तपाईंलाई शान्ति र आनन्द चाहिन्छ अनि ती तपाईंभित्रै छन् । समस्याहरूसँग लड्नका लागि आवश्यक पर्ने सबैथोक तपाईंसँग छन् । कुरा के मात्र हो भने, तपाईंले त्यसलाई उपयोग गर्नुपर्ने हुन्छ ।
समस्या त समस्या नै हो । समस्या कस्तो हुन्छ भने, यसले पहिला अरू कसैलाई सताइरहेको थियो, अहिले तपाईंको पछि लागेको छ । तपाईंपछि यसले अरूलाई नै दुःख दिनेछ । त्यसको काम नै के हो भने, जस्तो– झिँगो हुन्छ नि ! कहिले एउटालाई दिक्क लगाउँछ, फेरि अर्कोतिर गएर उसलाई दुःख दिन्छ । अनि उसलाई दिक्क लगाएपछि फेरि तपाईंकहाँ फर्केर आइपुग्छ । समस्याहरू पनि झिँगाजस्तै हुन्छन् तर तपाईंसँग ती समस्यालाई समाधान गर्ने कस्तो यन्त्र छ ? समाधानको अर्थ के हो भने, ती समस्यालाई तपाईं आपूmदेखि छुट्टै राख्नुहोस् ।
केही पर राख्नुहोस्, जसले गर्दा तिनले तपाईंलाई दुःखी नतुल्याऊन् ।एउटा कथा छ । एकजना मानिस थिए । उनी तीर चलाउने काममा एकदमै सिपालु थिए । उनी तीर चलाउँथे अनि तीर चलाउने प्रदर्शन पनि गर्दथे । उनी ठाउँ–ठाउँमा गएर आफ्नो प्रदर्शन गर्ने गर्दथे । उनी तीर चलाउँदा निसानामै लगाउँथे । त्यसपछि दोस्रो तीरले पहिलो तीरलाई चिर्दथे । उनको यो प्रदर्शनलाई देखेर मानिसहरू जोडले ताली बजाउँथे ।
एकदिन निकै ठूलो प्रदर्शन भइरहेको थियो । मानिसहरू एकदमै टाढा–टाढाबाट आएका थिए । उनी आफ्नो तीर चलाइरहेका थिए । दर्शकहरूले ताली बजाइरहेका थिए । उनले तीर चलाएपछि तालीको गड्गडाहट सुनिन्थ्यो । त्यत्तिकैमा पछाडिबाट कुनै आवाज आइरहेको थियो– ‘यो त अभ्यासको खेल हो ।’ जसै उनको कानमा यो आवाज पथ्र्यो, उनलाई एकदमै नराम्रो लाग्थ्यो । किनभने उनले के सोच्थे भने, मानिसहरू उनैलाई हेर्न आएका हुन् । उनको तीर चलाउने तरिका अत्यन्तै उत्कृष्ट थियो । उनले सोचे– मानिसहरू मेरो प्रदर्शनी हेर्नका लागि आएका छन् तर कसले बोलिरहेको छ– ‘अभ्यासको खेल हो’ । उनलाई निकै असह्य भयो ।
प्रदर्शन सकिनेबित्तिकै त्यो को रहेछ भनेर उनी खोज्न थाले, जसले भनिरहेको हुन्थ्यो– यो अभ्यासको खेल हो । पछाडि गएपछि उनले देखे– एकजना तेल बेच्ने मानिस बसेका थिए । उनको काँधमा तेलले भरिएको माटाको भाँडो एउटा अगाडि र अर्को पछाडि थियो । केही खाली बोतलहरू पनि थिए । तब तीर चलाउनेवालाले उनलाई सोधे– ‘के तपाईं नै भनिरहनुभएको थियो, ‘यो अभ्यासको खेल हो भनेर ?’
