युवा पुस्ताको भावना अनुरूप भएन, छिटो–छरितो काम गरेर सुशासन दिन सक्नुभएन । त्यसैले पुराना राजनीतिकर्मीहरुले दिएको योगदानका लागि सलाम गर्न सकिए पनि उहाँहरु आउटडेटेड भइसकेकाले उहाँहरुले आफैं बिदा लिनु राम्रो हुन्छ ।

अहिले नयाँ संविधान लागू गरिएको छ । संविधानले निर्दिष्ट गरे अनुरूप नयाँ ऐन नियम बनाउनुपर्नेमा पुरानैलाई टालटुल पारेर चलाउन खोजिँदै छ । कतिपय पुराना ऐन नियम त वषौंदेखिको प्रयासले पनि परिमार्जन गर्न नसकेको अवस्था छ । २०८२ मा २०१२ सालको प्रहरी ऐनले निरन्तरता पाएको छ । गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा अधिकांश अवस्थामा प्रहरीले गोली चलाउनुभन्दा अघि अपनाउनुपर्ने प्रक्रियाहरु नै पूरा नगरी सीधा गोली हानेको पाइएको छ । प्रहरी ऐन अव्यावहारिक भइसकेको छ । यस्ता थुप्रै ऐनहरु बनाउन नसकेको र वर्षौं प्रयास गर्दा पनि परिमार्जन गर्न नसकेको अवस्था छ । पुरानो शैलीको काम र ऐन, नियमले उत्पादनलाई जोड दिन पनि सकेको छैन र उत्पादित वस्तुलाई बजारीकरण गर्ने व्यवस्था पनि हुन सकेको छैन ।

अब त्यसरी हुँदैन । विधायकी एवं कार्यकारीको कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता छ । राज्यले लगानी नै नगरेको आईटी क्षेत्रबाट वार्षिक २७ अर्ब आम्दानी भइरहेको छ । जब कि राज्यले धेरै स्रोत साधन लगानी गरेका ठाउँबाट आम्दानी भएको छैन । कतिपयमा त घाटा बेहोर्नु परिरहेको छ । यदि राज्यले आईटी क्षेत्रमा लगानी गर्ने, प्रोत्साहन गर्ने हो भने आम्दानी कैयौं गुणा बढ्ने निश्चित जस्तै देखिन्छ । म त्यसका लागि निरन्तर प्रयत्न गर्नेछु ।

संसदीय भूमिकामा आएपछि आफ्नो क्षेत्रमा गरेका केही काम बताइदिनुहुन्छ कि ?

विगत ८ वर्षमा जवाफदेहिता र पारदर्शिताका लागि मैले गरेका काम आफ्नो वेभसाइटमा पनि राख्ने गरेको छु । त्यसबाट धेरै कुरा थाहा हुन्छ ।
सांसद भएपछि सबै नै जिम्मेवारी लिनुपर्छ भन्ने कतिपय नागरिकको अपेक्षा हुन्छ । तर, व्यवहारमा त्यस्तो नहुने रहेछ । स्थानीय सरकार, प्रदेश सांसदलाई उठाउँदा हुने कुरा पनि सांसदकहाँ आउँछन् । तर, यो भन्दैमा सांसदलाई पन्छिने छुट भने छैन । त्यसैले वर्षको एकपटक सार्वजनिक सुनवाई गर्ने र वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कामको थालनी गरेका छौं ।

स्वयम्भूको जंगलको उजाड भएको स्थानमा जाली राखेर वृक्षरोपण गर्ने कार्य, नागार्जुनमा पहिरो व्यवस्थापन, विष्णुमती नदीको किनारामा पार्क तथा हरियाली विस्तार कार्यमा स्थानीय तहसँगको समन्वयमा काम भएका छन् । नदी स्वच्छ राख्नका लागि मुहानसम्म गएर अध्ययन गरिसकेका छौं । यस क्रममा विष्णुमतीमा हानिकारक औद्योगिक रसायन (मर्करी) मिसिएको पत्ता लगाएका छौं । अब त्यसलाई रोक्न प्रयत्न गर्ने छौं । नदीमा ढल नमिसियोस्, स्वच्छ नदी बगोस् भनेर दुवैतिर छुट्टै ढल निकासका लागि पाइप बिच्छाइसकिएको छ । अब त्यसलाई प्रणालीमा जोडेर नदी सफा रूपमा बगाउने मैले प्रयत्न गरिरहेको छु ।

