सत्य घटनामा आधारित एक किस्सा

940
Shares

घटना भारतको गोकुल क्षेत्रको हो । गोकुलको नजिकै एक गाउँमा एउटी महिला थिइन् । उनको नाम थियो आनन्दी बाई । हेर्दा उनी यति कुरुप थिइन् कि उनलाई देखेर सबै डराउँथे । गोकुलमा उनको विवाह भयो, विवाह हुनुअगाडि उनका पतिले उनलाई देखेका थिएनन् । विवाहपछि उनको कुरुपता देखेर उनका पतिले उनलाई पत्नीको रुपमा राख्न सकेनन् र छोडेर दोस्रो विवाह गरे । आनन्दीले आफ्नो कुरुपताको कारण भएको अपमानलाई सहेर पचाइन् अनि निश्चय गरिन् कि अब म गोकुललाई नै आफ्नो घर बनाउँछु ।

आनन्दी बाई गोकुलकै एक घरको सानो कोठामा रहन थालिन् । घरमै मन्दिर बनाएर कृष्णको मूर्ति स्थापना गरी पूजा गर्थिन् । उनी स्थापित श्रीकृष्णको मूर्तिसँग बिहान–बेलुका कुराकानी पनि गर्थिन् । उनैसँग रिसाउँथिन्, फेरि खुसाउँथिन् । दिनमा साधुसन्तको सेवा गरी प्रवचन श्रवण गर्थिन् । यस प्रकार कृष्णभक्ति एवं साधुसन्तको सेवामा नै उनको दिन बित्न थाल्यो ।
एकदिनको कुरा हो, गोकुलको गोपेश्वरनाथ नामक स्थानमा श्रीकृष्ण लीलाको आयोजना गर्ने निश्चित गरियो ।

त्यसका लागि विभिन्न पात्रहरुको चयन हुन लाग्यो । पात्रको चयनको समयमा आनन्दी बाई पनि त्यहीँ थिइन् । अन्त्यमा कुब्जा पात्रको कुरा चल्यो । त्यस समयमा आनन्दी बाईका पति पनि आफ्नो दोस्री पत्नी र बच्चाका साथ त्यहाँ उपस्थित थिए । उनले आनन्दी बाईको खिल्ली उडाउँदै आयोजकहरुका सामु प्रस्ताव राखे– ‘अगाडि यो जुन महिला उभिएकी छे, ऊ कुब्जाको भूमिका राम्ररी निभाउन सक्छे, उसैलाई भन्नुस् । यो पात्र त उसैलाई सुहाउँछ, यो त साँच्चिकै कुब्जा पनि हो ।’

आयोजकहरुले आनन्दी बाईलाई हेरे । उनको कुरुप अनुहार र कुब्जा देखेर कुब्जाको भूमिकाको लागि मन पराए । आयोजकहरुले आनन्दी बाईलाई कुब्जाको पात्रको भूमिका निभाउन आग्रह गरे । श्रीकृष्णको लीलामा उनले भूमिका निभाउन सहर्ष स्वीकृति जनाइन् । श्रीकृष्णको पात्रमा भने एक आठ वर्षीय थियो ।

आनन्दी बाई घरमा आएर श्रीकृष्णको मूर्तिसामु विह्वलताका साथ हेर्न लागिन् र मनैमन विचार गर्न थालिन्– ‘मेरो कन्हैया आउँछन् र मेरा खुट्टामा आफ्ना खुट्टा राख्छन् अनि मेरो कुब्जा ढाड समातेर मलाई माथि हेर्न भन्नेछन् ।’ यसरी अनन्दी बाई नाटकको दृश्यको कल्पनामा हराउन पुगिन् ।

आखिर श्रीकृष्ण लीला रङ्गमञ्चमा अभिनय गर्ने समय आयो । लीला हेर्न धेरै मानिस जम्मा भए । श्रीकृष्णको मथुरा गमनको प्रसंग चलिरहेको थियो, नगरको राजमार्गमा श्रीकृष्ण हिँडिरहेका थिए, बाटोमा कुब्जा भेट भयो । नाटकमा आठ वर्षीय बालक जो श्रीकृष्णको अभिनय गरिरहेका थिए, उनले कुब्जा बनेकी आनन्दी बाईको खुट्टामा आफ्नो खुट्टा राखे र उनको ढाड समातेर माथि उठाए तर यस्तो चमत्कार भयो कि कुरुप कुब्जा एकदम सामान्य नारीको स्वरुपमा परिणत भइन् । त्यहाँ उपस्थित सबै दर्शकहरुले यस प्रसंगलाई अचम्मित भई हेर्न थाले ।

आनन्दी बाईको कुरुपताका बारेमा सबैलाई थाहा थियो । अब उनको कुरुपता बिल्कुल गायब भइसकेको थियो । यो देखेर सबै एक–आपसमा अविश्वास भावले हेरिरहेका थिए । आनन्दी बाई भावविभोर भएर कृष्णमै हराइरहेकी थिइन् । यो थाहा पाएर सबै मानिस कौतुहलवश उनलाई हेर्न आए । यदि कसैले केही सोधेमा एउटै जवाफ दिन्थिन्– ‘मेरो कन्हैयाको लीला कन्हैयाले नै जानून् ।’

आनन्दी बाईले आफ्ना पतिलाई धन्यवाद दिन पछि परिनन् । यदि आनन्दी बाईको कुरुपताका कारण पतिले नछोडेका भए श्रीकृष्णमा उनको भक्ति कसरी जाग्थ्यो ? श्रीकृष्ण लीलामा कुब्जाको पात्रको चयनको लागि उनको नाम पनि उनकै पतिले सिफारिस गरिदिएका थिए । यसका लागि पनि उनको आभार थियो पतिलाई । प्रतिकूल परिस्थितिमा पनि भगवान्को देन मानेर धन्यवाद दिँदा सो प्रतिकूल परिस्थितिसमेत उन्नतिकारक हुन जान्छ ।