तेल बेच्नेले भने, ‘हजुर !’ त्यसपछि तीर चलाउनेवालाले भने, ‘तपाईं मलाई यो कसरी अभ्यासको खेल हो भनेर भन्न सक्नुहुन्छ ? ममा क्षमता छ, त्यसैले त म तीर चलाउन सक्छु ।’ त्यसपछि तेल बेच्नेले भने, ‘पख्नुहोस्, तपाईंलाई देखाउँछु ।’ अनि तेल बेच्नेले आफ्नो बोतललाई जमिनमा राखे । एउटा ठूलो माटाको भाँडोलाई उचालेर काँधमा राखे अनि त्यो माटाको भाँडाबाट तेल खन्याउन शुरु गरे । जुन सीधा गएर तल जमिनमा राखिएको बोतलभित्र प¥यो । उनले एक थोपो पनि त्यसबाट बाहिर पोखेनन् ।
त्यसपछि उनी तीर चलाउनेतिर फर्केर भन्छन्, ‘अब तपाईं गरेर देखाउनुहोस् ।’ तब तीर चलाउनेलाई महसुस भयो– वास्तवमा यो त अभ्यासको खेल हो । तेल बेच्ने तेलीले भने, ‘तपाईं तीर चलाउने अभ्यास गर्नुहुन्छ, त्यसकारण तपाईं त्यसैमा निपुण हुनुभयो । म बोतलमा तेल खन्याउने अभ्यास गर्छु, त्यसकारण म यसमा अभ्यस्त भएको छु । यो नै अभ्यासको महत्त्व हो ।’
यो कथाको सार के हो भने, जे काम हामी गरिरहन्छौँ त्यसमा नै हामी पोख्त बन्छौँ । यदि भयभीत हुने हाम्रो प्रकृति बन्यो भने हाम्रा अघि जे चीज आए पनि हामी डराउन थाल्छौँ । फलतः डराउने कुरामा थप अभ्यस्त हुँदै गइन्छ ।
तपाईंमा सुन्ने क्षमता छ तर डर लाग्न थालेपछि कान बन्द हुन्छ । तपाईंमा हेर्न सक्ने क्षमता छ तर जब डर लाग्छ त्यस अवस्थामा आँखा बन्द हुन्छ । तपाईंमा सोच्न सक्ने क्षमता छ तर डर लागेपछि बुद्धिले पनि काम गर्दैन । जब यी चीजहरूले काम गर्न छोड्न थाल्छन् भने कुनै बेला मानिसलाई यति धेरै डर लाग्छ, उनीहरू चिच्याउन पनि सक्दैनन् । मानिसलाई यति धेरै डर लाग्छ, उनीहरू बेहोस पनि हुन्छन् । जब यी सारा चीजहरूले काम गर्न छोडे भने तपाईंसँग के बाँकी रहन्छ र ! केही पनि रहँदैन । त्यसकारण डराउनु आवश्यक छैन ।
जुनसुकै समस्या भए पनि सोेच–विचार गरेर तपाईं अघि बढ्न सक्नुहुन्छ । मानिसका अघि जब समस्या आउँछ तब पहाड ठडिएजस्तो लाग्न थाल्छ तर समस्याको पहाड उसका सामु ठडिएका बेलामा मानिसले त्यो पहाडमाथिबाटै किन हिँड्नुप¥यो र ? जब तपाईंको लक्ष्य पहाडको पल्लोपट्टि जाने हो भने पहाडकै टुप्पोमा चढेर जानु आवश्यक छैन । तपाईं छेउतिरबाटै एकदम सजिलोसँग पनि जान सक्नुहुन्छ ।
तर त्यसका लागि चाहे जस्तोसुकै समस्या होओस् डराउने होइन– सोच्नु, विचार गर्नु अत्यन्तै आवश्यक छ । चाहे जस्तोसुकै समस्या होओस् । एउटा समयमा समस्या थिएन । समस्या आएको छ भने जान्छ पनि । यदि तपाईंले त्यसमा परिश्रम गर्नु आवश्यक छ भने परिश्रम सोही तरिकाले गर्नुहोस् । परिणामतः त्यो समस्याको समाधान सहज तरिकाले होओस् । तपाईंसँग भएका धैर्यता, संयमताजस्ता क्षमताहरूलाई प्रयोग गरेर तपाईं आफ्ना समस्या समाधान गर्न सक्नुहुन्छ ।
