देश बदल्ने संकल्पसहित थापा सुर्खेतमा: पाँच वर्ष स्थिरता र सुधारको वाचा

658
Shares

सुर्खेत । 

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काँग्रेस बदलेर आएको भन्दै अब देश बदल्ने बताएका छन् । 

नेपाली काँग्रेस कर्णाली प्रदेश कमिटीले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विशाल चुनावी जनसभालाई सम्बोधन गर्दै सभापति थापाले “पाँच वर्ष अर्को प्रयोग नगरौँ” भन्ने प्रस्ताव अघि सारे ।

थापाले देशमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गर्दै सुधारका मामिलामा काँग्रेस स्वयं पनि चुकेको आत्मालोचना गरे। २०७४ पछि सरकार बनाउने र गिराउने खेलमै राजनीति सीमित भएको उल्लेख गर्दै उनले गठबन्धन राजनीतिले पार्टीलाई कमजोर बनाएको बताए। “सबै हिंसाबाट बाहिर आएपछि पनि हाम्रो कमजोरी रह्यो,” उनले भने, “तर अब हामी काँग्रेस बदलेर आएका छौं, देश बदल्न चाहन्छौं।”

देशलाई एकताबद्ध बनाउने उद्देश्यसहित आफू मधेश गएको उल्लेख गर्दै उनले यो चुनावबारे अनावश्यक संशय सिर्जना गर्न खोजिएको आरोप लगाए । भदौ २३–२४ का घटनाले देशलाई फागुन २१ को चुनावतर्फ धकेलेको उल्लेख गर्दै उनले ती घटनालाई पूर्ण अस्वीकार गर्ने र त्यसको फाइदा उठाउँदै मौन बस्ने, यी दुवै अतिवादी प्रवृत्तिले देशलाई दुर्घटनातर्फ लैजाने खतरा रहेको बताए। काँग्रेस दुवै अतिवादसँग असहमत रहेको उनको भनाइ थियो ।

भ्रष्टाचार नियन्त्रणका सवालमा थापाले २०४६ पछिका सबै चर्चित काण्डको निष्पक्ष छानबिन गरिने प्रतिबद्धता जनाए । “काँग्रेसको जिम्मा लिएर बोल्दै छु, पाँच वर्ष काम गर्दा प्रत्येक काण्डको छानबिन हुन्छ । मेरो परिवारको सदस्य भए पनि दोषी भए एक जना बच्दैन,” उनले भने, “एउटा काण्ड पनि काँग्रेस सरकारले ग¥यो भनेर जनताले सुन्न नपरोस् भन्ने हाम्रो लक्ष्य हो।”

माओवादी द्वन्द्वकालमा नक्कली शरणार्थी कागजात बनाएर विदेश गएकाहरू अहिले ठूलो हल्ला गर्दै फर्किएको आरोप लगाउँदै उनले कर्णालीका मतदातालाई त्यस्ता नारामा नपत्याउन आग्रह गरे । “ठूलो कोलाहल छ, त्यो सामाजिक सञ्जालमै सीमित रहोस्,” उनले भने ।

आगामी पाँच वर्षभित्र देश सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकले बिरामी हुँदा उपचार खर्च तिर्न नपर्ने व्यवस्था र सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरिने बताए ।  काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्दै उनले भने, “नेपाली काँग्रेस यसका लागि प्रतिबद्ध छ।”

थापाले सबै राजनीतिक दललाई पाँच वर्षमा देश कस्तो बनाउने भन्ने विषयमा खुला बहस गर्न आह्वान गरे । “बहसमा आउनुस् भन्दा कोही आउँदैनन्, साँझ भट्टीमा गएर गाली मात्र गर्छन्,” उनले कटाक्ष गर्दै भने, “नेपाली काँग्रेसले देशलाई दुर्घटनामा पर्न दिँदैन।”

कर्णालीको विकासका लागि संविधान र कानुनमा केही संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कानुनी उपाय खोज्नुपर्ने बताए । कार्तिक–मंसिरमा हिमपातका कारण विकास बजेट खर्चमा कठिनाइ हुने गरेको उनले स्मरण गराए ।

“पाँच वर्ष अर्को प्रयोग नगरौँ,” भन्दै उनले आगामी पाँच वर्षलाई परिवर्तनको वर्ष बनाउने प्रतिबद्धता दोहो¥याए ।