काठमाडौं ।
नेपाल–भारत सीमा सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारत बीच बाहिनीस्तर (डीआईजी तह) को समन्वयात्मक बैठक भारतको चम्पावत मा सम्पन्न भएको छ।
बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी आफ्ना प्रतिनिधिमण्डलसहित चम्पावत पुगेका थिए।
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी–निकासी, लागूऔषध ओसारपसार तथा निर्वाचनविरोधी गतिविधि नियन्त्रणका विषयमा गहन छलफल भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। मौन अवधिभर सीमा नाका शील गर्ने विषयमा प्रभावकारी समन्वय गरी परिणाममुखी कार्ययोजना बनाउने सहमति समेत भएको छ।

दुवै पक्षबीच सीमा क्षेत्रमा हुनसक्ने गैरकानुनी गतिविधिमाथि सूक्ष्म निगरानी बढाउने, सूचना आदान–प्रदानलाई तीव्र बनाउने तथा त्यस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा लिन संयुक्त पहल गर्ने सहमति भएको बताइएको छ। विपद् व्यवस्थापनका सन्दर्भमा समेत आपसी समन्वय विस्तार गर्दै विभिन्न प्रकृतिका संयुक्त सिमुलेशन अभ्यास सञ्चालन गर्ने विषयमा छलफल भएको छ।
निर्वाचन अवधिमा सम्भावित सुरक्षा चुनौती सम्बोधन गर्न संयुक्त तथा समानान्तर सीमा गस्ती सशक्त बनाउने, सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने र तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश नियन्त्रण गर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करी नियन्त्रणका लागि निरन्तर घनिष्ठ सहकार्य गर्ने र मातहत युनिटलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।
बैठकमा भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर अल्मोरा र पिलिभितका डीआईजीद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मा लगायत सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत भारतीय समकक्षी अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाली प्रतिनिधिमण्डलमा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने तथा बैतडी र डडेल्धुराका गुल्मपतिहरू सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवर र प्रकाशचन्द्र भट्टको सहभागिता रहेको नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच केन्द्रीय, प्रदेश तथा जिल्लास्तरमा नियमित समन्वयात्मक बैठकहरू हुँदै आएको र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो सहकार्यलाई निरन्तरता दिइने दुवै पक्षले जनाएका छन्।











प्रतिक्रिया