चागलमा वर्षात्मा सधैंजसो डुबान पथ्र्यो । पछि स्थानीय निकायसँग समन्वय गरेर त्यहाँको निकास चाहिँ ठूलो बनाइदियौं, अहिले त्यो समस्या हटेको छ । आफ्नो क्षेत्रमा बाटोको समस्या हुँदा पनि सडक विभागसँग समन्वय गरेर काम गराइएको छ । यस्ता कार्य थुप्रैतिर गरिएको छ । जनताले उठाएका समस्या समाधान गर्न सांसदको कार्यकारी भूमिका नभए पनि विधायकी हैसियतले आफूअन्तर्गतका वडाहरुसँग समन्वय गरी विकास निर्माणका कार्यमा पहल गरिदिने र समस्या समाधान गर्न प्रयत्न गर्ने गरेको छु ।

सांसद विकास कोष खारेज भइसकेको अवस्थामा आफ्नो क्षेत्रको विकास निर्माणकार्य गर्न कुनै कठिनाइ भएको छ कि ?

वर्तमान अवस्थामा तीन तहको सरकार भएकाले विकास निर्माणमा सांसदको क्षेत्राधिकार सीमित छ ।
क्षेत्रगत हिसावले चाहिँ सांसद विकास कोष खारेज भइसकेपछि क्षेत्रमा आम मानिसले जुन कुरा माग गर्छन् त्यो कुरा पूरा गर्न प्रयत्न गरेका छौं । जस्तो बिजेश्वरी मन्दिर परिसरमा अरू आवश्यक संरचना बनाउने विभिन्न निकायबाट प्रस्ताव हुँदा मन्दिर नै कुरूप हुने स्थिति आएकोमा त्यसो हुन नदिन त्यसका लागि गुरुयोजना बनाई ३ करोड रुपियाँ बजेट पनि छुट्याइएको छ । अब जसले जे बनाउन चाहे पनि त्यो गुरु योजनाअन्तर्गत मात्र गर्न पाइन्छ । स्थानीयबाट जे माग भएको छ, त्यो पूरा गर्नेतिर लाग्ने गरेको छु । कङ्क अजिमा र डल्लु जोड्ने झोलुङ्गे पुल सर्वसाधारण हिँड्ने बाटो मात्र नभई सांस्कृतिक हिसावले पनि गुँला बाजा बजाउँदै हिँड्ने एक प्रमुख बाटो हो । त्यसका लागि पनि ३ करोड छुट्याइएको हो । विभिन्न सामुदायिक स्कुलको स्तरोन्नतिका लागि पनि बजेट छुट्याइएको छ । आम मानिसले भेला भएर गरेका मागहरुलाई प्राथमिकतासाथ सम्बोधन गर्ने गरिएको छ ।

जनताको काम गर्न कस्तो कार्यशैली अपनाउने गर्नुभएको छ ?

आम जनताले अहिले पनि सांसदलाई विकासको प्रतिनिधिका रूपमा हेरिरहेका छन् तर त्यो होइन । मूलतः सांसदको भूमिका विधायकी हो । तर, यसो भनेर पन्छिन पाइँदैन र म पन्छिएको पनि छैन । सांसदले मन्त्रालय र जनताका बीच पुलको काम गरेर पनि जनचाहना अनुरूप काम गर्न सक्छ ।