जहाँसम्म परिवारको कुरा छ, परिवारसँग कमसेकम चाहे एक घण्टा नै किन नहोस्, बसेर आपसमा एक–अर्कोको हालखबर सोध्नुहोस् । जुन बोझ थाप्लामा राखेका छौँ, त्यसलाई तल राखिदिनुहोस् । किनभने, यदि तपाईं घरमा जानुभयो भने त्यसपछि त्यसको कुनै आवश्यकता छैन । त्यसपछि यदि कुनै समस्या छ भने पनि त्यसलाई समय निकालेर राम्रो तरिकाले त्यसका बारेमा कुराकानी गर्न सकिन्छ । मानिसहरू खाना खानका लागि सँगै बस्छन् । कहिल्यै पनि ‘प’– पोल्टिक्स (राजनीति), राजनीतिका बारेमा टेबलमा बसेर वादविवाद गर्नु राम्रो होइन । अर्को ‘प’– प्रोब्लम (समस्या), समस्याका बारेमा कुरा गर्नु राम्रो होइन । कि त चुप रहनुहोस्, कि त कसैलाई केही राम्रो भइरहेको छ भने त्यसका बारेमा कुरा गर्नुहोस् । अनि घरको माहोललाई राम्रो बनाइराख्ने कोशिश गर्नुहोस् ।
कोभिड–१९ को महामारीको बेलामा मानिसहरू निकै दुःखी भएका थिए । एकातिर यस्ता रोगहरू छन्, अर्कातिर गरिबी छ । के होला, के नहोला भन्ने समस्याहरू पनि छन् ! यी सबै हुँदाहुँदै पनि तपाईंभित्र एउटा वास्तविक क्षमता छ, जसको मद्दतले तपाईं यो अवस्था भए पनि आनन्दमा रहन सक्नुहुन्छ । कुरा महामारीको होइन, रोगको होइन । सबैभन्दा ठूलो कुरा त तपाईं जीवित हुनुहुन्छ । अनि सृष्टिकर्ताले जुन तपाईंको जीवनमा उपहार दिएका छन्, त्यो उपहार हो ‘शान्ति’ । शान्ति तपाईंभित्र छ, बाहिर होइन । सृष्टिकर्ताले त्यो उपहारलाई तपाईंभित्रै राखेका छन् । तपाईंले यसलाई आफ्नो जीवनमा स्वीकार नगरेसम्म, महसुस नगरेसम्म तपाईं दुःखी भइरहनुहुनेछ ।
सबैभन्दा ठूलो कुरा त यो दिमागलाई कसरी सम्झाउने भन्ने हो । दिमागको यताउता दौडिरहने प्रकृति यो महामारी नहुँदा पनि त थियो नि ! यो दिमागरूपी रेलमा यात्रा गर्दा कस्तो हुन सक्छ भने, यो रेल खाल्टाखुल्टी भएको बाटो भएर पनि जान्छ, तल–माथि भइरहन्छ अनि जो त्यस रेलमा बसेका छन्, उनीहरू खुशी हुन सक्दैनन् । किनकि सबै चीजहरू हल्लिरहेका हुन्छन् । यो जुन दिमागरूपी रेल छ, तपाईं यसमा बस्न चाहनुहुन्छ कि चाहनुहुन्न ? किनभने एकातिर भय छ तर डराउनु नै पर्छ भन्नेचाहिँ होइन । कुरा त जीवनका बारेमा जान्ने, बुझ्ने अनि अनुभव गर्ने विषयमा चाहिँ हो । यो कुरा अनुभवका बारेमा हो ।
वास्तविकता के हो ? आफ्नो वरिपरिको वास्तविकतालाई हेरेर मानिसले के सोच्छ भने, ती ठूला–ठूला शहर, सडक, विज्ञापनका बोर्ड अनि भवनहरू नै सत्य हुन् तर ती चीजहरू सत्य होइनन् । एउटा समयमा यो पृथ्वी थियो तर ती चीजहरू थिएनन् । एउटा समयमा मानिसहरू थिए तर ती चीजहरू थिएनन् । ठूला–ठूला भवनहरू थिएनन् । ती सबै प्रगति बिस्तारै–बिस्तारै भएका हुन् ।
तथापि, सोच्नुपर्ने कुरा के छ भने– ‘तपाईं आफ्नो जीवनका बारेमा पनि सोचिरहनुभएको छ कि छैन ?’
