मोदीलाई सम्बोधन गरिएको भनिएको पत्र नक्कली: रास्वपा


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह को संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्ण रूपमा झुटो र कपोलकल्पित भएको जनाएको छ।

शुक्रबार राति जारी विज्ञप्तिमार्फत पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई सम्बोधन गरी लेखिएको भनिएको पत्र सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

रास्वपाले दुई राजनीतिक व्यक्तित्वको नाम दुरुपयोग गर्दै परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा भ्रामक सामग्री फैलाउनु निन्दनीय भएको बताएको छ। सार्वजनिक गरिएको पत्र किर्ते तथा आधारहीन रहेको दाबी गर्दै पार्टीले त्यस्ता सामग्रीमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पार्टीका अनुसार आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक लाभ लिन र नेपाल–भारत सम्बन्धमा असर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा यस्तो दुष्प्रचार गरिएको हो।

रास्वपाले सञ्चारमाध्यमलाई राष्ट्रिय महत्वका विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्यको यथेष्ट पुष्टि गर्न आग्रह गरेको छ। साथै, सामाजिक सद्भाव र द्विपक्षीय सम्बन्धमा नकारात्मक प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न पनि अनुरोध गरेको छ।

त्यस्तै, पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा फैलाइएका फेक न्यूज र भ्रामक सूचनाबाट सचेत रहन आम नागरिकलाई अपिल गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।