स्थानीय कुनै पनि किसिमका समस्या मकहाँ आयो भने त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरेको छु । मेरो क्षेत्राधिकारका कुरा संसद्मा उठाउने र समस्या समाधानका लागि आवश्यक समन्वय गरी कार्यान्वयन गरिदिएको छु । जस्तोः स्वयम्भूको गजुर हावाहुरीले खसालेका बेला त्यहाँका गुरुजुहरुले खबर गर्नसाथ संसद्मा समेत कुरा उठाएर त्यो गजुर पुनःस्थापना नहुन्जेल ६ जना प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाएको थिएँ । यस कार्यबाट प्रभावित भएर अहिले त्यहाँका एक प्रमुख अशोक गुरुजुले त त्यसबारे भिडियो नै बनाएर सोसियल मिडियामा राख्नुभएको छ । त्यसका लागि उहाँप्रति आभारी पनि छु । यस्ता थुप्रै उदाहरण छन् ।
सांसदलाई जनताले गुनासो गर्दा कुन पार्टीको हो भनेर पहिचान खुलाउनुपर्ने सम्बन्धित पार्टीको मानिसले सिफारिस गरेको हुनुपर्ने जस्ता समस्याहरु देखेको छु । तर, मैले यो विकृतिलाई तोडेको छु । कुनै काम लिएर कोही आएमा उसको सम्बन्धित पार्टी कुन हो नसोधी काम गर्न समन्वय गरिदिन्छु । किन कि जनप्रतिनिधि भएपछि पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ, आफ्नो क्षेत्रको नागरिकको कामलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता छ । ‘मेरो पार्टीको होइनस्, मलाई भोट दिएको छैनस्’ भनेर काम नगरिदिने प्रवृत्ति गलत हो । त्यसैका कारणले वैकल्पिक शक्तिका रूपमा हामी अगाडि आएका हौं । हामीले पुराना विकृत कार्यशैलीलाई छोडेर नयाँ तरिकाले काम गर्नु नै पर्छ ।

विभिन्न पार्टीका प्रतिनिधिहरु चुनावी मैदानमा आएका छन्, रास्वपालाई नै जनताले किन भोट दिने त ?

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगको राजनीतिक दलको ऐनभित्र बसेर सबै कुरा पालना गरेको छ । यस्तो पालना गर्ने रास्वमा एकमात्र पार्टी हो । हामीले प्रणालीभित्र बसेर काम गर्ने कुरालाई उच्च महत्व दिएका छौं । जनताको चाहना र सहभागितामा देशको विकासको गति बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले पनि हाम्रो नारा ‘अबको निकास, सहभागितामूलक विकास’ भन्ने रहेको छ । परिवर्तनलाई अंगिकार गर्दै नयाँ सोच र कार्यशैली अपनाउँदै सुशासन दिने र भ्रष्टचारमुक्त प्रणालीको विकासलाई प्राथमिकता दिने पार्टी रास्वपा नै हो ।

हाल जनतासँग मत माग्न घरदैलो गर्दै हिँड्दा कस्तो अनुभव गर्नुभएको छ ?

घरदैलो कार्यक्रममा जाँदा स्थानीय बासिन्दाले धेरै सहयोग, माया, ममता देखाएकाले म धेरै नै उत्साहित भएको छु । जनतासँग मेरो धेरै नै घुलमिल छ । स्थानीय बासिन्दाले नै हाम्रो टोलमा आइदिनुप¥यो भन्नुहुन्छ । इन्द्रजात्रालगायत स्थानीय सांस्कृतिक कार्यक्रममा गएर बाजा पनि बजाइदिन्छु । स्थानीय मानिसका सांस्कृतिक, धार्मिक र अन्य कार्यक्रममा उहाँहरुसरह नै सरिक हुने गर्छु । म स्थानीय मानिसको कुरा सुन्दछु र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छु । नियमित रूपमा आफ्नो क्षेत्रमा म पुगिरहने भएकाले र अघिल्लो कार्यकालमा स्थानीय बासिन्दाको मनोभावना बमोजिम कार्य गरिदिएकाले उहाँहरुले मलाई सकारात्मक रूपमा लिने गर्नुभएको छ । त्यस कारणले पनि म यो चुनाव जित्ने कुरामा विश्वस्त छु ।

काठमाडौं क्षेत्र नं. ८ बाट आफू प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएमा सो क्षेत्रमा आफूले गर्ने कार्यहरू बारे आममतदाताप्रति केही प्रतिबद्धता व्यक्त गर्न चाहनुहुन्छ कि ?