यदि आफ्नो जीवनमा साँच्चै सन्तुलन कायम गर्नु छ भने तपाईंलाई प्राप्त भइरहेको अनि तपाईंभित्र आइरहेको र गइरहेको चीजका बारेमा पनि सोच्नुहोस् । तपाईं अप्ठ्याराहरूसँग त जुधिसक्नुभएको छ, जीवनमा सङ्कटको अवस्था पहिला पनि आइसकेको छ । धेरै चुनौतीलाई पनि तपाईंले सामना गर्नुभएको छ । कुनै पनि चुनौती तपाईंभन्दा ठूलो हुन सक्दैन । त्यसैले यो चुनौतीलाई सामना गर्नुहोस् अनि अन्धकारमय समयमा पनि आफ्नो हृदयमा त्यो खुशी, आशा, विवेक, स्पष्टता खोज्नुहोस् र राम्रो महसुस गर्नुहोस् । तीनवटा कुरा छन्– स्वयंलाई चिन्नुहोस्, जीवनमा सचेत भएर जिउनुहोस् र हृदयलाई कृतज्ञताले भरिपूर्ण तुल्याउनुहोस् । यी कुरालाई नबिर्सनुहोस्, यी अत्यन्तै महत्त्वपूर्णहरू कुरा हुन् ।
किनभने यी जुन आश्चर्यका कुरा छन्– श्वास आउनु–जानु, तपाईं जीवित हुनु, तपाईंलाई शान्ति हुनु यी पनि तपाईंकै हृदयका चाहना हुन् । हृदयको केवल एउटै चाहना, परमानन्दमा लीन हुनु हो । किनभने तब मात्रै मानिसको वास्तविक सन्तुलन कायम रहन्छ । डराउनुपर्ने कुरा होइन । यो हिम्मत बढाउने कुरा हो । कस्तो विचार राखेर हिम्मत बढाउनुपर्छ भने– यो हिम्मत मेरै शक्ति हो, मभित्रैको शक्ति हो ।
त्यो शक्ति जुन भगवान् रामसँग थियो । त्यो केवल कथा मात्रै होइन । बरु के बुझ्नु आवश्यक छ भने, हामीसँग केही नभए पनि लडाइँ जित्न सकिन्छ । यदि भित्र हिम्मत छ भने जुनसुकै लडाइँ पनि मानिसले जित्न सक्छ तर लडाइँ खराब नियतले लड्नुहुँदैन । यदि सत्यको युद्ध छ भने मानिसले अवश्य जित्न सक्छ । जीवनमा यो त आपैmँसँग आफ्नो लडाइँ हो ।
वास्तवमा जुन खराब विचार छ, त्यो नै ‘रावण’ हो । त्यसको दशवटा शिर छ । जुन अविवेक हो, जुन अज्ञानता हो ! ‘सीता’ तपाईंको शान्ति हो, तपाईंको सुख हो अनि यसैलाई त्यो रावणले लैजान्छ । अज्ञानताले नै सीतालाई हरण गर्दछ । ती सीतालाई फर्काएर ल्याउनका लागि यदि युद्ध गर्नुपर्छ भने पनि त्यो मानिसले गर्न सक्ने युद्ध हो । उसले युद्धका बारेमा जान्न सक्छ, बुझ्न सक्छ । त्यो परम शान्ति र सुखलाई आफ्नो जीवनमा ल्याउन अनि खराब कुरालाई आफ्नो जीवनबाट हटाउनका लागि तपाईंले यो युद्ध लड्नुपर्छ । फलतः तपाईंलाई जीवनमा सीतारूपी शान्ति प्राप्त हुन सकोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया