ग्राउन्ड जिरो : काठमाडौं–६ ! शिशिरलाई चुनौती दिँदै एमालेका अमन र कांग्रेसका सबुज


काठमाडौं ।

काठमाडौंको निर्वाचन क्षेत्र नं ६ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई बिहानदेखि राती अबेरसम्मै निरन्तरता दिँदै आइरहेका छन् ।

बुधबार यस निर्वाचन क्षेत्रअन्तर्गत रहेको नेपालटार, धर्मस्थली, काभ्रेस्थली, डाँडागाउँलगायतका क्षेत्रमा पुग्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त देखिन्थे । मतदाताहरूमा पनि उम्मेदवारसँग केही सवाल जवाफ गर्दै उत्साह बाँडिरहेका देखिन्थे ।
यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले भारी मतले विजयी हासिल गर्नुभएको थियो ।

रास्वपाले अहिले पनि चुनावी मैदानमा खनाललाई नै उतारेको छ भने मुख्य प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसले नयाँ उम्मेदवारलाई उठाएको छ । एमालेका युवा नेता तथा इन्जिनियर अमनकुमार मास्के र कांग्रेसका नेता कृष्णसबुज बानियाँले कडा टक्कर दिइरहनुभएको छ ।

रास्वपाको केही लहर यस क्षेत्रमा देखिए पनि खनाल पुरानै उम्मेदवार रहेका र एमाले र कांग्रेसले नयाँ र स्थानीय स्तरमा भिजेका उम्मेदवार दिएकाले खनाललाई जित हासिल गर्न सहज भने छैन । खनाल आफ्नो जित सुनिश्चित पार्न लागिरहनुभएको छ भने कांग्रेसका सबुज आफ्नो पुरानो विरासत फिर्ता गराउने गरी लाग्नुभएको छ । एमालेका मास्के भने जित हासिल गरेर नयाँ इतिहास रच्ने योजनामा हुनुहुन्छ ।

यस क्षेत्रका मतदाताले खनालले २०७९ सालमा चुनाव जितेर गएपछि खासै फर्केर नआएको र क्षेत्र नं ६ को समग्र विकासमा खासै योगदान दिन नसकेको गुनासो गर्ने गरेको पाइयो । यद्यपि, एकपटकलाई परिवर्तनकारी शक्तिलाई भोट दिने सोच मतदातामा रहेकाले आफ्नो जित हुनेमा खनाल विश्वस्त देखिनुहुन्छ । मतदाताले फेरि एकपटक विवेक पु¥याउने र आफूलाई विजयी गराएर पठाउने दाबी खनालको छ ।

त्यस क्षेत्रको धर्मस्थली, काभे्रस्थली, डाँडागाउँ, नेपालटार, जरङ्खुलगायतका क्षेत्रका मतदातासँग कुराकानी गर्दा मिश्रित प्रतिक्रिया पाइयो । केहीले यसपटक पनि परिवर्तनकारीलाई नै दिने बताए भने केहीले उम्मेदवारहरूले यसअघि यस क्षेत्रमा गरेका काम तथा उनीहरूको योजनासमेत हेरेर निर्णय गर्ने बताए ।

यस क्षेत्रमा शिशिर खनालले जित्ने दाबी गरे पनि एमालेका युवा उम्मेदवार मास्के र कांग्रेसका बानियाँप्रति पनि मतदाताको सहानुभूति रहेको देखिन्छ । साथै राप्रपाका उद्धवराज भेटवाल र नेकपाका हिमाल शर्मा पनि यस क्षेत्रमा चुनावी दौडमा छन् तर मुख्य प्रतिस्पर्धा भने रास्वपाका खनाल, एमालेका मास्के र कांग्रेसका बानियाँबीचमा नै हुने देखिएको छ । बानियाँ स्थानीय स्तरमा लोकप्रिय नै मानिन्छन् ।

गत २०७९ को निर्वाचनमा प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा रास्वपा यो क्षेत्रमा पहिलो शक्ति हो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाले पहिलो स्थानको मत ल्याएको थियो । त्यसैले पनि खनालले यसपटक पनि जित्ने दाबी गर्नुभएको हो । खनालले गत निर्वाचनमा १४ हजार २२१ मत ल्याएर निर्वाचित हुनुभएको थियो । दोस्रो स्थान एमालेका सर्वेन्द्र खनालले प्राप्त गर्नुभएको थियो । त्यसअघि दुईपटक जित हासिल गर्नुभएको भीमसेनदास प्रधान तेस्रो बन्नुभएको थियो ।

यसपटक पनि उम्मेदवार बन्नुभएको शिशिरले सुशासनका लागि भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहको डिजिटाइजेसनलाई चुनावी मुद्दा बनाउनुभएको छ । खनालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा आफूले लामो समयदेखि सहजीकरण गरिरहेको बताउनुभयो । एमालेबाट उम्मेदवार बनेका अमन मास्के पेसाले इन्जिनियर हुनुहुन्छ ।

उहाँ यसअघि वागमती प्रदेशको भौतिकमन्त्री हँुदा यस क्षेत्रको भौतिक पूर्वाधार तथा बाटो विस्तारमा महत्वपूर्ण भूमिक खेलेकाले जित आफ्नो हुने दाबी गर्नुहुन्छ । मास्केले ‘विकास भनेको आजको लागिमात्र होइन, पुस्तौंका लागि योजना हो’ भन्दै चुनावी मुद्दासहित प्रचारमा लागिरहनुभएको छ । ‘राजनीति एउटा सेवा हो । पेसा होइन । एमालेले यसपटक जित्नेछ । र, इतिहास कायम हुनेछ । त्यो इतिहासको साक्षी तपाईंहरू हुनुहुनेछ’ –मास्केले मतदातालाई हौस्याउँदै भन्ने गर्नुभएको छ ।

कांग्रेसका बानियाँले नदी संरक्षणलाई प्रमुख चुनावी मुद्दा बनाएर मतदाता समक्ष पुगिरहनुभएको छ । काठमाडौंका नदीहरूलाई प्राकृतिक सम्पदा घोषणा गर्ने प्रक्रियामा सुरु गराउन पहल लिने उहाँले बताउनुभयो । नेकपाका उम्मेदवार शर्मा पनि ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरी निर्वाचनमा होमिदै आउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धवराज भेटवाल पनि विदेशवादलाई हराउन र स्वदेशीवादलाई जिताउनका लागि राप्रपाले जित्नुपर्ने तर्क गर्दै मतदाताका पुगिरहनुभएको छ । दलीय उम्मेदवार १५ र स्वतन्त्र ५ गरी कुल २० जना चुनावी मैदानमा रहेको यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पर्दछन् ।

क्षेत्र नं ६ मा मतदाता कति
जम्मा मतदाता ः ६७ हजार ७ सय ५९
महिला मतदाता ः ३४ हजार ९ सय ५६
पुरुष मतदाता ः ३२ हजार ८ सय २