काठमाडौं ।
नेपाली सेना अन्तर्गतको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत वैशाख ४ गतेदेखि सुरु भएको सि.सं. ३२ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह शुक्रबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
समारोहमा प्रधान सेनापति सिग्देलले तालिममा प्रथम हुने सेनानी दिपेन्द्र विक्रम के.सी.लाई ‘सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदान गरे। त्यसैगरी भारतीय सेनाका मेजर अनमोल चौधरीलाई ‘सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार’ प्रदान गरियो। सो अवसरमा कलेजको वार्षिक प्रकाशन Shivapuri Journal (The Shivapuri Journal) को २७औँ संस्करणसमेत विमोचन गरिएको थियो।

कार्यक्रममा Masters in Strategic Studies (MSS) Programme तर्फ प्रथम भएका भारतीय सेनाका मेजर अनमोल चौधरीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक आचार्यले पुरस्कार प्रदान गरे। त्यस्तै, कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी सञ्जय सिलवाल र सह सेनानी विनोद कुमार गुरागाईलाई शिक्षाधिकृत उपरथी भुवन खत्रीले सम्मान गरेका थिए।

यस वर्षको तालिममा नेपाली सेनाका ८१ जना अधिकृत दीक्षित भएका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक जना अधिकृत सहभागी थिए। साथै मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका ८ जना विदेशी अधिकृत गरी कुल ९२ जना अधिकृत दीक्षित भएका हुन्।
कलेजले हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ तथा विभिन्न मित्रराष्ट्रका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतलाई प्रशिक्षण दिइसकेको जनाएको छ।

दीक्षान्त समारोहमा रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ज्येष्ठ अधिकृत, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारी, कलेजसँग सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधि तथा शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।











प्रतिक्रिया