काठमाडौं ।
आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नम्बर–९ मा चुनावी माहौल तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि अधिकांश मतदाताले आफ्नो रोजाइ लगभग तय गरिसकेको स्थानीय तहमा गरिएको संवाद र अनौपचारिक सर्वेक्षणले संकेत गरेको छ।
काठमाडौँ महानगरपालिकाका वडा नम्बर १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० तथा चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ वडा समेटिएको यस क्षेत्रमा कुल २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये १८ जना दलका तर्फबाट र ६ जना स्वतन्त्र उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा भने नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारबीच केन्द्रित देखिएको छ।

एमालेप्रति देखिएको भरोसा
स्थानीय मतदातासँगको कुराकानीमा अन्य दलको तुलनामा एमालेप्रति आशा र भरोसा बढी देखिएको छ। २०७४ र २०७९ को निर्वाचनमा यही क्षेत्रबाट एमालेले जित निकालेको इतिहासले मतदाताको मनोविज्ञानमा प्रभाव पारेको बताइन्छ।
यसपटक एमालेले अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएको छ। मतदाताहरूका अनुसार शाक्य शालीन, बौद्धिक र विकासप्रेमी नेताका रूपमा परिचित छन्। अघिल्ला कार्यकालमा विकास निर्माण, संस्कृति तथा सम्पदा संरक्षणमा खेलेको भूमिकाले उनको छवि बलियो बनेको स्थानीयको भनाइ छ।
लगन टोलका एक मतदाताले भने, “नयाँ भन्ने नारा धेरै आयो, तर एजेन्डाले मन छोएन। अहिलेसम्म अरु दलभन्दा एमालेका उम्मेदवारले नै बढी विश्वस्त बनाएका छन्।” उनले आफ्नो परिवारका १० मत एमालेतर्फ जाने दाबी गरे।

घरदैलो अभियानमा सक्रियता
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय देखिएका छन्। अजयक्रान्ति शाक्य दैनिक रूपमा विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। स्थानीयका गुनासा सुन्ने, विकासका प्राथमिकता सार्वजनिक गर्ने र अघिल्ला कामको विवरण प्रस्तुत गर्ने शैलीले उनको अभियान व्यवस्थित र योजनाबद्ध देखिएको छ।
त्यस्तै कांग्रेसकी उम्मेदवार नानु बास्तोला र रास्वपाका उम्मेदवारले पनि घरदैलो अभियान तीव्र पारेका छन्। उनीहरूले परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कारलाई मुख्य एजेन्डा बनाएका छन्।

सम्पदा र पूर्वाधार विकासको एजेन्डा
स्थानीयका अनुसार शाक्यले निर्वाचित भएपछि श्वेत भैरव नारायण मन्दिर, बासुकी दह, टेबहाल नास द्यः, दलाक्षी नास द्यः, स्वः बहाल चैत्य, गोफल इनार, इनाखा गणेश मन्दिरलगायत ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा योगदान दिएका थिए। साथै विद्यालय, पार्क, सडक, खानेपानी, ढल तथा अन्य भौतिक पूर्वाधारमा भएका कामले पनि मतदाताको विश्वास जितेको बताइन्छ।
विशेषगरी वडा १२, २१ र २२ मा नेवार समुदायको बाहुल्यता रहेकाले अघिल्ला निर्वाचनमा एमालेको पकड बलियो देखिएको थियो। यही क्षेत्रबाट २०७४ मा शाक्यले उल्लेखनीय मतान्तरसहित जित निकालेका थिए।

अझै केही मतदाता निर्णयविहीन
यद्यपि सबै मतदाता एकतर्फी देखिँदैनन्। केही मतदाता अझै निर्णयविहीन अवस्थामा छन्। रास्वपा र कांग्रेसप्रति झुकाव राख्ने मतदाता पनि भेटिएका छन्। एक मतदाताले भने, “परिवर्तनको कुरा धेरै हुन्छ, तर परिवर्तन किन र कसरी भन्ने स्पष्ट हुनुपर्छ।”
७७ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा अन्तिम नतिजा भने फागुन २१ गतेको मतदानपछि मात्रै स्पष्ट हुनेछ। हालसम्मको अवस्था र घरदैलो अभियानको प्रभावलाई हेर्दा एमालेका अजयक्रान्ति शाक्यको माहौल केही अगाडि देखिए पनि प्रतिस्पर्धा भने रोचक रहने संकेत देखिएको छ।











प्रतिक्रिया