शान्ति सैनिक लेबनानतर्फ प्रस्थान, २२४ जनाको अदलीबदली


काठमाडौं ।

नेपाली सेनाले लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली शान्ति सैनिकको अदलीबदली गरेको छ।

रक्षा मन्त्रालयअन्तर्गत सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार लेबनानका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम सेना (युनिफिल) मा तैनाथ श्री सगरमाथा गण (शान्ति सेना) छैटौं डफ्फाका २२४ जना नेपाली शान्ति सैनिकहरू मिसन क्षेत्रतर्फ प्रस्थान गरेका छन्।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका सोही सङ्ख्याका २२४ जना शान्ति सैनिकहरू स्वदेश फर्किएका छन्।

हाल लेबनानस्थित लेबनानका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम सेना (युनिफिल) मिसनमा नेपाली सेनाका कुल ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।

नेपाली सेना विगतदेखि नै संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका विभिन्न मिसनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूले त्यहाँको शान्ति सुरक्षा, सामुदायिक सहकार्य तथा मानवीय गतिविधिमा योगदान दिँदै आएका छन्।