राजनीतिसँग जोडिँदै परम्परागत होली, सात ब्यापारी नियन्त्रणमा


हेटौंडा ।

निर्वाचनको मुखमा बालेनको नाम उल्लेख गर्दै रास्वपानिकट ब्यापारीले निर्वाचन आचारसंहिताविपरीत व्यावसायिक क्षेत्रबाट राजनीति थालेका छन् ।
पार्टीको नाम उल्लेख नगरी उनीहरुले होलीको आगमनको मौका छोपेर भावी प्रधानमन्त्रीका उम्मेदवार दाबी गरिएका बालेनको तस्बीर अंकित टीसर्ट बिक्री गरेका हुन् । त्यस्ता टीसर्ट बिक्री गर्दै आएका स्थानीय ७ जना ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडामा होलीका अवसरमा ‘अब कि बार बालेन सरकार’ लेखिएको टीसर्ट बिक्री तथा वितरण गर्न थालेपछि यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रचलित कानुन तथा निर्वाचन आचारसंहिताविपरीत कुनै गतिविधि भएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारको फोटोसहितको टीसर्ट बिक्री भएका यस्ता गतिविधिले कानुनको बर्खिलाप हुने र प्रशासनले जफत गर्नसक्ने हुनाले दोहोरो घाटा लाग्ने भन्दै त्यस्ता कार्य नगर्न ब्यवसायीलाई आग्रह गरेका छंम । उनले परम्परागत होलीलाई राजनीतिसँग नजोडी निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेका छन् ।

१८ गतेदेखि निर्वाचन प्रचारप्रसारमा रोक लाग्ने भएकाले मौन अवधि सुरु हुँदैछ । १८ र १९ गते होली (फागु पूर्णिमा) परेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागु पूर्णिमा (होली) पर्वलाई शान्त, सभ्य र मर्यादित रुपमा मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली पर्व परेकाले निर्वाचनको सुरक्षा, समावेशीता र निर्वाचन आचारसंहिताको पूर्णपालना आवश्यक रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई धार्मिक तथा सांस्कृतिक मर्यादाभित्र रही मनाउन आग्रह गर्दै आचारसंहिता उलंघन भएको देखिएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरेको छ । होलीको दिन भेटघाट वा कुनै पनि किसिमका कार्यक्रम नगर्न, गर्नैपरेमा पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

पर्वको नाममा कसैको इच्छाविपरीत जबर्जस्ती, अमर्यादित व्यवहार, रंग, लोला वा फोहर पदार्थ प्रयोग गर्ने कार्य नगर्न सूचनामा उल्लेख छ । सूचनामा मादक तथा नशालु पदार्थ सेवन नगर्न, मादकपदार्थ सेवन गरी सवारी नचलाउन, सार्वजनिकस्थलमा होहल्ला नगर्न, चर्को आवाजमा बाजा–डीजे नबजाउन तथा पटाका, आतिसबाजीजस्ता गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।