सांसदको हैसियतमा मैले गर्ने प्रमुख काम भनेको नीति निर्माण नै हो । त्यसअनुसार मैले विधेयकहरुमा संशोधन हाल्ने, विधेयकलाई गतिशीलता दिने कुरामा सक्रियतापूर्वक कार्य गरेको छु र भविष्यमा अझ बढी परिपक्वता साथ त्यसमा भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता छ ।

सांस्कृतिक अर्थतन्त्रको विकास मेरो इच्छा हो । सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन गर्न सके त्यो आर्थिक उन्नतिका लागि ठूलो स्रोत बन्छ । त्यस कारणले पनि विश्व सम्पदा सूचीमा परेको स्वयम्भू, काठमाडौं दरबार स्क्वायर र यस क्षेत्रका अन्य सम्पदाहरुको संरक्षण, प्राकृतिक स्रोत साधनको संरक्षण र सम्वद्र्धनका लागि म सांसद भए पनि नभए पनि लागिरहने मेरो प्रतिबद्धता छ ।

नेपालमा पनि बाक्लै रूपमा जलवायु परिवर्तनको असर देखिएको छ । यो मुद्दालाई अन्तर्राष्ट्रिय फोरममा नेपालले जसरी उठाउनुपर्ने हो त्यसरी उठाएन भन्ने अन्तर्राष्ट्रिय स्तरबाटै गुनासा आउने गरेको छ । म यी कुरामा प्राथमिकता दिन्छु ।

अर्को चाहिँ सुशासन नै मेरो प्राथमिकता हो । यसलाई सुधार गर्न सके सबैतिर सुधार हुँदै आउनेछ भन्ने मेरो विश्वास छ । उद्यमशीलतामा लाग्न खोज्दा मैले जस्तो दुःख अरूले भोग्न नपरोस् भनेर छिटो–छरितो प्रणालीको विकास विगतमा मेरो प्राथमिकतामा परेको थियो । र, यसलाई भविष्यमा पनि निरन्तरता दिनेछु ।

-‘मेरो पार्टीको होइनस्, मलाई भोट दिएको छैनस्’ भनेर काम नगरिदिने प्रवृत्ति गलत हो, यसलाई मैले चिरेको छु ।

-परिवर्तनलाई अंगिकार गर्दै नयाँ सोच र कार्यशैली अपनाउँदै सुशासन दिने र भ्रष्टचारमुक्त प्रणालीको विकासलाई प्राथमिकता दिने पार्टी रास्वपा नै हो ।

-नियमित रूपमा आफ्नो क्षेत्रमा पुगिरहने भएकाले र अघिल्लो कार्यकालमा स्थानीय बासिन्दाको मनोभावना बमोजिम कार्य गरिदिएकाले पनि म यो चुनाव जित्ने कुरामा विश्वस्त छु ।

-विश्व सम्पदा सूचीमा परेको स्वयम्भू, काठमाडौं दरबार स्क्वायर र यस क्षेत्रका अन्य सम्पदाहरुको संरक्षण, प्राकृतिक स्रोत साधनको संरक्षण र सम्वद्र्धनका लागि म सांसद भए पनि नभए पनि लागिरहने छु ।

-राज्यले आईटी क्षेत्रमा लगानी गर्ने, प्रोत्साहन गर्ने हो भने आम्दानी कैयौं गुणा बढ्ने निश्चित जस्तै देखिन्छ । म त्यसका लागि निरन्तर प्रयत्न गर्नेछु ।